प्रतिनिधिसभामा सांसद सिंहको अभिव्यक्तिपछि हंगामा
स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहको विवादास्पद अभिव्यक्तिका कारण प्रतिनिधिसभा बैठकमा हंगामा भएको छ।
सांसद सिंहले नेपालका पाँच जिल्लाबाहेक अन्य जिल्ला अर्को देशलाई भाडामा दिन सकिने अभिव्यक्ति दिएपछि सत्तापक्षका सांसदहरूले तीव्र विरोध जनाएका थिए।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सांसद सिंहको अभिव्यक्तिलाई राष्ट्रघाती र आपत्तिजनक भन्दै प्रतिनिधिसभा नियमावली २०७९ को नियम २०, २१ र २३ बमोजिम आपत्ति दर्ता गराएका थिए। सभामुख देवराज घिमिरेले सिंहको उक्त अभिव्यक्ति राष्ट्रहितविपरीत भएको ठहर गर्दै संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएका छन्।
सभामुखले विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीको प्रस्तावसहित बोल्न सांसद सिंहलाई समय प्रदान गरेका थिए। सो क्रममा सिंहले पाँच जिल्लामा बढी बजेट विनियोजन भएको र बाँकी जिल्ला भाडामा दिन सकिने अभिव्यक्ति दिएका थिए। उनको यो भनाइप्रति सत्तापक्षका सांसदहरू आक्रोशित हुँदै नाराबाजीमा उत्रिएका थिए।
सभामुखको निर्देशनपछि सांसद सिंहले सभामुख एमालेप्रति पक्षपाती भएको र आफूलाई बोल्न नदिएको भन्दै आक्रोश व्यक्त गरे। उनले एमालेलाई देशप्रति गद्दार भएको आरोपसमेत लगाए। सभामुखले पटकपटक संसदीय भाषा प्रयोग गर्न निर्देशन दिए पनि सिंहले विवादास्पद अभिव्यक्ति दिइरहे।
प्रतिक्रिया