शनिबार, १५ वैशाख २०८१

जब अध्याँरोमा जून देखियो

समयपोष्ट २०७७ जेठ १० गते ७:४३

Advertisement

रमजानको अन्तिम शुक्रबार । इदको पूर्वसन्ध्यामा नमाज पढ्न उनी घरमै आइपुगे । नेपालगन्ज–८ का ३० वर्षीय उनले खजुरास्थित कोरोना अस्पतालको आइसोलेसन कक्षमा नमाज पढेनन् । रोजा पनि बसेनन् । नेपालगन्ज–७ का ६० वर्षीय व्यक्तिसँगै उनका भान्जा मदरसामा पढ्न जान्थे ।

नेपालगन्जमा पहिलोपटक ती वृद्धमा संक्रमण पुष्टि भएको थियो । वृद्धको सम्पर्क पहिल्याउँदै जाँदा उनीसमेत भान्जा, उनकी आमा र बहिनीमा संक्रमण देखियो । आइसोलेसन सेन्टरमा तीन साता सकसपूर्ण तरिकाले बिताए । शारीरिक रूपमा ठिकै भए पनि मानसिक रूपमा ‘गलेको’ उनले बताए । ‘मनमनै डर लागिरहेको थियो,’ उनले भने, ‘आफ्नो भन्दा परिवारको चिन्ता बढी थियो ।’ घरमा बहिनी एक्लै थिइन् ।

चिकित्सकले आएर बिहीबार राति ‘अब तपाईं घर फर्कंदै हुनहुुन्छ’ भनेपछि उनी रातभरि सुत्न सकेनन् । टोलमा फर्किएपछि स्थानीयको स्वागतले झन् उत्साहित तुल्यायो । ‘कुनै युद्ध जितेर आएजस्तो लाग्यो,’ उनले भने, ‘हुन त कोरोनालाई जितेर आएको हुँ ।’ दैनिक मजदुरी गरेर परिवारको गुजारा चलाइरहेका थिए । घर आएपछि परिवार कसरी चलाउने भन्ने चिन्ता लागेको छ । ‘काम गर्ने मान्छे कोठाभित्र थुनिएर बस्नु परेको थियो,’ उनले भने, ‘अहिले सबै जना निको भएर आयौं, खुसी लागेको छ ।’

चिकित्सकले दुई सातासम्म घरभित्रै बस्न सल्लाह दिएका छन् । घरमा के गर्ने ? के नगर्ने सम्पूर्ण कुरा सम्झाएर पठाएका छन् । ‘सामाजिक दूरीमा ध्यान दिन भन्नुभएको छ,’ उनले भने, ‘आफूलाई बचाउन आफैंले सावधानी अपनाउनुबाहेक विकल्प रहेनछ ।’

उनीहरू आउँदो आइतबार वा सोमबार इद मनाउँदै छन् । ‘सायद आइतबार नै इदको सम्भावना छ,’ हल्का मुस्कानमा उनले भने, ‘हामीले आजै चाँद देख्यौं ।’

नेपालगन्ज–८ का ५७ वर्षीय वृद्धले २० दिनसम्म घामको झुल्को देख्न पाएनन् । शुक्रबार कोरोना जितेर सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाहिर जेठको गर्मी पनि उनलाई न्यानो लाग्यो । ‘आज तो धुप भी अच्छा लगा,’ उनले भने, ‘जीवन मे नयाँ अनुभव हुवा ।’ संक्रमण पुष्टि भएपछि आत्तिएका थिए । अस्पतालमै थलिने चिन्तामा थिए । छोरी र पत्नीसहित कोरोना अस्पतालमा तीन साता बिताएका नेपालगन्ज–८ का ३७ वर्षीयले आइसोलेसनमा खान, बस्न र दिन बिताउन सहज वातावरण रहेको सुनाए । आफू सुरुमा निराश रहेको उनले बताए । ‘आइसोलेसनमा बस्नु भनेको आफू पनि सुरक्षित हुनु र अरूलाई पनि बचाउनु रहेछ,’ उनले भने, ‘आज निको भएर घर फर्किन पाउँदा ठूलो युद्ध जितेको महसुस भएको छु ।’ आजको कान्तिपुरमा प्रकाशित यो समाचार ठाकुरसिंह थारु, रुपा गहतराजले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री