सडकमा सुनचाँदी व्यवसायी, देशभर व्यवसाय बन्द
सुनचाँदी व्यवसायीहरू फेरि आन्दोलनमा उत्रिएका छन्। आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकमार्फत सरकारले सुनमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाएको विरोधमा व्यवसायीहरू आन्दोलित बनेका हुन्।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायीका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए। तर, विनियोजन विधेयक पास हुँदा मागहरू सम्बोधन नभएको भन्दै व्यवसायीहरूले पुनः आन्दोलन सुरु गरेका छन्। बजेट घोषणापछि आन्दोलन थालेका व्यवसायीले प्रधानमन्त्रीको आश्वासनपछि केही दिन आन्दोलन स्थगित गरेका थिए।
शुक्रबार व्यवसायीहरूले सरकारविरुद्ध कडा कदम चाल्दै देशभरका सुनचाँदी पसल बन्द गरेका छन्। बागमती प्रदेशमा पूर्वघोषित विरोध र्यालीअनुसार काठमाडौँको न्युरोड क्षेत्रमा बृहद र्याली निकालिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारले जायज माग सम्बोधन नगरे साउन १ गतेदेखि देशभरका सम्पूर्ण सुनचाँदी व्यवसाय अनिश्चितकालीन बन्द गर्ने चेतावनी दिएको छ। व्यवसायीहरूले कर नीतिमा पुनर्विचार नगरे कडा कदम चाल्ने बताएका छन्।
प्रतिक्रिया