
निषेधाज्ञामा किराना तथा खाद्य पसलसहित डिपार्टमेन्टल स्टोर सञ्चालनमा लगाइएको रोक केही खुकुलो पार्दै अब सवारी साधन मर्मत गर्ने वर्कसपसमेत खोल्न पाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
तीनै प्रमुख जिल्ला अधिकारी बैठकले ३१ वैशाखसम्म निषेधाज्ञा थप गरी खाद्यान्न किराना पसल, डिपार्टमेन्टल स्टोर, सवारी साधन मर्मत गर्ने वर्कसप बिहान ९ बजेसम्म खुला गर्ने पाइने निर्णय गरेको छ । तरकारी तथा फलपूmल थोक बजारमा फुटकर बिक्री वितरण भने गर्न पाइनेछैन । स्थानीय ढुवानी राति ९ बजेपछि बिहान ९ बजेसम्म मात्र गर्न पाउनेछ ।
तरकारी फलपूmल, खाद्यान्न दूध, डेरी, मासु, खानेपानी, ग्यास पसल, किराना, डिपार्टमेन्टल स्टोर र वर्कसपले कम्तीमा दुई मिटर भौतिक दूरी कायम गर्नुपर्नेछ । यसैगरी, अनिवार्य सेनिटाइजर व्यवस्था र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ । यदि तोकेबमोजिम स्वास्थ्य मापदण्ड परिपालना नगरेको अनुगमन क्रममा भेटिएमा पसल बन्द गराउन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
तोकिएकाबाहेक सार्वजनिक स्थलमा तरकारी तथा फलपूmल बिक्री वितरण गर्न पाइनेछैन । औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल जुनसुकै समय निर्बाध सञ्चालन गर्न पाइनेछ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले ३१ जेठसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रस्ट पारे ।
उनका अनुसार निर्माण क्षेत्रमा काम रोकिएकाले निर्माणस्थलमै आवासीय कामदार राखेर काम गर्न दिने निर्णय भएको छ । निर्माणमा संलग्न कामदार कार्यरत स्थलभन्दा बाहिर जान पाउने छैनन् भने उनीहरूको खाने बस्ने व्यवस्था निर्माण कम्पनीले नै गर्नुपर्नेछ ।
त्यस्तै, निर्माण सामग्री बोक्ने सवारी साधन रातको समय चल्न पाउनेछन् । त्यस्ता सवारीलाई राति ९ बाट बिहान ४ बजेसम्म चल्न दिइने भएको छ । कोरोना संक्रमणदर उच्च भएपछि गत १६ वैशाखबाट उपत्यकालगायत देशका विभिन्न जिल्लामा निषेधाज्ञा कायम छ ।
प्रशासनले जारी निषेधाज्ञामा जथाभावी घरबाट बाहिर निस्कन र सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ । पछिल्लोपटक सरकारले कोभिड–१९ अध्यादेश २०७८ ल्याएपछि प्रशासनले निषेधाज्ञा कार्यान्वयनमा थप कडाइ गर्दै आएको छ । अध्यादेशअनुसार अनुमतिबिना वा बिरामी ओसारपसार गर्ने प्रयोजनबाहेक सवारीसाधन चलाए कारबाही हुनेछ ।
अनुमतिबिना सवारी चलाएको भेटिएमा दुईपांग्रेलाई २ हजार र अन्य सवारीसाधनलाई ५ हजारसम्म जरिमाना लिन सकिने जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा जारी सूचनामा उल्लेख छ । निषेधाज्ञा आदेश व्यक्तिले उल्लंघन गरेमा प्रमुख जिल्ला अधिकारी तत्काल १ लाख रुपैयाँसम्म र संस्थाले उल्लंघन गरेमा ५ लाख रुपैयाँ जरिमाना गराउन सक्नेछन् ।
त्यस्तै, मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पटकैपिच्छे सय रुपैयाँ तिराउन सक्ने अध्यादेशमा उल्लेख छ । हि“डडुलमा रोक लगाएको अवस्थामा बिनाकाम निस्किनेलाई समेत २ सय जरिमाना तोकिएको छ । खोल्न छुट नदिइएका व्यवसाय खोलेको पाइए प्रमुख जिल्ला अधिकारीले ६ महिनासम्मका लागि बन्द गराउन सक्नेसम्मको अधिकार अध्यादेशले दिएको छ ।
यसबाहेक अध्यादेशबमोजिम जारी मापदण्ड पालना नगरेमा ६ महिनासम्म कैद र ३ लाख रुपैयाँसम्म जरिमाना हुनेछ । उपत्यकामा यसअघि २० जेठसम्मका लागि निषेधाज्ञा कायम गरिएको थियो । निषेधाज्ञामा तरकारी तथा दुग्धजन्य पदार्थका पसल फलफूल, मासु र खाना पकाउने ग्यास तथा खानेपानीका पसल भने सञ्चालनमा रोक लगाएको थिएन ।
यस्ता पसल बिहान ९ बजेसम्म खोल्न दिइने निर्णय भएको थियो । गत ३० वैशाखमा निषेधाज्ञा थप गर्दै दुई साता बढाइएको र त्यसअघि २२ वैशाखमा एक साता थप गरिएको थियो । आजको राजधानी दैनिकमा यो समाचार छ ।










प्रतिक्रिया