सोमबार, ५ जेठ २०८२

एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा

फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

समयपोष्ट २०८२ जेठ ५ गते ६:४६

Advertisement

मौसम अनुकूल भएसँगै आइतवार एकैदिन १३५ आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

वसन्त यामको जारी आरोहणमा एकै दिन धेरै सङ्ख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएको पर्यटन विभागले जनाएको छ । सगरमाथाको आधारशिविरस्थित विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार मौसम अनुकूल भएकाले आइतवार धेरै आरोहीले सगरमाथा चढेका हुन् । सोमबार पनि धेरै सङ्ख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्ने योजनामा रहेको जनाइएको छ ।

विभागका निर्देशक हिमाल गौतमले भन्नुभयो, “मे १८ तारिखका दिन ‘म्याक्सिमम समिट प्लान’ थियो । त्यसैले धेरै सङ्ख्यामा आरोहीले सगरमाथा आरोहण गरेका छन् । सगरमाथा आरोहणको सुरुका केही दिन आरोहण अवरुद्ध भएपनि तीन दिनयता सर्वाधिक आरोहण भइरहेका छन् ।”

निर्देशक गौतमले हालसम्म २०० भन्दाबढीले सगरमाथा आरोहण गरेको र भोलि सोमबार पनि धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने योजनाका साथ गन्तव्यमा रहेको जानकारी दिनुभयो ।

Advertisement

फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा
फोटो पत्रकारसमेत रहनुभएकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठले पाँचौँ पटक सगरमाथा आरोहण गर्नुभएको छ । श्रेष्ठले आइतवार बिहान सगरमाथाको चुचुरोमा पाँचौँ पटक पुगेको सतोरी एडभेन्चर प्रालिले जनाएको छ । श्रेष्ठले गत वर्ष एउटै याममा तीन पटक सगरमाथाको आरोहण गरेर विश्व किर्तिमान कायम गर्नुभएको थियो ।

गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गर्नुभएको थियो । विभागको तथ्याङ्कअनुसार वसन्त ऋुतमा हालसम्म ४७ आरोही समूहका ८६ महिला र ३८२ पुरुषसहित ४६८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री