मंगलबार, ११ वैशाख २०८१

पूर्वमिस नेपाल माल्भिका सुब्बालाई बलात्कारको धम्की

समयपोष्ट २०७९ जेठ ५ गते १६:०८

Advertisement

पूर्वमिस नेपाल माल्भिका सुब्बाले  यौन उत्पीडनमा परेको बताउँदै सहयोग मागेकी एक युवतीलाई बेवास्ता गरेकोमा गल्ती स्वीकार्दै क्षमायाचना गरेकी छन् । ती युवतीले सामाजिक सञ्जालमार्फत आफ्नो कथा सुनाएपछि माल्भिकाको आलोचना भएको थियो ।

सन् २०१४ मा आयोजित एउटा सौन्दर्य प्रतियोगिताका आयोजकले आफूलाई ६ महिनासम्म बलात्कार गरेको भन्दै पीडित युवतीले इन्स्टाग्राममा हालेको श्रृंखलाबद्ध भिडियो अहिले भाइरल भइरहेको छ । ती युवतीले आफू पीडित भएको भन्दै न्यायका लागि माल्भिकासँग सहयोग माग्दा उनी पन्छिएको आरोप लगाएकी छन् । यस विषयमा प्रस्टीकरण दिँदै माल्भिकाले गल्ती स्वीकारेकी हुन् ।

आफूलाई ती युवतीले फोन गरेर सहयोग मागेको माल्भिकाको स्वीकारोक्ति छ । उनले लेखेकी छन्, ‘म कुनै बहानाबाजी गर्दिनँ । मलाई पूरा विवरण याद छैन । तर, यो सम्झिएकी छु कि तिमीले मलाई कल गरेकी थियौ र दुर्व्यवहार गरिएको विषयमा कुरा गर्न खोजेकी थियौ । तर, ‘बलात्कार’ शब्द नै प्रयोग गरेको याद छैन । म यो पनि सम्झिन्छु कि तिमीलाई मेरो आवश्यकता परेको बेलामा मैले सहयोग गरिनँ । यो अक्षम्य छ र मैले तिमीबाट माफीको अपेक्षा गरेको छैन । तर, म तिमीलाई यो थाहा दिन चाहन्छु कि मैले तिम्रो कुरा राम्ररी नसुनेकोमा, तिमीलाई विश्वास नगरेकोमा र तिमीलाई सहयोग नगरेकोमा अत्यन्तै ग्लानी महसुस गरेकी छु । तिमीले मसँग रिसाउने सबै कारणहरु छन् र मैले जेजस्तो घृणाहरु पाइरहेकी छु, त्यसको म हकदार छु ।’

माल्भिकाका अनुसार ती युवती अफेयरमा रहेको उनले हल्ला सुनेकी थिइन् ।

उनले लेखेकी छन्, ‘मैले महसुस गर्नुपर्थ्याे कि जब मैले हल्लाहरु (उनीहरु अफेयरमा छन् भन्ने) सुन्न थालेँ, त्यसबेला तिमी केवल १६–१७ वर्षकी थियाै । मैले आयोजकहरुसँग कुरा गर्नुपर्थ्याे र दृढ अडान लिनुपर्थ्याे । तर, मैले त्यसो नगर्ने निर्णय लिएँ ।’

उनले त्यसबेला आफ्नो मानसिक स्वास्थ्य राम्रो अवस्थामा नरहेको उल्लेख गरेकी छन् । यद्यपि यसलाई बहाना नबनाउने माल्भिकाको भनाइ छ ।

‘म आफै डिप्रेसनसँग लडिरहेको थिएँ, त्यसबेला मैले आफ्नो स्वास्थ्यलाई प्राथमिकतामा राखेर यो केसमा संलग्न नहुने निर्णय लिएँ । अहिले मैले महसुस गरेको छु कि यदि म संलग्न भएको भए मेरो मानसिक स्वास्थ्यलाई थोरै असर पर्थ्याे होला । तर, उनको लागि ठूलो मद्दत हुन्थ्यो । मैले त्यो समयमा आफूसँग त्यस्तो क्षमता रहेको महसुस गर्न सकिनँ ।’

अब आफूले आफैलाई पहिलेको नजरमा हेर्न नसक्ने उनले बताएकी छन् । ‘तिम्रो पोष्टहरु हेरेपछि सबै कुराका लागि म जिम्मेवार छु भन्ने महसुस भएको छ र मैले आफूलाई कहिल्यै माफी दिने छैन’, माल्भिकाले भनेकी छन् ।

उनी थप लेख्छिन्, ‘त्यो प्रतियोगितापछि पीडितले अहिले बताएकोभन्दा फरक कुरा सुनेको थिएँ र त्यसमा विश्वास गरेँ । त्यसपछि मैले प्रतियोगिता आयोजकसँग सबै सम्बन्ध तोडेँ ।’

आफूलाई अहिले फोन र म्यासेजमा विभिन्न खाले धम्कीहरु आइरहेको र त्यसको पनि आफू हकदार रहेको माल्भिकाले बताएकी छन् ।

‘मलाई घृणाका सन्देशहरु आइरहेका छन् । ज्यान मार्नेदेखि बलात्कार गर्नेसम्मका धम्कीहरु आइरहेका छन् र सायद त्यसको म हकदार छु । यदि तपाईंहरु म यो अवस्थाबाट बाहिर ननिस्केको हेर्न चाहनुहुन्छ भने सायद म त्यसको पनि हकदार छु’, माल्भिकाले भनेकी छन् ।

उनले अब लैंगिक समानता र महिला अधिकारसँग सम्बन्धित कुनै पनि कार्यक्रममा भाग नलिनेसमेत बताएकी छन् ।

https://www.facebook.com/malvika.subba.7/posts/10160292708752090

प्रतिक्रिया

सम्बन्धित सामाग्री