बयलपाटा अस्पताल सञ्चालनमा सहयोग आवश्यक छः कांग्रेस नेता पाण्डे
नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद बद्री पाण्डे अछामको बयलपाटा अस्पताल सञ्चालनमा आर्थिक अभाव देखिएको अवगत गराउँदै सहयोगका लागि नेपाल सरकारलाई आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले उक्त अस्पताललाई कोभिड–१९ पछि अन्तर्राष्ट्रिय अनुदान सहयोग आउन रोकिएको बताउनुभयो । उहाँले कोरोनापछि सुदूरपश्चिम सरकारले सञ्चालनमा आर्थिक सहयोग गर्दै आएको भएपनि पछिल्लो बजेटमा खर्च कटौती भएपछि सञ्चालनमा समस्या आएको र बन्द हुने अवस्था पुगेको गुनासो गर्नुभयो ।
सांसद पाण्डेले सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा सञ्चालन व्यवस्थापनका लागि बजेट विनियोजन गर्न र साथै सङ्घीय सरकारबाट पनि अनुदान प्रदान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
कांग्रेसका नेता एवं सांसद अजयकुमार चौरासियाले गत हप्ता तराई मधेसमा हुरी र आँधीले सयौँ घर र कृषिमा ठूलो क्षति पुर्याएको बताउँदै तीनै तहका सरकारसँग आवश्यक क्षतिपूर्ति, राहत र सहयोगका लागि आग्रह गर्नुभयो । साथै उहाँले मधेसमा खानेपानीको समस्या बढ्दै गएको उल्लेख गर्दै यसबारेमा दीर्घकालीन व्यवस्था गर्न माग गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं सांसद ज्ञानबहादुर शाहीले हालै प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ले गर्नुभएको भारतको भ्रमणका क्रममा उहाँलाई आवश्यकताअनुसारको सम्मान नभएको टिप्पणी गर्दै सो बारेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । साथै उहाँले गृहमन्त्रीले सदनमा ठूला फाइल खोल्छु भने जानकारी गराउनुभएको तर गिरिबन्धु स्टेट, मेलञ्ची, फोरजी, वाइडबडीलगायतका ठूला अनियमितताका फाइल कहिले खुल्छ भनी प्रश्न गर्नुभयो । उहाँलाई जिबी राई किन पक्राउ गर्न नसकेको र निर्मला पन्तकोे बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कहिले सजाय हुन्छ भनी जवाफ माग गर्नुभयो ।
कांग्रेसका नेता एवं सांसद राजेन्द्र बजगाईले गोरखाको चुमनुब्री गाउँपालिकका–७ का राप्के लामा र कर्माछेदिङ लामा डेढ महिना अघि चीनको स्वशासित क्षेत्र तिब्बतबाट टेलिफोन आएपछि त्यसतर्फ जानु भएको र हालसम्म अज्ञात अवस्थामा रहनुभएको बताउनुभयो ।
उहाँले सो घटनाबारे नेपाल सरकारलाई जानकारी नभएको भन्दै तत्काल खोजी र रिहाईका लागि सरकारसँग पहल गर्न माग गर्नुभयो । सांसद बजगाईले हिमाल आरोही निर्मल पूर्जाका विवादास्पद कार्य तत्काल नियन्त्रण गर्नुपर्ने माग गर्नुभयो ।
प्रतिक्रिया