शुक्रबार, २ जेठ २०८२

लुम्बिनीमा भीषण हावाहुरी : ५ जनाको मृत्यु, ८ घाइते

समयपोष्ट २०८२ जेठ २ गते २१:५३


लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा शुक्रबार दिउँसो आएको भीषण हावाहुरी र वर्षासँगैका घटनाले ५ जनाको ज्यान गएको छ भने कम्तीमा ८ जना घाइते भएका छन्।

Advertisement

नवलपरासी पश्चिमको सुनवल नगरपालिका–७ ज्यामिरेस्थित प्रतीक्षालयमा रूख ढलेर च्यापिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय, सुनवलका प्रमुख सन्तोष पौडेलका अनुसार ३० वर्षीया मिरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुनको ज्यान गएको हो। सोही घटनामा नरमती परियार (४०), दुर्गेश्वरा खाम्चा (५१) र अनिल थापा (२२) गम्भीर घाइते भएका छन्। उनीहरूको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ। तीव्र हावाले प्रतीक्षालयमाथि रूख ढल्दा प्रतीक्षालयसमेत भत्किएको थियो।

यसैबीच, कपिलवस्तु नगरपालिका–८ मैनिहवामा आँप टिप्न गएकी १४ वर्षीया सुखना केवटको रूखको हाँगा खस्दा मृत्यु भएको छ। घाइते अवस्थामा जिल्ला अस्पताल तौलिहवा लगिएकी उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। तीव्र हावाहुरीले आँपको रूख भाँचिँदा उनी च्यापिएकी थिइन्।

रुपन्देहीका विभिन्न स्थानहरू — बुटवल, देवदह, भैरहवा, र मर्चवार क्षेत्रमा पनि हावाहुरीले घर तथा संरचनामा क्षति पुर्‍याएको छ। केही स्थानमा रुख ढलेको भए पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ।

त्यसैगरी, शुक्रवार नै रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ लोखडियामा भारतीय कार र नेपाली पिकअप भ्यान ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। भैरहवाबाट तौलिहवा जाँदै गरेको लु १ ज ४७२० नम्बरको पिकअप र विपरीत दिशाबाट आइरहेको यूपी ५३ डीएक्स ५२१४ नम्बरको भारतीय कार आपसमा ठोक्किँदा भारतको सिद्धार्थनगर ग्राम सिवपतिनगरका ३७ वर्षीय कृष्णचन्द्र मौर्यको मृत्यु भएको हो। अर्का मृतकको सनाखत हुन सकेको छैन।

Advertisement

घाइते कार चालक भारतको अम्बेडकरनगरका ३५ वर्षीय नगेन्द्र बर्मा हुन् भने पिकअपमा सवार पाँच जना सामान्य घाइते छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री