विमान दुर्घटनामा पूर्व मुख्यमन्त्री विजय रुपाणीको निधन
लण्डनतर्फ उडेको एयर इन्डियाको आई१७१ फ्लाइट अहमदाबाद विमानस्थलबाट उडेपछि केही समयमै दुर्घटनामा पर्दा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीको निधन भएको पुष्टि भएको छ।
केन्द्रीय मन्त्री सीआर पाटिलले रुपाणीको निधनको पुष्टि गरेका छन्। उनी विमानमा सवार २४२ यात्रुमध्ये एक थिए। उक्त विमान उडेपछि केही मिनेटमै आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो। यो दुर्घटनामा हालसम्म २०४ जनाको मृत्यु भइसकेको छ भने दर्जनौं घाइतेको उपचार भइरहेको छ। विजय रुपाणी विमान दुर्घटनामा ज्यान गुमाउने गुजरातका दोस्रो मुख्यमन्त्री हुन्।
पूर्व मुख्यमन्त्री विजय रुपाणीले सन् २०१६ को अगस्टमा आनन्दीबेन पटेलको राजीनामापछि गुजरातको मुख्यमन्त्रीको पद सम्हालेका थिए। उनले सन् २०२१ मा राजीनामा दिएपछि भूपेन्द्र पटेल गुजरातका १७औँ मुख्यमन्त्री बनेका थिए।
राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) अन्तर्गतको विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद (एबीभीपी) बाट सार्वजनिक जीवन सुरु गरेका रुपाणी आपतकालका बेला आन्दोलनमा सहभागी भएका कारण जेलसमेत गएका थिए। उनी भारतीय जनता पार्टी (भाजपा) गठन भएदेखि नै सक्रिय राजनीतिमा संलग्न थिए। सन् २००६ देखि २०१२ सम्म राज्यसभा सदस्य रहेका रुपाणी राजकोट पश्चिम क्षेत्रबाट सांसद निर्वाचित हुँदै भाजपाका राज्य अध्यक्ष र मन्त्रीसमेत भएका थिए।
यो दुर्घटना भारतको हालसम्मकै सबैभन्दा ठूलो विमान दुर्घटनामध्ये एक बनेको छ। घटनाबारे विस्तृत छानबिन भइरहेको छ।
प्रतिक्रिया