राष्ट्र बैङ्ककाे १८ औँ गभर्नरमा डा. विश्व पौडेल नियुक्त
नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरको रूपमा डा. विश्व पौडेल नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राष्ट्र बैंकको १८औँ गभर्नरको रूपमा नियुक्त गर्ने निर्णय गरेको हो।
गभर्नर छनोट सिफारिस समितिको बैठकले तीन जनाको नाम सिफारिस गरेको थियो, जसमा डा. पौडेल अग्रपंक्तिमा रहेका थिए। तीमध्येबाट मन्त्रिपरिषद्ले पौडेललाई नियुक्त गरेको हो।
महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल चैत २३ गते सकिएसँगै गभर्नर पद रिक्त रहँदै आएको थियो। डेढ महिनासम्म पद खाली रहेको अवस्थामा नयाँ गभर्नर नियुक्त गरिएको हो।
नेपाल राष्ट्र बैंकको गभर्नर पद चैत २४ देखि नै रिक्त थियो । डेपुटी गभर्नर निलम ढुङ्गानाले कामुको रूपमा राष्ट्र बैंकको कामकाज भइरहेको थियो ।
गभर्नरको पद रिक्त हुनु एक महिनाअघि नै नयाँ गभर्नर नियुक्ति गरी सार्वजनिक सूचनामार्फत जानकारी गराउनुपर्ने कानूनी प्रावधान छ । तर, सत्तापक्षको लामो रस्साकस्सीपछि गभर्नर पद रिक्त रहेको करिब डेढ महिनामा राष्ट्र बैंकले नयाँ गभर्नर पाएको हो ।
नवनियुक्त गभर्नर पौडेल यसअघि गभर्नर सिफारिस समितिमा विज्ञको तर्फबाट सदस्य बनेका थिए । उनले गभर्नर पाउने सम्भावना देखिएपछि सदस्यबाट राजीनामा दिएर गभर्नरका लागि दौडधूप शुरु गरेका थिए ।
पौडेल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वास पात्रका रूपमा लिने गरिन्छ । पौडेल २०७८ साल साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए । जुनबेला प्रधानमन्त्रीमा देउवा नै रहेका थिए । अहिले पौडेललाई गभर्नर बनाउँदा समेत कांग्रेस सरकारमै रहेको छ ।
नवनियुक्त पौडेलको घर चितवन हो । उनले चीनको विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक तहको अध्ययन गरेका छन् । उनले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।
प्रतिक्रिया