यी तीन कम्पनीको शेयरमूल्य समायोजन
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज नेशनल लाइफ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र बरुण हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको छ। नेशनल लाइफ र एनएलजी इन्स्योरेन्सको बोनस शेयर तथा बरुण हाइड्रोपावरको हकप्रद शेयर समायोजन गरिएको हो।
नेप्सेले नेशनल लाइफ इन्स्योरेन्सको ५ प्रतिशत बोनस शेयर समायोजन गरेको छ, जसपश्चात् कम्पनीको शेयरमूल्य ५९८.४४ रुपैयाँ कायम भएको छ। त्यस्तै, एनएलजी इन्स्योरेन्सको २.५० प्रतिशत बोनस शेयर समायोजनपश्चात् शेयरमूल्य ७४१.४८ रुपैयाँ तोकिएको छ। बरुण हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर समायोजनपछि शेयरमूल्य २९०.३६ रुपैयाँ कायम भएको छ। यी समायोजन अघिल्लो कारोबार दिन (बुधबार) को अन्तिम मूल्यका आधारमा गरिएको हो। अघिल्लो दिन नेशनल लाइफको शेयरमूल्य ६२८.३६ रुपैयाँ, एनएलजीको ७६०.०२ रुपैयाँ र बरुण हाइड्रोपावरको ४८०.७२ रुपैयाँ थियो।
आज यी समायोजित मूल्यमा दोस्रो बजारमा यी कम्पनीहरूको शेयर कारोबार खुल्नेछ।
एनएलजी इन्स्योरेन्सले जेठ २९ गते बिहीबार काठमाडौँको आम्रपाली ब्याङ्केट, थिरबम सडक, बालुवाटारमा बिहान ११ बजे १९औँ वार्षिक साधारण सभा आयोजना गर्दैछ। सभाले चुक्ता पूँजीको २.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.१३१५७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ। साथै, प्रबन्धपत्र र नियमावली संशोधन, लेखापरीक्षक नियुक्ति, स्वतन्त्र सञ्चालकको अनुमोदनलगायतका एजेन्डाहरू पनि पारित हुनेछन्।
नेशनल लाइफ इन्स्योरेन्सले असार ५ गते बिहीबार लाजिम्पाट, काठमाडौँस्थित केन्द्रीय कार्यालयमा बिहान १०:३० बजे ३७औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरणको प्रस्ताव पारित गर्नेछ। यसबाहेक, प्रबन्धपत्र र नियमावली संशोधन, लेखापरीक्षक नियुक्ति, संस्थापक समूहबाट ३ जना र सर्वसाधारणबाट २ जना सञ्चालकको निर्वाचनलगायतका प्रस्तावहरू पनि अनुमोदन गरिनेछ।
बरुण हाइड्रोपावरले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न भोलि बुकक्लोज गर्दैछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ५३,५८,१५० कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।
प्रतिक्रिया