बुधबार, २१ जेठ २०८२

घरजग्गा कारोबारमा कडाइ : किन्ने र बेच्नेको केवाइसीसहितको बैंक स्टेटमेन्ट बिना लिखत पारित नहुने

समयपोष्ट २०८२ जेठ २१ गते ११:४१

Advertisement

नेपालमा घरजग्गा किनबेच गर्दा अब किन्ने र बेच्ने दुवै पक्षले बैंक स्टेटमेन्ट र केवाइसी फारम अनिवार्यरूपमा पेश गरेपछि मात्र लिखत पारित हुने भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) र आतङ्कवादमा वित्तीय लगानी रोक्नका लागि नयाँ निर्देशन जारी गरेको हो।

निर्देशनअनुसार १० लाख रुपैयाँभन्दा बढी मूल्यको कारोबार अनिवार्य रूपमा बैंकिङ वा विद्युतीय प्रणालीमार्फत गर्नुपर्नेछ। खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको खातामा रकम जम्मा भएको पुष्टि गर्ने बैंक स्टेटमेन्ट पनि लिखतसँगै अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

त्यसैगरी, १० लाख रुपैयाँभन्दा माथिको कारोबारमा लाग्ने रजिष्ट्रेशन दस्तुर खरिदकर्ताको खाताबाट र लाभकर विक्रेताको खाताबाट सिधै सम्बन्धित राजस्व खातामा बैंकिङ प्रणालीमार्फत बुझाउनुपर्ने प्रावधान छ।

बैनाबट्टा सम्झौतामा पनि कडाइ गरिएको छ। स्थानीय तहबाट प्रमाणित बैनाबट्टा कागजात पेश गर्दा यदि रकम १० लाखभन्दा बढी देखिएको छ भने त्यससम्बन्धी बैंक कारोबार विवरण पनि संलग्न गर्नुपर्नेछ।

Advertisement

नयाँ निर्देशनले एक व्यक्तिले एक दिनमा ३ करोड रुपैयाँभन्दा बढी कारोबार गरेमा राष्ट्र बैंकलाई जानकारी दिनुपर्ने व्यवस्था पनि गरेको छ।

भूमि विभागले निर्देशनको प्रभावकारी कार्यान्वयनका लागि निगरानी गर्ने बताएको छ। उल्लंघन भएमा सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन तथा नियमावलीअनुसार कारबाही हुने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री