आइतबार, ४ जेठ २०८२

मिर्गौला प्रत्यारोपणपछि सगरमाथा चढ्ने पहिलो व्यक्ति बने पेम्बा शेर्पा

समयपोष्ट २०८२ जेठ ४ गते ८:३६

Advertisement

सोलुखुम्बुका पेम्बा शेर्पाले मिर्गौला प्रत्यारोपणपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान राख्नुभएको छ। उहाँले बुधबार बिहान ९:३० बजे सगरमाथाको शिखरमा पाइला टेकेर यो ऐतिहासिक उपलब्धि हासिल गर्नुभएको हो।

पेम्बा शेर्पालाई काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। स्वागतका लागि मिर्गौला प्रत्यारोपण गरेका झम्क श्रेष्ठसहित ठूलो संख्यामा सर्वसाधारण र शुभचिन्तकहरू विमानस्थल पुगेका थिए। शेर्पाले एक महिनाअघि सगरमाथा आधार शिविरतर्फ प्रस्थान गर्नुभएको थियो।

आरोहणका क्रममा स्वस्थ व्यक्तिहरूलाई समेत लेक लाग्ने र श्वासप्रश्वासमा कठिनाइ हुने जस्ता समस्याहरू देखिन्छन्, तर शेर्पाले आफूलाई यस्ता कुनै समस्या नभएको बताउनुभयो। “मिर्गौला प्रत्यारोपणपछि सगरमाथा चढ्ने मेरो सपना पूरा भएको छ। यो उपलब्धि मेरा लागि मात्र नभई विश्वभरका मिर्गौला प्रत्यारोपीहरूका लागि प्रेरणाको स्रोत बन्नेछ,” शेर्पाले भन्नुभयो।

स्वागत समारोहमा सहभागी झम्क श्रेष्ठले शेर्पाको यो कीर्तिमानले मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरू पनि हरेक क्षेत्रमा सक्षम र सक्रिय जीवन जिउन सक्छन् भन्ने सन्देश विश्वभर फैलाएको बताउनुभयो। शेर्पाको मिर्गौला प्रत्यारोपण २०७९ कात्तिक २ गते शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सम्पन्न भएको थियो। उहाँका ५६ वर्षीय बुवाले मिर्गौला दान गर्नुभएको थियो।

Advertisement

शेर्पाले आफ्नो मिर्गौला प्रत्यारोपणको नेतृत्व गर्नुभएका शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठलाई ‘मानवरूपी भगवान्’ को संज्ञा दिनुभयो। “डा. पुकार श्रेष्ठ हामी जस्ता मिर्गौला रोगीहरूका लागि स्वर्गबाट आएका भगवान् हुनुहुन्छ। उहाँले कयौँलाई नयाँ जीवन दिनुभएको छ,” शेर्पाले भावुक हुँदै भन्नुभयो।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ

यो कीर्तिमानले मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरूलाई साहसिक र सक्रिय जीवन जिउन प्रेरित गर्ने अपेक्षा गरिएको छ। शेर्पाको यो उपलब्धिले नेपालको स्वास्थ्य क्षेत्र र मानवीय साहसको कथालाई विश्वमाझ चिनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री