नेप्से परिसूचकमा सामान्य वृद्धि, कारोबार रकम भने घट्यो
साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। पछिल्ला चार कारोबार दिनदेखि लगातार घटिरहेको नेप्सेमा सोमबार ४.७८ अंकको वृद्धि भई २६००.७६ विन्दुमा पुगेको छ।
यद्यपि, नेप्से परिसूचकमा सुधार देखिए पनि कारोबार रकम भने घटेको छ। आइतबार ९ अर्ब १४ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा सोमबार ३२५ स्टकको ७०,८३१ पटकको कारोबारमा ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार रुपैयाँबराबरको १ करोड ७५ लाख ८७ हजार कित्ता शेयर किनबेच भएको छ।
सोमबार जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य ३४ रुपैयाँ ८० पैसाले बढेर ३८३ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। यस्तै, पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य करिब ९.५ प्रतिशतले उकालो लागेको छ। तर, गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सर्वाधिक १० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ५२ करोड १८ लाख ५९ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। बुटवल पावर कम्पनीको ४२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम ३३ करोड ५० लाख नाघेको छ।
सोमबार १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचकमा वृद्धि भएको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक २.२० प्रतिशतले सबैभन्दा धेरै बढेको छ। यता, विकास बैंक, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचकमा सामान्य गिरावट देखिएको छ।
प्रतिक्रिया