अब इन्भर्टर र मैनबत्तीको दिन फर्कँदैनन् : निर्देशक शाक्य
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपालमा लोडसेडिङ नहुने स्पष्ट पारेका छन्।
बिहीबार साँझ विद्युत आपूर्तिमा देखिएको अवरोधबारे प्रष्टीकरण दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सामाजिक सञ्जालमा फैलिएको ‘लोडसेडिङ पुनः सुरु भयो’ भन्ने हल्ला निराधार भएको बताए।
हिजो साँझ ६:३८ बजेदेखि देशका अधिकांश भागमा विद्युत आपूर्ति अवरुद्ध भएको थियो। प्राधिकरणका अनुसार, ढल्केवर आसपास चलेको तीव्र हावाहुरीका कारण ढल्केवर–मुजफरपुर ४०० केभी डबल सर्किट प्रसारण लाइनका दुवै सर्किटमा एकसाथ समस्या उत्पन्न हुँदा यस्तो अवस्था आएको हो।
बेलुका विद्युतको माग अत्यधिक हुने भएकाले प्रणाली अस्थिर भएको र लाइन ट्रिपिङ भइरहेकाले आपूर्ति निरन्तर दिन नसकिएको प्राधिकरणले जनाएको छ।
शाक्यले भने, “ढल्केवर मुजफरपुर क्षेत्रमा ठूलो रुखको हाँगाले लाइनमा क्षति पुर्याएको रहेछ। करिब दुई घण्टापछि समस्या समाधान गरी आपूर्ति पुनः सुचारु गरिएको हो।”
उनका अनुसार, बेलुका ८:०८ मा ढल्केवर–मुजफरपुर ४०० केभी सर्किट–२ सञ्चालनमा आएपछि आपूर्ति सहज बन्दै गएको हो। तर, ढल्केवर पश्चिमको १३२ केभी तथा अन्य १३२, ३३ र ११ केभी लाइनहरूमा रुख ढली पोल र कन्डक्टरमा क्षति पुर्याएकाले केही क्षेत्रहरूमा अझै समस्या देखिएको बताए।
विद्युत आपूर्ति बन्द हुनासाथ उनी स्वयं स्यूचाटारस्थित विद्युत् प्रणाली सञ्चालन केन्द्र पुगेर भारसम्बन्धी जानकारी लिएको पनि उनले जानकारी दिए।
शाक्यले भविष्यमा यस्ता समस्या दोहोरिन नदिन तत्कालीन, मध्यम र दीर्घकालीन योजना निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे।
उनले जोड दिए, “अब इन्भर्टर र मैनबत्तीको दिन फर्कँदैनन्। लोडसेडिङ फेरि सुरु हुन्छ भन्ने सामाजिक सञ्जालका हल्लामा सत्यता छैन।”
प्रतिक्रिया