शुक्रबार, १३ असार २०८२

अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर

समयपोष्ट २०८२ असार १३ गते १३:३१

Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनले व्यापारमा एक सम्झौतामा हस्ताक्षर गरेको बताउनुभएको छ । उहाँले भारतसँग पनि चाँडै सम्झौता हुने अपेक्षा गरिएको बताउनुभयो ।

वाणिज्यमन्त्री हावर्ड लुटनिकले ब्लुमबर्ग टिभीलाई यो हप्ताको सुरुमा सम्झौतामा हस्ताक्षर भएको जानकारी दिनुभयो । लुटनिक वा ट्रम्पले सम्झौताका बारेमा कुनै विवरण दिनुभएको छैन ।

“हामीले भर्खरै चीनसँग हस्ताक्षर गर्‍यौँ”“, ट्रम्पले बिहीबार राति भन्नुभयो ।

लुटनिकले यो सम्झौतामा दुई दिनअघि ‘हस्ताक्षर र छाप लगाइएको’ बताउनुभयो ।

Advertisement

यो मे महिनाको सुरुमा जेनेभामा भएको प्रारम्भिक वार्ताको परिणाम हो । वार्ताले दुवै पक्षलाई ठूला भन्सार शुल्क वृद्धि स्थगित गर्न प्रेरित गरेको थियो । भन्सार शुल्क वृद्धिले दुई देशबीचको धेरैजसो व्यापार स्थगित गर्ने खतरा थियो ।

पछि लन्डनमा भएको वार्ताले वार्ताका लागि रूपरेखा तय ग¥यो र ट्रम्पले उल्लेख गरेको सम्झौताले त्यो सम्झौतालाई औपचारिक रूप दिएको देखिन्छ ।

“राष्ट्रपतिले यी सम्झौताहरू आफैँ पूरा गर्न मन पराउनुहुन्छ । उहाँ सम्झौता निर्माता हुनुहुन्छ । हामी एकपछि अर्को सम्झौता गर्नेछौँ”, लुटनिकले भन्नुभयो ।

चीनले कुनै नयाँ सम्झौताको घोषणा गरेको छैन, तर यसले यस हप्ताको सुरुमा दुर्लभ खनिज तत्व, विद्युतीय सवारी जस्ता उच्च–टेक उत्पादनहरूमा प्रयोग हुने सामग्रीहरूको निर्यात स्वीकृतिको गति बढाइरहेको घोषणा गरेको थियो । दुर्लभ खनिज तत्वको निर्यातमा बेइजिङको सीमाहरू विवादको मुख्य विन्दु भएको छ ।

चिनियाँ वाणिज्य मन्त्रालयले बिहीबार बेइजिङले दुर्लभ खनिज तत्वहरूका लागि निर्यात इजाजतपत्र आवेदनहरूको समीक्षालाई गति दिइरहेको र ‘निश्चित सङ्ख्यामा अनुपालन आवेदनहरू’ स्वीकृत गरेको बताएको छ ।

चीनले अप्रिलमा सात दुर्लभ खनिज तत्वमा अनुमति आवश्यकताहरू लगाएपछि खनिजहरूको निर्यात नियन्त्रणले बेइजिङ र वासिङ्टनबीचको पछिल्लो व्यापारिक वार्तामा भन्सार शुल्कहरूलाई उछिनेको देखिन्छ । ती खनिजको निर्यात नियन्त्रणले अमेरिका र विश्वभरका कारहरू, रोबोटहरू, हावा टर्बाइनहरू र अन्य उच्च प्रविधिका उत्पादनहरूको उत्पादनमा बाधा पुर्‍याउने खतरा छ ।

मे महिनामा जेनेभामा भएको सम्झौताले दुवै पक्षलाई ट्रम्पले आफ्नो व्यापार युद्ध बढाएको र आयात शुल्क तीव्र रूपमा बढाएका कारण लगाइएको दण्डात्मक शुल्क वृद्धि कम गर्न आह्वान गरेको थियो । फेन्टानिलको व्यापार र एल्युमिनियम र स्टिलमा लगाइएको भन्सार शुल्कसँग सम्बन्धित वासिङ्टनले लगाएको केही उच्च भन्सार शुल्कहरू यथावत छन् ।

द्रुत रूपमा परिवर्तन हुने नीतिहरूले विश्वका दुई ठूला अर्थतन्त्रमा प्रभाव पारिरहेको छ ।

आंशिक रूपमा कम्पनीहरू र घरपरिवारहरूले विदेशी सामानहरू किन्न हतार गरेका कारण अमेरिकी अर्थतन्त्र जनवरीदेखि मार्चसम्म वार्षिक शून्य दशमलव पाँच प्रतिशत दरले सङ्कुचित भयो ।

चीनमा कारखाना नाफा मे महिनामा एक वर्ष अघिको तुलनामा नौ प्रतिशतभन्दा बढी घटेको छ । यसमा अटो निर्माताहरूले त्यो गिरावटको ठूलो हिस्सा भोगेका छन् । जनवरी–मे महिनामा तिनीहरू वार्षिक आधारमा एक प्रतिशतभन्दा बढी घटे ।

ट्रम्प र अन्य अमेरिकी अधिकारीहरूले भारत लगायत अन्य धेरै देशसँग व्यापारिक सम्झौतामा पुग्ने अपेक्षा गरेको सङ्केत दिएका छन् ।

“हामी एकपछि अर्को सम्झौता गर्नेछौँ”, लुटनिकले भन्नुभयो ।रासस/एपी

प्रतिक्रिया

सम्बन्धित सामाग्री