विवाह मण्डमा बसिरहेकी बेहुलीलाई मण्डमै श्वास फेर्न गाह्रो भएपछि…

सरकारले कोरोना महामारीकाबीच पनि बिहेको अनुमति दिइरहेकै बेला बिहे र जात्राामा सरिक तीन युवतीको संक्रमणबाट मृत्यु भएको छ। राजधानीका कोभिड उपचारमा सलग्न अस्पतालका अनुसार उनीहरूको कोरोनाका कारण निमोनिया भएपछि मृत्यु भएको हो।

Advertisement

अस्पतालका अनुसार वैशाख १० मा विवाह मण्डमा बसिरहेकी तारकेश्वर–७ की २६ वर्षीय बेहुलीलाई मण्डमै श्वास फेर्न गाह्रो भएपछि बिपी स्मृति अस्पतालमा उपचारको लागि लगिएको थियो। अस्पतालमा डेढ घण्टा अक्सिजन दिएर उपचार गरेपछि पुनः मण्डमै पुर्‍याएर विवाह सम्पन्न गरियो। श्वास–प्रश्वासमा झनै कठिनाइ भएपछि विवाहको भोलिपल्ट ११ गते पुनः सोही अस्पतालमा उपचारको लागि लगिएको थियो।

वार्डमा दुई दिन राखेर अक्सिजन तथा अन्य उपचार गरे पनि स्थिति थप गम्भीर भएपछि तेस्रो दिन आइसियुमा भर्ना गरिएको थियो। आइसियुमा चार दिनको उपचारपछि भेन्टिलेटरमा उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालका प्रशासक मधु मिश्रले बताए। उनीसहित उनकी बहिनीमा पनि संक्रमण भएकोमा अहिले सुधार भएको अस्पताल स्रोतले जनाएको छ।

वैशाख ११ मै विवाह सम्पन्न भएकी भक्तपुर सुंडालकी २३ वर्षीया बेहुलीको वैशाख २० गते मृत्यु भएको छ। उनलाई बिहेकै भोलिपल्ट श्वास–प्रश्वासमा समस्या भएपछि अस्पताल पुर्‍याइएको थियो। उनको भक्तपुरको कोरोना अस्पतालमा उपचारका क्रममा भेन्टिलेटरमा मृत्यु भएको हो। कोरोना संक्रमणको कारण गम्भीर निमोनिया भएपछि उनको मृत्यु भएको उपचारमा संलग्न चिकित्सक फिजिसियन सुनिल ढुंगेलले बताए। उनलाई वैशाख १२ गते यो अस्पताल भर्ना गरिएको थियो। अस्पतालका अनुसार गम्भीर निमोनिया भएका थप ५ जना युवा उमेरका छन्। उनीहरू मध्येमा ३ जना आइसियु चाहिने अवस्थाका छन्। मृतक दुवै बेहुलीमा कुनै दीर्घरोग नरहेको र कोरोना संक्रमणको कारणले मात्र मृत्यु भएको चिकित्सकले बताएका छन्।

गत चैत ३० गते दोलखा भिमेश्वरबाट भक्तपुर माइत आएकी २९ वर्षीया महिलाको पनि कोरोना संक्रमणको कारण वैशाख १७ गते भक्तपुरकै इन्टरनेसनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उनको आफन्तका अनुसार युवती भक्तपुरको जात्रामा सरिक भएकी थिइन्। जात्रामा सरिक भएपछि उनलाई गर्मी हुने, मुख सुक्ने जस्ता समस्या देखिए। उनी भक्तपुरमा सन्चो नभएको भन्दै दोलखा गइन्। घर गएपछि पनि स्वास्थ्यमा समस्या देखिएपछि चरिकोटको छोरोल्पा अस्पतालमा सामान्य उपचारपछि घरमै फिर्ता पुर्‍याइयो। फेरी बिरामी परेपछि स्थानीय स्वास्थ्यचौकीमा र स्वास्थ्यचौकीबाट काठमाडौंको कौशलटारस्थित इन्टरनेसनल अस्पतालमा भर्ना गरियो। अस्पतालमा दुई/तिन दिनको उपचारपछि भेन्टिलेटरमै उनको मृत्यु भएको आफन्तले बताएका छन्। माइतमा उनी भन्दा पहिल्यै बुवामा कोरोना संक्रमित भएपछि उनलाई वीर अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको जनाइएको छ। आजको नागरिक दैनिकमा प्रकाशित यो समाचार पवित्रा सुनारले लेखेकी छिन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री