शुक्रबार, १४ वैशाख २०८१

यो विपतमा उठेनन् सहयोगी हात

समयपोष्ट २०७८ जेठ २ गते ६:४५

Advertisement

विगतमा बाढी, पहिरोजस्ता प्राकृतिक विपत्ति होस् वा भूकम्प, नाकाबन्दी होस् वा अन्य कुनै दैवी प्रकोप। हरेक विपत्तिमा उद्योगी, व्यवसायी स्वयं सघाउन अग्रसर हुन्थे। राहतका सामानदेखि नगद सहयोग गर्नेको लर्को लाग्थ्यो। अहिले मुलुक कोभिड १९ को दोस्रो लहरले आक्रान्त छ। अस्पतालमा अक्सिजन र शय्या नपाएर संक्रमितले ज्यान गुमाइरहेका छन्। कोरोना संक्रमितको स्वास्थ्य परीक्षणदेखि उपचार व्यवस्थापन गर्न अस्पताल तथा राज्यलाई सकस परिरहेको छ।

विगतमा अप्ठेरो अवस्थामा सहयोगका लागि उत्साहित हुने उद्योगी, व्यवसायीले कोभिड महामारीमा भने अपेक्षित अग्रसरता देखाएका छैनन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्सजस्ता निजी क्षेत्रका संस्था र केही व्यापारिक घरानाले सहयोगका हात अगाडि बढाए पनि अधिकांश कर्पोरेट हाउसका सञ्चालक भने चुपचाप छन्। संस्थामार्फत् बाहेक विपत्मा देखिने गरी एक दर्जन व्यवासायीले पनि सहयोग गरेको देखिएको छैन।

कोभिड महामारीले मुलुकमा स्वास्थ्य संकट सिर्जना भएका बेला निजी क्षेत्रले सोचेजस्तो सहयोग नगरेको पूर्वअर्थसचिव शान्तराज सुवेदी बताउँछन्। ‘कोभिडका कारण उद्योगी, व्यवसायी पनि समस्यामा छन्,’ उनले भने, ‘सक्ने व्यापारिक घरानाले पनि मुठी खोलेको देखिएन।’ स्वास्थ्य सामग्री, उपकरणलगायत वस्तु सहयोग गर्न सक्ने व्यवसायीले पनि खासै अग्रसरता नदेखाएको उनी बताउँछन्। ‘उद्योगी, व्यवसायीले सधैं राज्यबाट छुट र सुविधा मात्र खोज्ने होइन,’ उनले भने, ‘नागरिकलाई अप्ठेरो परेका बेला सामाजिक उत्तरदायित्व पनि पूरा गर्नुपर्छ।’

निजी क्षेत्रले चाहे काठमाडौं, विराटनगर, वीरगन्ज, नेपालगन्ज, बुटवल, पोखरालगायत ठूला सहरमा आइसोलेसन सेन्टर सञ्चालन गर्न सक्ने सुवेदीको तर्क छ। सम्बन्धित ठाउँका उद्योगी, व्यवसायीका छाता संस्थाको नेतृत्वमा यस्ता सेन्टर सञ्चालन गर्न सकिन्छ। ‘आर्थिक सहयोग मात्र होइन, उपचारमा विभिन्न तरिकाले सघाउन सकिन्छ,’ उनले भने, ‘तर, अहिले ठूलो सहयोग देखिएन। नगन्य मात्र भयो।’

मुलुकको कानुनले उद्योगी, व्यवसायीदेखि बैंक तथा वित्तीय संस्थाले नाफाको एक प्रतिशत रकम सिएसआर (कर्पोरेट सोसियल रेस्पोन्सबिलिटी) मार्फत् खर्च गर्नुपर्ने नीतिगत व्यवस्था गरेको छ। मुलुकका वाणिज्य बैंकहरूले यो वर्ष गरेको नाफालाई हेर्दा सिएसआरअन्तर्गत ५० करोड रूपैयाँभन्दा बढी खर्च गर्नुपर्नेछ। केही बैंकले महामारीका बेला सहयोग गरे पनि धेरैको ध्यान यता जान सकेको छैन।

कोभिडका कारण व्यापार, व्यवसाय ठप्प भएकाले सहयोग गर्न नसकेको भन्ने एकथरी व्यवसायीको तर्क छ। महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल अन्य विपत्मा जस्तै उद्योगी, व्यवसायी बाहिर निस्केर सहयोग गर्ने अवस्था नरहेको बताउँछन्। ‘निजी क्षेत्रले धेरै सहयोग गरिरहेकै छ’, ढकालले भने, ‘अहिलेको परिस्थिति अलि कठिन भएकाले बाहिर निस्केर सहयोग गर्न अप्ठेरो भएको हो।’

उद्योगी, व्यवसायीले सहयोग गरेर नै महासंघले दुई सयजना अट्ने क्षमताका तीनवटा आइसोलेसन सेन्टर बनाएको उनले जानकारी दिए। कर्पोरेट हाउसहरूले आफ्नो क्षेत्रबाट सहयोग गरिरहेको र आगामी दिनमा पनि गर्दै जाने ढकाल बताउँछन्। महासंघले सञ्चालनमा ल्याएको आइसोलेसन सेन्टरमा भने त्यसका पदाधिकारीले व्यक्तिगत रूपमा लगानी गरेका हुन्।आजको नागरिक दैनिकमा प्रकाशित यो समाचार दिलीप पौडेलले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री