शुक्रबार, १६ चैत २०८०

छात्रा बढी परीक्षार्थी भए पनि नतिजामा छात्र अगाडि

समयपोष्ट २०७५ असार ११ गते १०:०९

– प्रकाश सिलवाल

Advertisement

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा छात्रभन्दा छात्रा बढी परीक्षार्थी भए पनि नतिजामा तुलनात्मकरुपमा छात्र बढी देखिएका छन् ।

परीक्षामा नियमिततर्फ कूल चार लाख ५१ हजार ५३२ विद्यार्थीमध्ये दुई लाख २७ हजार ९३१ जना छात्रा र दुई लाख २३ हजार ६०१ जना छात्र रहेकामा ग्रेड पोइन्ट एभरेज (जिपिए) ३ दशमलव ६५ देखि ४ दशमलव शून्यसम्म ल्याउने छात्राको प्रतिशत २ दशमलव ७ मात्र देखिएको छ भने सोही जिपिएमा छात्रको प्रतिशत ६ दशमलव ६ देखिएको छ । जिपिए २ भन्दा तल धेरै छात्रा देखिएका छन् ।

शनिबार सार्वजनिक नतिजाअनुसार ३ दशमलव २५ देखि ३ दशमलव ६ सम्म हासिल गर्नेमा करीब ९ प्रतिशत छात्रा छन् भने छात्राको प्रतिशत ११ दशमलव ६ प्रतिशत छ ।

शिक्षाविद् डा मनप्रसाद वाग्ले भन्नुहुन्छ, “परीक्षामा संख्यात्मकरूपमा छात्राको संख्या बढी देखिए तापनि गुणात्मकरूपमा छात्रको उपलब्धि बढी देखिएको छ, यो सकारात्मक संकेत होइन । झण्डै ५० प्रतिशत छात्राका जिपिए २ भन्दा तल हुनुले शिक्षामा समानता ल्याउनु चुनौतीपूर्ण देखाएको छ ।”

उहाँले आगामी दिनमा छात्राको उपलब्धि बढाउन र शिक्षाको लगानीअनुसारको प्रतिफल ल्याउन प्रत्येक विद्यालयले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक गेहनाथ गौतमले सहभागीमा छात्राको संख्या बढी भए पनि परिणामअनुसार छात्राहरु केही पछाडि परेको पाइएको बताउनुभयो ।

प्राविधिक त्रुटि सच्चाइयो

शनिबार सार्वजनिक भएको संवत् २०७४ को परीक्षाफलमा केही विद्यार्थीको नतिजाको ग्रेडमा भोलिपल्ट वृद्धि भएको विषयमा परीक्षा नियन्त्रण कार्यालयले गल्ती स्वीकार्दै प्राविधिकरुपमा सुधार गरेको छ । नतिजा वेभसाइटमा राख्दा इनपुट र आउटपुटको सूत्र प्रोसेसिङको प्राविधिक पक्षमा केही विषयको मार्जिनल केसमा जिपिए सुधार भएको हो ।

उपनियन्त्रक गौतमले प्राक्टिकल नम्बर जोड्न भूल भएको नभई प्राविधिक त्रुटि भएको दाबी गर्दै केही विद्यार्थीको अन्तिम ग्रेडसिटमा ग्रेड सामान्य वृद्धि भएको बताउनुभयो । प्राविधिक त्रुटिको विषयमा छानविनको माग भइरहेका बेला कार्यालयको पछिल्लो ग्रेडसिटलाई आधिकारिक मान्न आग्रह गरेको छ ।

सरकारी र निजीको तुलना हुँदै

परीक्षाफल सार्वजनिक भएको भोलिपल्ट प्राविधिक गडबडी पत्ता लागेपछि ग्रेडसिटलाई सुधार्न प्राविधिक टोली व्यस्त भए पनि पनिकाले परीक्षाफलका विविध पक्षहरुको विश्लेषण गर्न भ्याएको छैन । सहभागीमध्ये सामुदायिक र निजी विद्यालय तथा प्रदेशगत तुलनाको आँकडा तयार भइनसकेको उपनियन्त्रक गौतमले बताउनुभयो । उहाँले जिपिएलाई ‘ए’, ‘बि’, ‘सी’ जस्ता ग्रेड र प्रतिशतमा रुपान्तरण गर्न नसकिने पनि स्पष्ट गर्नुभयो ।

नेपाल शिक्षक युनियनका अध्यक्ष बाबुराम थापाले विगतको तुलनामा सामुदायिक विद्यालयको नतिजामा क्रमशः सुधार आएको जनाउँदै शिक्षक नेता प्रधानाध्यापक रहेका विद्यालयमा पनि नतिजा राम्रो रहेको दाबी गर्नुभयो ।

ललितपुरको रुद्रायणी मावि, खोकनाका प्रअ थापाले आफ्नो विद्यालयमा ‘ए’ प्लससहित सबै विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य हुने गरी सफल भएको जानकारी दिनुभयो । “शिक्षक नेताहरुले राजनीतिमात्र गर्छन्, पढाउँदैनन् भन्ने आरोपलाई नतिजाले खण्डन गरिदिएको छ”, थापाले भन्नुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री