चालु आर्थिक वर्षको १० महिनामा घरजग्गा कारोबारबाट ३७ अर्बभन्दा बढी राजस्व संकलन
चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनामा घरजग्गा कारोबारबाट ३७ अर्ब ७६ करोड ७१ लाख रुपैयाँ राजस्व संकलन भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार सबैभन्दा बढी राजस्व वैशाखमा उठेको हो।
वैशाख महिनामा मात्रै ४ अर्ब ५४ करोड २२ लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ। सबैभन्दा कम राजस्व भने कात्तिकमा २ अर्ब ७० करोड ४० लाख रुपैयाँ मात्र उठेको हो। अन्य महिनाहरूमा साउनमा ३ अर्ब ८३ करोड ५० लाख, भदौमा ३ अर्ब ९ करोड २ लाख, असोजमा ३ अर्ब ८ करोड १२ लाख, मंसिरमा ३ अर्ब ८७ करोड ४८ लाख, पुसमा ४ अर्ब २५ करोड, माघमा ३ अर्ब ८७ करोड, फागुनमा ४ अर्ब १२ करोड र चैतमा ४ अर्ब ३९ करोड ४६ लाख रुपैयाँ राजस्व उठेको विभागको तथ्यांक छ।
घरजग्गा कारोबार र कित्ताकाट दुवैमा वैशाख महिना यस वर्षकै सबैभन्दा सक्रिय महिना भएको देखिन्छ। वैशाखमा ५२ हजार ४२३ वटा नयाँ घरजग्गा कारोबार भएका थिए भने चैतमा ४९ हजार ८३२ वटा कारोबार भएका थिए। वैशाखमा कुल १ लाख ४४ हजार ६० वटा कारोबार भएको थियो।
कित्ताकाटको हिसाबले पनि वैशाख महिना अग्रपंक्तिमा रह्यो। विभागका अनुसार वैशाखमा ५७ हजार ९२८ पटक कित्ताकाट लिखत पारित भएको छ, जुन चालु आर्थिक वर्षको अहिलेसम्मकै उच्च हो। यसअघि चैतमा ५४ हजार २७९ पटक कित्ताकाट भएको थियो।
भूमि वर्गीकरण नहुँदा भदौदेखि कित्ताकाटमा व्यापक असर परेको थियो। देशभरका ६२० पालिकामा कित्ताकाट ठप्प भएको थियो। सरकारको नयाँ व्यवस्था अनुसार वर्गीकरण नभएका पालिकामा २०८२ असार मसान्तसम्म चारकिल्ला देखाएर कृषि क्षेत्र तोक्नुपर्ने प्रावधान छ।
पछिल्लो समय सरकारले नियमावली संशोधन गरी आवासीय जग्गामा ८० वर्गमिटर क्षेत्रफलसम्म कित्ताकाट गर्न पाइने व्यवस्था गरेपछि कारोबारमा केही सुधार आएको देखिन्छ।
विभागले सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर, पूर्वाधार विकास शुल्कलगायत शीर्षकमा राजस्व संकलन गर्दै आएको छ। पुँजीगत लाभकरबाहेकका सबै राजस्व स्थानीय तहको खातामा जान्छ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म २० अर्ब १२ करोड रुपैयाँ आवासीय कर्जा प्रवाह भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको ३८ अर्ब ६३ करोडको तुलनामा निकै कम हो। तर घरजग्गा कर्जा भने वृद्धि भएको छ। चालु आर्थिक वर्षको ९ महिनामा ११ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी घरजग्गा कर्जा प्रवाह भएको छ, जुन अघिल्लो वर्षको तुलनामा चारगुणा बढी हो।
रियल इस्टेट कर्जामा सबैभन्दा बढी हिस्सा अन्य रियल इस्टेट (जग्गा खरिद तथा प्लटिङ) ले ओगटेको छ। यो क्षेत्रमा ८ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ।
प्रतिक्रिया