नेप्से परिसूचक सामान्य अंकले घट्यो, कारोबार रकम भने बढ्यो
साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। पछिल्ला ५ कारोबार दिनदेखि ओरालो लाग्दै आएको नेप्सेले आइतबार पनि सोही प्रवृत्तिलाई निरन्तरता दिएको हो।
नेप्से परिसूचक २.७९ अंकले घटेर २६०९.०५ विन्दुमा झरेको छ। यद्यपि, परिसूचक घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ। गत बिहीबार ७ अर्ब ८ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा आइतबार ३०९ स्टकको ७९,८९३ पटकको कारोबारमा ८ अर्ब ५० करोड ९२ लाख २१ हजार रुपैयाँबराबरको १ करोड ६९ लाख ७ हजार कित्ता शेयर खरिदब -बिक्री भएको छ।
आइतबार ओम मेगाश्री फर्मास्यूटिकल्स र छ्याङ्दी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। विन नेपाल लघुवित्तको शेयरमूल्य ९.५३ प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य ८.४१ प्रतिशतले बढेको छ। यस्तै, बाराही हाइड्रोपावरको शेयरमूल्य ७.३२ प्रतिशतले उकालो लागेको छ। तर, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य भने सर्वाधिक ८.७१ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको ७० करोड ३७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५१ करोडभन्दा बढी र राधी विद्युत कम्पनीको करिब ४८.५ करोड रुपैयाँको शेयर खरिद-बिक्री भएको छ।
१३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। अन्य उपसमूहको परिसूचक ४.१९ प्रतिशतले सबैभन्दा धेरै बढेको छ। लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा माथि उकालो लागेको छ। यता, व्यापार उपसमूहको परिसूचक भने २.६८ प्रतिशतले सबैभन्दा धेरै घटेको छ।
प्रतिक्रिया