आइतबार, ३ असार २०८१

उदिपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन : तीन अर्बको परियोजना छ वर्षमा पनि भएन पूरा

समयपोष्ट २०८१ जेठ ८ गते ९:५६

Advertisement

सामाजिक समस्या तथा जङ्गल कटानीलगायत कारणले निर्माणाधीन दुई सय २० केभी उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइनको काम ठप्प प्रायः छ । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य निर्धारण भएको तीन अर्ब लागतको परियोजनाको काम छ वर्षमा पनि पूरा भएको छैन ।

हालसम्म ७० प्रतिशतमात्र निर्माण सम्पन्न भएको परियोजनाको उदिपुर–भरतपुर डिभिजन प्रमुख नारायण रेग्मीले बताउनुभयो । दुई सय २० केभी उदिपुर–मार्कीचोक–भरतपुर ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण सन् २०१८ जनवरी १७ देखि थालिएकामा कारोना महामारी र बन कटानीलगायत कारणले पूरा हुन नसकेको उहाँको तर्क छ ।

विसं २०८१ साउन १५ गतेभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीको म्याद थपिएको छ । आयोजनाकाअनुसार लमजुङको उदिपुरबाट चितवनको भरतपुरसम्म ६७ किलोमिटर प्रसारण लाइन पुर्याउनका एक सय ९९ वटा टावर आवश्यक पर्नेछन् । हालसम्म एक सय २० टावरको फाउण्डेशन तयार भएको छ । गोरखा र तनहुँमा गरी १० हजार दुई सय २५ वटा रुख फडानीको तयारी भएको डिभिजन प्रमुख रेग्मीले बताउनुभयो । लमजुङमा निर्माण हुने ४५ वटा टावरमध्ये ३२ सम्पन्न भइसकेका छन् ।

मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको स्वीच यार्डसम्म लाइन पुर्याउन छ किलोमिटरसम्म यही प्रसारण लाइन प्रयोग भएको छ । उदिपुरबाट मध्यमस्र्याङ्दीसम्मको छ किलोमिटर खण्डमा १७ वटा टावर छन् ।रासस

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री