बुधबार, १२ वैशाख २०८१

मोदीको भ्रमणका क्रममा काठमाडौंका कुन–कुन सडक हुँदैछ बन्द ?

समयपोष्ट २०७५ वैशाख २८ गते ५:२६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज हुने नेपाल भ्रमणका क्रममा राजधानीका केही सडक १० देखि १२ मिनेटसम्म बन्द हुने भएका छन् ।

Advertisement

आज दिउँसो मोदी काठमाडौं आएपछि उनी सवार हुने स्थान तथा बासस्थानमा जाने सडक मार्ग १० देखि १२ मिनेटसम्म बन्द गरिने भएका हुन् ।

जनकपुरको कार्यक्रम सकिएसँगै मोदी दिउँसो करीब १ बजे काठमाडौं उत्रने छन् । त्यसपछि उनी चुच्चेपाटीमा रहेको होटल हायत तर्फ जाने छन् । त्यसक्रममा उनी विमानस्थलबाट निस्कनु भन्दा केही समय अघिदेखिनै उक्त सडक खण्डका सवारी आवागमन बन्द हुनेछ ।

तिनकुने तर्फबाट सिनामंगाल, एयरपोर्ट, गौशाला, चावहिल, बौद्ध, जोरपाटी लगायका स्थानमा मोदी विमानस्थलमा अवतरण गर्नुपूर्व नै सवारी आवागमन बन्द हुनेछ । मोदीलाई सरकारले विशेष सत्कार गर्दै छ उनलाई टुँडिखेलमा दिउँसो चार बजे गार्ड अफ अनर प्रदान गर्ने कार्यक्रम रहेको छ ।

त्यसका लागि चाबहिल गौशाला, तिनकुने, बानेश्वर, माइतिघरको सवारी प्रभावित हुने छ । चार बजे उनी सैनिकमञ्च टुँडिखेल जानुभन्दा करीब एक घन्टा अगाडी उक्त सडक खण्डमा सवारी खाली गरिने छ । गार्ड अफ अनर लिएसँगै मोदी उपराष्ट्रपति नन्दबहादुर पुनसँ भेटवार्ताका लागि कान्तिपथ जानेछन् । उक्त सयममा रत्नपार्क, जमल, दरबारमार्ग, लैनचउर लगायतका स्थानका सडक वन्द हुने छ ।

उपराष्ट्रपतिसँगको भेटवार्तापछि मोदी राष्ट्रपति विद्या भण्डारीसँगको भेटवार्ताका लागि शीतलनिवास जानेछन् । त्यसक्रममा लैनचउर, महाराजगञ्ज, चक्रपथ क्षेत्रमा सवारी आवागमन बन्द हुनेछ ।

राष्ट्रपतिसँगको छलफल सकिएसँगै मोदी पुरानो वानेश्वरमा रहेको होटल द्वारिकाजमा जानेछन् । त्यसक्रममा पनि गौशाला, चावहिलदेखि पुरानोवानेश्वर आसपासको क्षेत्रको सवारी अस्तव्यस्त हुने छ । उनी कार्यक्रमस्थल पुगेपछि भने सडक खुल्दै जाने महाशाखाले जनाएको छ । त्यसका लागि सम्पूर्ण ट्राफिक व्यवस्था तयार पारिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री