वाणिज्य बैंकहरूद्धारा नयाँ ब्याजदर सार्वजनिक, यी ६ बैंकले गरे ब्याजदर परिवर्तन
वाणिज्य बैंकहरूले जेठ २०८२ महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्।
प्रकाशित विवरणअनुसार बैंकहरूको व्यक्तिगत मुद्दति निक्षेपको औषत अधिकतम ब्याजदर बैशाख महिनाको तुलनामा सामान्य रूपमा घटेको छ।
बैशाखमा ५.९७९५ प्रतिशत रहेको यो औषत ब्याजदर जेठमा घटेर ५.९५२ प्रतिशतमा सीमित भएको छ, जुन ०.०२७५ प्रतिशतविन्दुको कमी हो।
कुल २० वाणिज्य बैंकमध्ये १४ बैंकले बैशाखकै ब्याजदरलाई निरन्तरता दिएका छन्। बाँकी ६ बैंकमध्ये ३ बैंकले ब्याजदर घटाएका छन् भने ३ बैंकले बढाएका छन्। ब्याजदर घटाउनेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सबैभन्दा ठूलो कटौती गरेको छ, जसले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर १ प्रतिशतविन्दुले घटाएर ६.५ देखि ५.५ प्रतिशतमा झारेको छ। त्यस्तै, सिद्धार्थ बैंकले ०.२५ प्रतिशतविन्दु र कुमारी बैंकले ०.०१ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन्।
अर्कोतर्फ, बैशाखको तुलनामा ब्याजदर बढाउनेमा सानिमा बैंक, नेपाल बैंक र एभरेष्ट बैंक रहेका छन्। सानिमा बैंकले सबैभन्दा बढी ०.३८ प्रतिशतविन्दुले ब्याजदर वृद्धि गरेको छ। एभरेष्ट बैंक र नेपाल बैंकले क्रमशः ०.०३ प्रतिशतविन्दुले ब्याजदर बढाएका छन्।
संस्थागत निक्षेपको हकमा पनि औषत ब्याजदरमा सामान्य वृद्धि देखिएको छ। बैशाखमा ४.३६६५ प्रतिशत रहेको यो औषत जेठमा ४.३९ प्रतिशत पुगेको छ, जुन ०.०२३५ प्रतिशतविन्दुको वृद्धि हो।
प्रतिक्रिया