सोमबार, ११ साउन २०७८

यसरी भएको थियो नेपालमा अंग्रेजी रोटीको सुरुवात

समयपोष्ट २०७४ वैशाख २२ गते ६:४४

प्रमिला बानियाँ
हात्तीसारबाट कमलपोखरी मोडिने सडकको दाहिनेपट्टि एउटा ठूलो घर छ । घरको मूलढोकाको ठीक अगाडि अर्धकदको एउटा सालिक राखिएको छ । सालिकको छेवैमा छ– सिसाकोे ठूलो बेकरी क्याफे, जो कसैको नजरबाट छिप्न सक्दैन । 
करिब सात दशकभन्दा अघि आफ्नै देशमा केही व्यवसाय गर्नुपर्छ भन्ने अठोट बोकेर भारतमा सीप सिक्न पुगेका कृष्णबहादुर राजकर्णिकारको सपनाको मूर्त रूप हो त्यो । नेपालमा प्रजातन्त्र स्थापना हुनुभन्दा ठीक दुई वर्षअघि मात्र स्थापना भएको कृष्ण पाउरोटी भण्डार । कृष्ण पाउरोटीको स्वाद नलिएकाहरूमाझ पनि कृष्ण पाउरोटी भन्ने नाम निकै लोकप्रिय भइसकेको छ । नेपालमा प्रजातन्त्र स्थापना भएको ठ्याक्कै दस वर्षपछि जन्मिएका जसले कृष्ण पाउरोटीको अर्गानिक स्वाद लिन पाएका थिए उनीहरू अहिलेसम्म जीवित छँदै नै छन् । उनीहरूका लागि त झन् कृष्ण पाउरोटी भन्ने नाम नौलो हुने कुरै भएन । 
कमलपोखरी नपुग्दै माइक्रो अथवा टेम्पो चढ्ने र ओर्लनेहरूका लागि त त्यो स्टपको नाम नै कृष्ण पाउरोटी रे । जेहोस् कृष्ण पाउरोटीले स्थापनाको अड्सठियौं वसन्त पार गरिसकेको छ र पनि कृष्ण पाउरोटीकोे लोकप्रियतामा भने कुनै कमी आएको छैन । नेपालमा अग्रणी पाउरोटी उद्योगका रूपमा स्थापना भएको कृष्ण पाउरोटीका संस्थापक जसको नामबाटै कृष्ण पाउरोटीे भन्ने नाम जुर्योकृष्णबहादुर राजकर्णिकार उनी यस दुनियाँबाट बिदा भएको करिब ६ दशकभन्दा बढी भइसकेको छ । उनै कृष्णबहादुर राजकर्णिकारका कान्छा छोरा घनश्याम राजकर्णिकार जसले पिताका आरोहअवरोहहरूसँग साक्षात्कार गर्ने सुनौलो अनुभव बटुले, जसले आजसम्म बुवाको धरोहरलाई जीवित राखेका छन्, तिनै छोराबाट पिताले सुनाउने गरेका पिताको संघर्षको गाथा या भनौं कृष्ण पाउरोटीको निकै पुरानो इतिहासको पन्ना यहाँ पल्टाउने जमर्को गरिएको छ । कृष्ण पाउरोटीको इतिहास
घनश्याम राजकर्णिकारको शब्दमा :

Advertisement

p3

यो कुरा वि.सं १९९९—२००० तिरको हो । जतिबेला नेपालका प्रधानमन्त्री थिए श्री ३ जुद्धशमशेर । त्यतिबेला हाम्रा बाउबाजे राणाहरूको दरबारमा काम गर्न जान्थे । हामी पहिलेदेखि नै मिठाइ, जेरी, स्वारी, लड्डु बनाउने हुँदा राणाहरूको दरबारमा मेरो बुवाले गर्ने काम भनेको पनि त्यही थियो । हाम्रो पुख्र्यौली पेसा नै मिठाइ रोटी बनाउने । त्यतिबेला मेरो बुवा बीरशमशेरको कान्छो छोरा तेजशमशेरकोे छोरा लालदरबारका मालिक इन्दु शमशेरकहाँ कार्यरत थिए ।
सोही समय प्रधानमन्त्री जुद्धशमशेरले आफूमाथि षड्यन्त्र हुने डरले ‘सी’ क्लासका राणाहरू जो ल्याइते र जात नमिलेका रानीबाट जन्मिएका थिए, उनीहरूलाई काठमाडौँबाट स्थानान्तरण गर्ने काम गरे । त्यतिबेला मेरो बुवाले काम गर्ने लालदरबारका इन्दुशमशेरलाई इलामको बडा हाकिम बनाएर जुद्धशमशेरले इलाम पठाइदिए । 
मेरो बुवा पनि अन्य सहयोगीसहित मालिकसँगै इलाम गए । त्यतिबेला इन्दुशमशेरको सम्पत्तिमा हीरा जवाहरातहरू प्रशस्त थिए । वीरशमशेरले उतिबेला लखनउ लुट गरेर धेरै हीरा जवाहरातहरू जम्मा गरेका थिए । त्यही सम्पत्ति उनका छोरा नातिहरूले पाएका । त्यस समय इन्दुशमशेरले इलाममा कन्तुरका कन्तुर हीरा जवहराहतहरू लिएर गए । तर, लगिएका कन्तुरमध्ये एउटा कन्तुर हरायो । कन्तुर हराएपछि त्यहाँ निकै खैलाबैला मच्चियो । त्यही बेला एकजना कामदारले मेरो बुवालाई खुसुक्क कन्तुर गोठमा पनि हुन सक्छ त्यहाँ हेर्नुपर्छ भन्दिए । गोठमा पराल नै परालको थुप्रो थियो । त्यो सुन्नेबित्तिक्कै मेरो बुवा गोठमा गएर पराल सबै पन्छाएर हेर्दा हराएको कन्तुर फेला पारे तर कन्तरुको बारेमा जानकारी दिने व्यक्ति भने त्यहाँबाट भागे । मेरो बुवाले कन्तुरको बारेमा इन्दुशमशेरलाई सबै कुरा बताएपछि उनले खुसी भएर बक्सिसस्वरूप बारा, पर्साको पचास बिघा जमिन मौखिक रूपमा तिम्रो भनिदिए । मालिकले बक्सिस त दिए तर लेखेर दिएनन् । मालिकले दिए भने लेखेर पनि देलान् भनेर बुवा ढुक्क हुनुभएको थियो । तर, इन्दुशमशेरको ठकुरी ज्वाईं तपेन्द्रबहादुर शाहले त्यो जमिनमा आँखा गाडेका रहेछन् । त्यसपछि त्यो जमिन मलाई चाहियो भनेर ससुरा बुवालाई भनेपछि उनले त्यो जमिन आफ्नै ज्वाईंलाई सुम्पिए । मेरो बुवाले केही पाउनु भएन । त्यतिबेला लालदरबारका राणाहरूको जग्गा–जमिन प्रायः सबैको बारा, पर्सातिर थिए । वीरगन्जमा थियो । वीरगन्ज भन्ने नाम वीरशमशेरको नामबाटै राखिएको हो । वीर भन्नाले बवरशमशेर र गन्ज भनेको सहर वा ठाउँ । 
त्यसपछि मेरो बुवा इन्दुशमशेरसँग रिसाएर यस्ता कण्डमुलसँग काम गर्दिनँ भनेर इलामबाट कलकत्ता लागे । त्यतिबेला काठमाडौंलाई नेपाल भन्ने प्रचलन थियो । केही काम सिकेरमात्र नेपाल फर्कने अठोटका साथ बुवा कलकत्ता पसे । तर, त्यति ठूलो सहर आफ्नो मान्छे कोही छैन, ल्याएको पैसा सबै सकिन थाल्यो, जुन सपना बोकी कलकत्ता पसेका थिए, त्यो पूरा नहुने देखेपछि उनले हतास मन लिएर घर फर्कने विचार गरेछन् । जानुभन्दा अघि कलकत्ताको दक्षिण भेगमा रहेको कालीघाटको काली मन्दिर जुन अहिले पनि छँदै छ, त्यहाँ दर्शन गरेर नेपाल फर्कने निर्णयमा पुगेछन् । मन्दिरमा एकदम भीड थियो, त्यही भीडमा च्यापिएर चिच्याउँदै गरेकी सानी बच्चीलाई बुवाले बचाउनुभएछ । भीडमा जान नसकेका बच्चीको बुवाले त्यो सबै देखिरहेको रहेछ । उक्त घटनापछि त्यही बच्चीको बुवा र मेरो बुवाबीच कुराकानी भयो । संयोग कस्तो भएछ भने त्यो व्यक्ति त्यतिबेला कलकत्ताको नामुद बेकरी फर्पोजका पाउरोटी बनाउने मिस्त्री रहेछन् । उनैले बुवालाई अंग्रेजी रोटी बनाउन सिकाउँछु भन्दै लगेछन् । उनैले बुवालाई काम पनि सिकाए र बास पनि दिए । 

Advertisement


p1

नेपालमा अंग्रेजी रोटीको सुरुवात
कलकत्तामा सीप सिकेर बुवा २००३ सालमा नेपाल फर्किए । त्यसपछि २००५ सालमा बुवाले चार कामदारसहित कृष्ण पाउरोटी भण्डार भनेर सानो व्यवसाय सञ्चालन गर्नुभयो । त्यतिबेला अहिलेको कृष्ण पाउरोटी रहेकै घरको ठीक अगाडि पाउरोटी बनाउने गरेको कारखाना थियो । बाटो फराकिलो बनाउँदा कारखाना सरकारले भत्काइदियो । त्यतिबेला अहिलेजस्तो पाउरोटी बनाउने अत्याधुनिक उपकरण थिएनन् । परम्परागत ठूलो गुम्बजजस्तो भट्टी चुल्होमा आगो बालेर तातो र रातो भएपछि पाउरोटी बेक गरिन्थ्यो । 
सुरुवाती अवस्थामा पाउरोटीको स्वाद अमिलो अमिलो हुन्थ्यो । पाउरोटी बनाउँदा हप्स भन्ने केमिकल राखेर बनाइन्थ्यो । त्यो सिसीमा राख्दा सेतो देखिने । 
हप्सलाई निकालेर उमालेको पानीमा राख्ने र निकालेर सिसीमा राखेर घाममा तताउनुपर्ने । त्यसबाट ग्यास आउँछ, त्यो ग्यास राखेपछि पाउरोटी फुल्छ । यसरी हप्स घरको झ्यालमा राखेर घाममा तताएको मानिसले देख्थे । पाउरोटी खाँदा अमिलो भएपछि मानिसले पाउरोटी खान हुँदैन त्यसमा जाँड मिसाएको हुन्छ भनेर काठमाडौँका बाहुनहरूले हल्ला फिजाए । त्यस्तो हल्ला हुनेबित्तिक्कै पाउरोटी बिक्न छाड्यो । त्यसपछि बुवाले ‘चोखो ताजा पाउरोटी शुद्ध पाउरोटी खानुहोस्’ लेखेर बोर्ड झुन्ड्याउनुभयो । त्यसपछि मानिस आएर हेर्थे मेरो बुवाले यो जाँड होइन पाउरोटीमा हाल्ने मसला भन्दै देखाउँथे । त्यसपछि हल्ला कम हुन थाल्यो । 
पाउरोटी भन्ने शब्द भारतबाट आएको हो । भारतमा पाउरोटीलाई पावरोटी भनिन्थ्यो । हिन्दीमा पावको मतलब खुट्टा अनि पावरोटी बनाउँदा बुट लगाएर खुट्टाले मुछ्ने गरिन्थ्योे । सुख्खा रोटी बनाएको जस्तो हातले बनाएर पाउरोटी बन्दैनथ्यो । पीठो बेस्सरी मुछेर लस्सा आउने अर्थात् ग्लुटिन निकाल्नुपथ्र्यो । 
नेपालमा भर्खर प्रजातन्त्र आउन थालेको अवस्था । भारत गएर नेपाल आउने मानिस बढ्दै थिए । भारतमा पाउरोटी खुट्टाले मुछेर बनाइन्थ्यो । त्यही कुरा देखेका नेपालीले पाउरोटी खुट्टाले मुछेर बनाइन्छ भन्ने अर्को हल्ला फिजाए । मेरो बुवा धार्मिक विचारका । खानेकुरालाई खुट्टाले मुछ्नुहुँदैन भनेर हामीले पाउरोटी खुट्टाले मुछेर बनाएनौ । नाम पाउरोटी भयो तर हामीले पाउरोटी बनाउँदा कहिले खुट्टा प्रयोग गरेनौ

राणादेखि राजासम्म प्रिय 
पाउरोटी बनाएर बेच्न सुरु गर्दा नेपालमा राणा शासन यथावत् नै थियो । मेरो बुवा एकजना राणाका अति प्रिय । उनी दुई/चार दिनमा एकपटक हाम्रो पसलमा आउने र बुवाको कामको प्रशंसा गरेर हौसला बढाउने गर्थे । पाउरोटी बनाउन कहिले नछाड यो एकदम राम्रो काम हो भनी हौसला दिइरहे । आएको बेला पसलमा बेच्न राखेको पाउरोटी सबै किनेर लगिदिन्थे । 
त्यसपछि २०१७ तिरको कुरा हो राजाको दरबारमा हाम्रै पाउरोटी किनेर लैजाने गरिन्थ्यो । राजाले पाउरोटी खाएको त हाम्रोे आँखाले कहिले देखेनौ तर पहिले दरबारका सुसारेहरूलाई चाख्न दिएर महेन्द्रले पाउरोटी खाने गर्थे रे ।

बीपी र त्रिभुवनबीच सञ्चार गराउने सेतु 
मेरो बुवालाई बीपी कोइरालाले असाध्यै मन पराउने, दुवैबीच राम्रो सम्बन्ध थियो । बुवालाई कृष्ण दाइ भनेर सम्बोधन गर्नेे । उनले पनि बुवालाई पाउरोटी बनाउन नछोड्नुस् भनेर सधैं हौसला दिइरहे । बीपी अक्सर विशेष काम पर्दा मेरो बुवाको साइकल लिएर हिँड्ने । त्यसबेला बीपी सानदाइको नामले निकै चर्चित । बीपीलाई पहिलोपटक देख्दा म चकित परेको थिएँ । साधारण कमिज र पाइजामा लगाएका सामान्य मान्छे जस्ता देखिने । 
जति चर्चित बीपी थिए उनको लगाउने शैली कुनै बाबुसाहेबभन्दा कम छैन होलाजस्तो लाग्थ्यो तर उनको साधारण पहिरनले मेरो ठूलो मान्छेप्रतिको दृष्टिकोण नै बदलियो । 
बीपी र त्रिभुवनबीच राणा शासन ढाल्न कुराकानी भइरहने । त्रिभुवनकहाँ कपाल काट्ने हजाम बलदेव ठाकुर जसलाई हामी काका भन्ने गथ्र्यौं उनैमार्फत बीपीको सन्देश त्रिभुवनसम्म पुग्थ्यो । बलदेव काका र बीपी समय र दिन मिलाएर हाम्रो पसलमा चिया खान आउने अनि त्यही समय कुराकानी गरेर बलदेव काकाले बीपीको सन्देश त्रिभुवनसमक्ष पुर्याउथे । लामो समय यो प्रक्रिया चलिरह्यो । यसरी कृष्ण पाउरोटी पसल प्रजातन्त्रवादीहरूका लागि मिलन केन्द्र भइरह्यो । पछि हाम्रो पसलमा सीआईडिहरू परिचालन भए भन्ने हल्ला सुनिन थालेपछि बीपी पसलमा आउन छाडे ।


p5

परम्परागत शैलीबाट आधुनिकतातर्फ 
२०१६ सालसम्म पनि पाउरोटी हातले नै पीठो मुछेर बनाउने गरिन्थ्यो । चार दाजुभाइमध्ये म कान्छो । मेरो माइलो दाइले बुवाको व्यवसायमा निकै रुचि देखाए । उनकै योजनामा त्यतिबेलै २५,००० हजार पर्ने पाउरोटी बनाउने आधुनिक मिक्सचर मेसिन हामीले बेलायतबाट नेपाल झिकायौँ । 
मेसिन ल्याएको एक वर्ष अर्थात् २०१६ सालमा मेरो बुवा बित्नुभयो । उहाँले घरमा मेसिन आइपुगेको देख्नुभयो तर मेसिनले बनाएको पाउरोटीे देख्नुभएन । 
बुवाको मृत्युपछि हामी चार दाजुभाइ बुवाको व्यवसायमा संलग्न भयौं । बुवाको मात्र एकाधिकार भएको पाउरोटी व्यवसाय २०२१ सालपछि हामी चार दाजुभाइको पार्टनरसिपमा चल्यो । 
साझेदारीमा यो व्यवसाय परिणत भइसकेपछि हामीले दुई लाख पचास हजार तिरेर बेलायतबाट ओभन, मिक्सचर, डो डिभाइडरजस्ता थप मेसिनहरू झिकायौं । 
पम्परागत शैलीमा सुरुका दिनमा आठ÷दस प्याकेट मात्र पाउरोटी उत्पादन हुने र पछि बढ्दै सय डेढ सय हुँदै, मेसिन ल्याएपछि दिनको हजार÷बाह्र सय प्याकेटसम्म बनाउन थाल्यौं । लगत्तै बजारमा हाम्रो पाउरोटीको माग बढ्दै गयो । त्यसपछि २०२९ सालतिर हामीले हाम्रो व्यवसायलाई प्रालिमा परिणत ग¥यौं ।  त्यसपछि बेकरीसम्बन्धी तालिम लिन म एक वर्षका लागि जर्मनी गएँ । नेपाल फर्कंदा १६ लाख पर्ने मेसिन लिएर आएँ । २०३० सालमा १६ लाख भनेको निकै ठूलो रकम । मेसिनका लागि आवश्यक पर्ने १६ लाख एनआईडीसीबाट ऋण लिएका थिर्यौ ।  २०३० देखि २०४६ सालसम्म बजारमा कृष्ण पाउरोटीको एकाधिकार मार्केट थियो । त्यसपछि हाम्रो देखासिखीमा अन्य पाउरोटी उद्योगहरू सञ्चालनमा आउन थाले ।


p2

शून्यबाट सुरुवात
अन्य पाउरोटी उद्योग बजारमा स्थापना हुँदै गर्दा ठूलो दाइको सोही समय निधन भयो । उनका छोराले पाउरोटी व्यवसायमा संलग्न नहुने भन्दै अंश मागे । क्रमैसँग दाजुहरूको निधन हुँदै जाँदा दाजुका छोराहरूलाई अंश दिनुपर्ने भयो । ठूलो परिवार हुँदा मिलेर काम गर्न सक्ने स्थिति रहेन । पाउरोटी व्यवसायमा दाजुको छोराहरूले चासो दिएनन् । सबैलाई अंश दिनुपर्दा फेरि शून्यबाट सुरु गर्नुपर्ने स्थितिको सामना गर्नुपर्यो । ०४६ अघि कृष्ण पाउरोटीको जुन इमेज थियो अहिले त्यो हुन पाएन । 
२०५५/०५६ सालसम्म जसोतसो पाउरोटी बनाउँदै गयौं। फेरि अर्का एक भतिजाको कपटपूर्ण असहयोग रणनीतिले पाउरोटी उत्पादनमा फेरि कुठाराघात हुन गयो । अनेकथरीका अवरोधले गर्दा जुन स्केलमा हामी पहिले पाउरोटी बनाउँथ्यौं त्यो घट्दै गयो । अहिले हामी पाउरोटी मात्र नभई, केक पेस्ट्री, कुकिजजस्ता फेन्सी आईटमहरू बनाउने गर्छांै । अहिलेका युवा पुस्ता फेन्सी आइटम मन पराउने हुँदा हामीले हाम्रो व्यवसायलाई केही डाइभर्ट गरेका छौं । तर, पाउरोटीकै उत्पादन भने त्यति धेरै छैन । अहिले हाम्रो तीनवटा सोरुम छन् । पाउरोटीमा धेरै जनशक्तिको आवश्यकता पर्छ तर केक पेस्ट्रीमा थोरैले काम चल्छ । हामी अहिले पा पाउरोटी ठूलो स्केलमा उत्पादन गरिरहेका छैनौं ।

अन्त्यमा 
स्थापनाकालमा कृष्णबहादुरको एकलौटी स्वामित्वमा रहेको कृष्ण पाउरोटी भण्डार २०७४ सालसम्म आइपुग्दा कान्छा छोरा घनश्याम राजकर्णिकारले एक्लै थामिरहेका छन् । उमेरले पचहत्तर वसन्त पार गरिसके र पनि उनी कृष्ण पाउरोटी भण्डारमा अझै सक्रिय छन् । पाँच छोरीका पिता घनश्यामले राजधानीको त्रि–चन्द्र क्याम्पस र त्रिभुवन विश्वविद्यालयबाट पढाइ पूरा गरे । उनले अर्थशास्त्रमा एमए गरेका छन् । उच्च शिक्षा हासिल गरेका व्यक्तिको रुचि सरकारी जागिरमा किन भएन भन्ने प्रश्नमा उनी भन्छन्, “बीए पास गर्दासम्म पनि जागिर खाने मेरो सोच थियो । पछि बुझ्दै जाँदा आफ्नै व्यवसाय ठूलो रहेछ भन्ने बुझे । पहिले नै व्यवसायको बारेमा बुझेको भए मैले कमर्स पढ्थें होला । मैले आर्टस पढेर जागिर खाने सोच बनाएको थिएँ । त्यसकारण कमर्सतिर लागिनँ । त्यतिबेला फस्र्ट र सेकेन्ड डिभिजनमा पास हुने विद्यार्थीले आर्टस र साइन्स पढ्नुपर्छ भन्ने मान्यता थियो । कमर्स तल्लो दर्जाको विद्यार्थीले पढ्छन् भन्ने थियो । अहिले त्यसको ठीक विपरीत छ । अहिले म्यानेजमेन्ट पढ्नुपर्छ भन्ने छ ।” 

p9

कृष्ण पाउरोटीमा रुचि नदेखाएको भए आफू लोकसेवाको जाँच दिएर सरकारीे ओहोदामा पुग्ने उनी बताउँछन् । आफूले अँगालेको व्यवसायमा निकै सन्तुष्ट रहेको बताउने घनश्यामलाई उनकी जीवनसंगिनी शान्ता, दुई छोरीहरू प्रज्ञा र सृष्टिले सघाउँदै आएका छन् । सहयात्री शान्ता राजकर्णिकार पाउरोटी कारखानाको आन्तरिक व्यवस्थापन सबै आफैं मिलाउँछिन् भने घनश्याम कारखानाबाहिरको । 
घनश्यामको भित्री चाहना छोरीहरूले व्यवसायमा सहयोग गरे हुने भन्ने रह्यो रे तर उनले कुनै छोरीलाई पनि व्यवसायमा आउन फोर्स गरेनन् । तर, उनले छोरीहरूलाई जागिरभन्दा सानै भए पनि आफ्नै व्यवसाय उत्तम हुने बताइरहे । उनी भन्छन् , “जागिर खाँदा हात थाप्नुपर्छ, व्यवसाय सञ्चालन गर्दा अरूलाई दिने हो । दिन मन पर्छ कि लिन तिमी आफैं विचार गर भनेर छोरीहरूलाई उनीहरूको इच्छाअनुसार गर्न छोडिदिएँ । दिँदा सानो भए पनि आफू मालिक भइन्छ तर लिँदा जति धेरै लिए पनि कामदार नै हो ।”
नियात्रा साहित्यमा स्थापित बनिसकेका घनश्यामको हालसम्म दस कृति प्रकाशित भइसकेका छन् । जीवनमा पैसाको भन्दा बढी आत्मिक शान्तिको महत्व हुन्छ भन्दै उनी भन्छन्, “पैसामात्र ठूलो होइन मानसिक शान्ति पनि हुनुपर्छ । पैसा पनि चाहिन्छ तर जिन्दगी पैसाका लागि मात्र बाँच्ने होइन ।” 
बौद्ध धर्म, आध्यात्म, साहित्य र व्यवसाय आफ्नो जीवनको अहम् हिस्सा मान्ने उनी लक्ष्मी र सरस्वती दुवैलाई अपनाएर जान सक्नुपर्ने बताउँछन् । 
देशको परिस्थितिले काम गर्ने युवाहरू बिदेसिनुपरेको उल्लेख गर्दै उनी भन्छन्, “जति गरिब भए पनि आफ्नो मातृभूमिभन्दा ठूलो अरू केही हुँदैन । भनाइ नै छ, ‘पिटे पनि आमै जाती पोले पनि घामै जाती ।’ बरु स्वदेशमै युवाहरूले केही व्यवसाय गरेर बसे राम्रो हुन्थ्यो ।” 
घनश्याम राजकर्णिकार नभएको भए कृष्ण पाउरोटी एउटा इतिहासमा मात्र सीमित हुने थियो । उनले बुवाको व्यवसायलाई निरन्तरता दिँदै बुवाले खनेको जगलाई पुरिनबाट जोगाएका छन् । 
घनश्याम राजकर्णिकार भन्छन्, “मैले मेरो बुवाको नामका लागि मेरो जीवन नै यसमा समर्पित गरे र आज सफल पनि भएको छु ।” २००५ सालमा एक सुका अर्थात् पच्चीस पैसाबाट बेच्न सुरु गरेको पाउरोटीको मूल्य २०७४ सालसम्म आइपुग्दा १०० रुपैयाँ पुगिसकेको घनश्यामले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री