बिहीबार, ८ जेठ २०८२

तिल गाउँमा आएको बाढीको कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

समयपोष्ट २०८२ जेठ ८ गते ११:५४

Advertisement

हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ स्थित तिल गाउँमा जेठ १ गते राति आएको बाढीको कारण पत्ता लगाउन सरकारी विज्ञ टोली हुम्ला आइपुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशील कुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय टोली आज बिहान सिमिकोट सुदूरमुखाम आइपुगेको हो।

टोलीमा जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट इन्जिनियर सौहाद्र जोशी र खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जिओलोजिस्ट शिवकुमार बास्कोटा रहेका छन्। टोली आजै बाढी प्रभावित क्षेत्रतर्फ जाने प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए।

‘टोली हिजो काठमाडौंबाट नेपालगञ्ज प्रस्थान गरेको थियो, तर मौसम खराबीका कारण त्यहाँ रोकिएको थियो,’ प्रजिअ पाण्डेले भने, ‘आज बिहान सिमिकोट आइपुगेका छन् र आजै तिल गाउँतर्फ जान लागेका छन्।’

Advertisement

जेठ १ गते रातिको बाढीका कारण तिल गाउँमा ठूलो क्षति भएको थियो। घटनामा १८ घरपरिवार विस्थापित भई हाल पालमुनि आश्रय लिइरहेका छन्।

करीब ५,३०० मिटर उचाइमा रहेका दुई वटा हिम पोखरीबाट बगेको पानीले एक्कासि बाढीको रूप लिएको प्रारम्भिक अनुमान छ। स्थानीयवासीहरू आफैं पोखरीसम्म पुगेका थिए र बाढीको सम्भावित कारण पहिचान गर्ने प्रयास गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री