बिहीबार, १२ असार २०८२

घट्यो नेप्से, बढ्यो कारोबार रकम

समयपोष्ट २०८२ असार १२ गते १५:५५

Advertisement

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनमा लगभग स्थिर रहेको नेप्से परिसूचक बिहीबार ४.४५ अंकले झरेर २५९५.७४ विन्दुमा पुगेको छ।

नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। बुधबार करिब ६ अर्ब रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा बिहीबार ३०६ कम्पनीको ७४ हजार २३९ पटकको कारोबारमा ७ अर्ब ७८ करोड २ लाख ४२ हजार रुपैयाँबराबरको १ करोड ९६ लाख ५० हजार कित्ता शेयर किनबेच भएको छ।

ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.१८ प्रतिशतले बढेर सर्वाधिक वृद्धि हासिल गरेको छ। त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंक र बरुण हाइड्रोपावरको शेयरमूल्य क्रमशः ९ प्रतिशत र करिब ९ प्रतिशतले बढेको छ। यता, रिलायबल समृद्धि योजनाको इकाईमूल्य भने ९.३० प्रतिशतले घटेर सर्वाधिक ओरालो लागेको छ।

कारोबार रकमका आधारमा बुटवल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको ६२ करोड ५२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। राधी विद्युत कम्पनीको ३९ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम ३२ करोड नाघेको छ।

Advertisement

१३ उपसमूहमध्ये ४ वटाको परिसूचक बढेको छ भने ९ वटाको घटेको छ। विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतले बढेर सर्वाधिक वृद्धि भएको छ। जलविद्युत, लघुवित्त, र म्युचुअल फण्ड उपसमूहको परिसूचकमा सामान्य वृद्धि देखिएको छ। यता, होटल तथा पर्यटन उपसमूहको परिसूचक १.८७ प्रतिशतले घटेर सबैभन्दा बढी ओरालो लागेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री