सोमबार, ७ जेठ २०८१

सुनकोशी-मरिण डाइभर्सन आयोजनाको सुरुङ आज ब्रेक थ्रु

समयपोष्ट २०८१ वैशाख २६ गते ११:१४

Advertisement

सुनकोशी-मरिण डाइभर्सन आयोजनाको सुरुङ आज ब्रेक थ्रु हुँदै छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सुरुङ ब्रेक थ्रु गर्न लागिएको हो । त्यसका लागि प्रधानमन्त्री प्रचण्ड मंगलबार साँझै सिन्धुली पुगिसकेका छन् । कार्यक्रममा प्रधानमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री वर्षमान पुनलगायत विशिष्ट व्यक्तिहरु सहभागी हुनेछन् ।

रामेछाप र सिन्धुलीका सङ्घीय तथा प्रदेश सांसद, राजनीतिक दलका नेताहरु, सरोकार भएका सबै व्यक्तिलाई कार्यक्रममा आमन्त्रण गरिएको आयोजनाले जनाएको छ ।

यस्तै, अटोमेटिक टनेल बोरिङ मेसिन निर्माण कम्पनी रोबिन्सन, निर्माण व्यवसायी चाइना ओभरसिज इन्जिनियरिङका उच्च अधिकारी र यहाँस्थित विभिन्न मुलुकका राजदूत पनि कार्यक्रममा सहभागी हुनेछन् ।

Advertisement

२०७७ साल फागुन २० गते कमलामाइ नगरपालिका-२ को कसुमटारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भइ आयोजना निर्माणको थालनी भएको थियो । प्राप्त बजेटबाट सुरुङ निर्माणदेखि सुनकोसीमा बाँध निर्माण, विद्युत गृह, सिँचाइ, सामाजिक लगायतका काम भएको आयोजनाले जनाएको छ । सुनकोसी र तामाकोसीको संगमस्थल भन्दा ९ सय मिटर तल कानढुंग्रीमा सुनकोसीमा बाँध बाध्नका लागि ठेक्का सम्झौता भइ निर्माण व्यवसायीले काम सुरु गरिसकेका छन् ।

सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले टनेल बोरिङ मेसिनले सुरुङ खनेको हो । सुरुङ खन्न मात्रै चाइना ओभरसिज कम्पनी कोभेकले १० अर्ब ५ करोड ६८ लाख ३७ हजारमा ठेक्का सकारेको थियो ।

१५ अर्ब ५९ करोड ४० लाख रुपैयाँको सुरुङ निर्माण कोभेकले ३६ प्रतिशत घटेर ठेक्का लिएको हो । सुनकोसीमा बाँध निर्माण लगायतका कामको १७ अर्ब ७५ करोड रुपैयाँको ठेक्का रमण–पटेल जेभी उपक्रमले ३२ प्रतिशत घटेर १२ अर्बमा सकारेको छ । नदीमा बाँध बाँधेर सुनकोसीको पानी मरिणखोलामा खसाली मधेश प्रदेशका पाँच जिल्लामा वर्षैभरि सिँचाइ तथा विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनसँगै वाग्मती सिँचाइ आयोजनाको पूर्वाधारहरु प्रयोग गरेर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाई सुविधा पुर्‍याउने रहेको छ । आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड रहेको छ । २०८४ सालको असोजमा सो आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री