
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता ज्ञानेन्द्र शाहीले माओवादी जनयुद्धका कारण भएको भौतिक क्षतिको जिम्मेवारी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिनुपर्ने बताएका छन्। उनले जनयुद्धको नाउँमा देशले बेहोरेको ठूलो क्षतिपूर्ति प्रचण्डको सम्पत्तिबाट असुल्नुपर्ने माग गरेका छन्।
आज काठमाडौंमा आयोजित राप्रपाको आमसभामा बोल्दै शाहीले भने, ‘१० वर्षको युद्धमा देशले १ खर्ब ३० अर्ब बराबरको भौतिक सम्पत्ति गुमायो, जुन आजको मूल्यमा ५ खर्ब हुन्छ। त्यसमा ब्याज जोड्दा झन् धेरै हुन्छ। यो सम्पूर्ण रकम प्रचण्ड र माओवादी पार्टीले तिर्नुपर्छ।’
शाहीको आरोप छ कि जनयुद्धको नाममा गरिएको विद्रोहले देशलाई भौतिक मात्र होइन, आर्थिक, सामाजिक र औद्योगिक हिसाबले पनि तहसनहस बनायो। ‘११ सय ठूला–साना उद्योगहरू बन्द गरियो, एक लाखभन्दा बढी घरेलु उद्योग सखाप पारे, ६ लाखभन्दा बढी युवालाई विदेशिन बाध्य बनाइयो,’ उनले भने।
शाहीले प्रधानमन्त्री प्रचण्डमाथि आफ्ना नातेदारहरूलाई उच्च पदमा पुर्याउने आरोप पनि लगाए। ‘के परिवर्तन भयो? प्रचण्डकी बुहारी मन्त्री, छोरी मेयर, भाइ, ज्वाइँ, छोरो, नाति सबै पदमा छन्। यिनैको लागि ३०५ खर्ब, आजको मूल्यमा १५ खर्ब १५ अर्बको भौतिक क्षति व्यहोर्नुपर्यो,’ उनले भने।
त्यसैगरी, शाहीले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा गणतन्त्र र राजतन्त्रबारे गलत तथ्यांक प्रस्तुत गरेको आरोप लगाए। ‘२०४४ सालमा नेपालको प्रतिव्यक्ति आय १४६ डलर थियो भने चीनको २८४ डलर। आज चीनको प्रतिव्यक्ति आय २४ हजार ३६० डलर पुगेको छ भने नेपालको एक हजार ४५६ डलर मात्र। अहिले चीन नेपालभन्दा २२ हजार ९०४ डलरले धनी छ,’ उनले भने, ‘अनि देश कसले बर्बाद पारेन?’










प्रतिक्रिया