शनिबार, ३ साउन २०८२

सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति

समयपोष्ट २०८२ वैशाख १७ गते २१:२७

नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र शिक्षक महासंघका प्रतिनिधिहरूबीच भएको वार्तापछि यो सहमति भएको हो। सहमतिका बुँदाहरू मन्त्रिपरिषद्बाट पारित भएसँगै कार्यान्वयनको चरणमा प्रवेश गरेका छन्।

९ बुँदे सहमतिका प्रमुख बुँदाहरू:

१. शिक्षकको स्वास्थ्य उपचार: काठमाडौंस्थित निजामती अस्पतालमा सबै शिक्षक र विद्यालय कर्मचारीलाई सहुलियतमा उपचार सुविधा उपलब्ध गराइने।
२. बिरामी बिदा सञ्चय: अस्थायी, राहत, साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बाल विकास सहजकर्ताले बिरामी बिदा सञ्चय गर्न पाउने र अवकाशमा एकमुष्ट रकम प्राप्त गर्ने।
३. पारिश्रमिक व्यवस्था: प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक नेपाल सरकारले तोकेबमोजिम व्यवस्था गरिने।
४. ग्रेड सङ्ख्या र रकम: आर्थिक वर्ष २०८२/८३ देखि प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका स्थायी शिक्षकलाई निजामती सरह ग्रेड सङ्ख्या र रकम कायम गरिने।
५. दुर्गम भत्ता: स्थायी र अस्थायी (राहत, करार, साविक उमावि, प्राविधिक धार, विशेष शिक्षा) सबै शिक्षकले प्रचलित कानुनअनुसार दुर्गम भत्ता पाउने।
६. सामाजिक सुरक्षा: सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षक र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गरिने।
७. मर्यादाक्रममा समावेश: शिक्षकहरूलाई नेपाल सरकारको मर्यादाक्रम सूचीमा समावेश गरिने।
८. निःशुल्क उपचार: शिक्षक महासंघको आन्दोलनमा घाइते भएका शिक्षक, सुरक्षाकर्मी, कर्मचारी र पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिने।
९. तलब समायोजन: निम्न माध्यमिक तनिम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब र ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह कायम गरिने।

प्रतिक्रिया

सम्बन्धित सामाग्री