शुक्रबार, १४ वैशाख २०८१

एकैपटक ४० आरोही सगरमाथाको शिखरमा, दुवै खुट्टा नभएका पनि पुगे

समयपोष्ट २०७५ वैशाख ३१ गते १४:५२

–रमेश लम्साल,सिबी अधिकारी

Advertisement

आज एकैपटक ४० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् ।

यस वर्षको आरोहण शुरु भएको आज दोस्रो दिन एकैपटक ४० आरोही विश्वकै सर्वोच्च शिखरमा पुगेका हुन् ।

सगरमाथा आधार शिविरमा रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार स्वदेशी तथा विदेशी नागरिकले आरोहण सम्पन्न गरेका छन् ।

“हामीलाई प्राप्त जानकारीअनुसार ४० आरोहीले सर्वोच्च शिखरको आरोहण गरेको पुष्टि भएको छ, थप केही आरोही पनि शिखरमा पुगेको सूचना आए पनि पुष्टि भइसकेको छैन”, सम्पर्क अधिकृत श्रेष्ठले भन्नुभयो ।

अनुकूल मौसमको पर्खाइमा क्याम्प चारमा मात्रै १५० आरोही रहेका छन् । त्यस्तै केही आरोही भने सगरमाथा आधार शिविरमा नै रहेका छन् ।

दुवै खुट्टा नभएका चिनियाँ आरोही शिखरमा

सम्पर्क अधिकृत श्रेष्ठका अनुसार दुवै खुट्टा नभएका ७० वर्षीय चिनियाँ नागरिक सिए बोयोले आज बिहान सगरमाथाको शिखरमा पाइला टेक्नुभएको हो ।

इमाजिन टे«क्स एण्ड एस्पिडिसन प्रालिकातर्फबाट आरोहण गर्नुभएका चिनियाँ नागरिक विगत ४० वर्षदेखि सगरमाथाको आरोहण गर्ने प्रयासमा हुनुहुन्थ्यो । उहाँसँगै सात चिनियाँ आरोहीले आजै सफल आरोहण गर्नुभएको हो ।

चिनियाँ टोलीसँगै नेपाली शेर्पा आरोही ताम्तिङ शेर्पा, किली पेम्बा शेर्पा, आङ्छिरिङ शेर्पा, टेण्डी शेर्पा र दावा ग्याल्जेन शेर्पाले पनि आजै आरोहण गर्नुभएको छ ।

सन् २०१५ मा पनि आरोहणमा लागि पग्नुभएको बोयो भूकम्पका कारण आरोहण परित्याग गरी फर्कनुभएको थियो ।

शारीरिकरुपमा कमजोर भएका नागरिकले सगरमाथा आरोहण गरेको यो पाँचौँ उदाहरण हो । यसअघि न्यूजील्याण्डका मार्क इनलिसले तिब्बती मोहडाबाट सगरमाथाको आरोहण गर्नुभएको थियो ।

एकै मौसममा दुई आरोहणको कीर्तिमान

सम्पर्क अधिकृत श्रेष्ठका अनुसार यस ऋतुमा नेपाली महिला आरोही निमा जाङ्मु शेर्पाले सगरमाथा र ल्होत्सेको आरोहण गरेर कीर्तिमान कायम गर्नुभएको छ ।

शेर्पाले यही वैशाख १६ गते ल्होत्सेले सफल आरोहण गर्नुभएको थियो । उहाँले आजमात्रै सगरमाथाको आरोहण सम्पन्न गर्नुभएको हो ।

यस वर्ष चार नेपालीसहित ३८ आरोहण दलका ३६४ आरोही गन्तब्यतर्फ लागेका छन् । यसमध्ये चार समूहमा २० जना नेपाली छन् ।

अघिल्लो वर्षको वसन्त ऋतुमा ४३ वटा समूहका ३६६ स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए । सन् २०१६ मा ३८ वटा समूहका ३०० भन्दाबढी आरोहीले सगरमाथाको चुचुरो चुमेका थिए ।

अहिले अनुकूल मौसमका लागि धेरै आरोही प्रतिक्षामा छन् । बेस क्याम्पभन्दा माथि २०० भन्दाबढी आरोही रहेको र आज राति झण्डै १५० आरोही चुचुरोमा पुग्ने अनुमान गरिएको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

“धेरै आरोही सगरमाथाको चुचुरो नजिक क्याम्प ४ मा छन्, मौसम अनुकूल भए आज सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम हुने सम्भावना छ”, उहाँले भन्नुभयो ।

आइतबार मात्रै शेर्पा आरोहीमा पासाङ तेञ्जिङ शेर्पा, पासदावा शेर्पा, लाक्पा तेन्डी शेर्पा, जीनजेन लामा, सिद्धिबहादुर तामाङ, पेम्बाछिरि शेर्पा, तेञ्जिङ ग्याल्जेन शेर्पा र डेटुक भोटे रहनुभएको थियो ।

हिमालयन गाइड नेपाल ट्रेक एण्ड एक्सपिडिसन प्रालिबाट गएका आठ शेर्पा चुचुरोमा पुगेका हुन् । गत वर्ष बाटोका कारण आरोहणमा केही ढिलाइ भए पनि यो वर्ष समयमै बाटो खुलेकाले आरोहण उत्साहपूर्ण रहने जनाएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री