भारतमा कोभिड-१९ को नयाँ लहर: सक्रिय केस ६,१३३ पुग्यो, केरलामा सबैभन्दा बढी
भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। शनिबार ३७८ नयाँ केस थपिएसँगै देशभर सक्रिय संक्रमितको संख्या ६,१३३ पुगेको छ। यीमध्ये १,९५० केस केरलामा छन्, जुन सबैभन्दा धेरै हो।
स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो ९ दिनमा ३,४२३ नयाँ संक्रमित थपिएका छन् भने ५८ जनाको मृत्यु भएको छ। मे ३० मा सक्रिय केस २,७१० मात्र थियो, र मृत्यु ७ जनाको भएको थियो। हाल दैनिक औसत ४०० नयाँ केस र ५–६ मृत्यु दर्ज भइरहेका छन्। शनिबार केरलामा ३, कर्नाटकमा २ र तमिलनाडुमा १ जनाको मृत्यु भएको पुष्टि भएको छ।
भारतमा चार नयाँ भेरियन्ट–एलएफ.७, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१–दक्षिण र पश्चिम भारतमा फेला परेका छन्। यी भेरियन्टहरूको नमूना सङ्कलन र जाँच भइरहेको छ। डाक्टरहरूले यी केसहरू गम्भीर नभएको र सावधानी अपनाउनुपर्ने तर आत्तिनु नपर्ने बताएका छन्।
विश्व स्वास्थ्य संगठनले यी भेरियन्टहरूलाई चिन्ताजनक नमाने पनि निगरानीमा राखिएको छ। एनबी.१.८.१ भेरियन्टमा ए४३५एस, भी४४५एच र टी४७८आई जस्ता स्पाइक प्रोटिन उत्परिवर्तनहरू छन्, जसले यो भेरियन्टलाई तीव्र रूपमा फैलिन सक्षम बनाउँछ र कोभिडविरुद्धको प्रतिरोध क्षमताबाट कम प्रभावित हुन्छ।
जेएन.१ भेरियन्ट भारतमा सबैभन्दा बढी पाइएको छ, जुन आधाभन्दा बढी नमूनामा देखिएको छ। योसँगै बीए.२ (२६%) र ओमिक्रोन सबलाइनेज (२०%) भेरियन्टहरू पनि भेटिएका छन्। चीनलगायत अन्य एसियाली देशहरूमा पनि यी भेरियन्टहरूका कारण कोभिड केसहरू बढिरहेका छन्।एजेन्सी
प्रतिक्रिया