बुधबार, ९ जेठ २०८१

भारतद्वारा दार्चुलामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

समयपोष्ट २०८१ वैशाख ७ गते १८:२५

Advertisement

भारत सरकारको आर्थिक सहयोगमा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास तथा समुद्धघाटन सम्पन्न भएको छ ।

शुक्रबार व्याँस गाउँपालिकाका अध्यक्ष अध्यक्ष मंगल सिंह धामी र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव प्रशान्त कुमार सोनाले भारत सरकारको नेरु. २.८२ करोड आर्थिक सहयोगमा निर्माण हुने व्याँस गाउँपालिका–६ स्थित श्री हिमालय माध्यमिक विद्यालयको विद्यालय भवनको शिलान्यास गरे ।

त्यसैगरी ‘नेपाल–भारत विकास सहकायर्’ अन्तर्गत नेरु. ३.३७ करोडमा निर्माण गरिएको दुहुँ गाउँपालिकास्थित श्री जनविकास माध्यमिक विद्यालयको विद्यालय भवनको दुहुँ गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल र द्वितीय सचिव सोनाले संयुक्त रुपमा उद्घाटन गरे ।

Advertisement

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग व्याँस गाउँपालिकास्थित हिमालय माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले विद्यालय भवन, शौचालय, पर्खाल र प्रवेशद्वार निर्माणमा उपयोग गरिनेछ ।

त्यस्तै भारत सरकारको अनुदान सहयोग दुहुँ गाउँपालिकास्थित श्री जनविकास माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यी दुवै परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो । श्री हिमालय माध्यमिक विद्यालयका लागि परियोजनाको कार्यान्वयन व्याँस गाउँपालिकामार्फत गरिनेछ भने श्री जनविकास माध्यमिक विद्यालयका लागि परियोजनाको कार्यान्वयन दुहुँ गाउँपालिकामार्फत गरिएको हो । यी परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण दृष्टान्तको रुपमा रहेका छन् ।

कार्यक्रममा बोल्दै व्याँस गाउँपालिका र दुहुँ गाउँपालिकाका अध्यक्षले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गर्नुभयो ।

दार्चुलास्थित श्री हिमालय माध्यमिक विद्यालय र श्री जनविकास माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयका नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नेछ । साथै यस क्षेत्रको शिक्षाको विकासमा पनि योगदान पुर्याउनेछ ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४८९ वटा परियोजना सम्पन्न गरिसकेको छ । यी मध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेका छन् जसमा १० वटा परियोजना दार्चुलामा छन् । यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ जसमध्ये सुदूरपश्चिम प्रदेशलाई ६० वटा एम्बुलेन्स र २० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा ८ वटा एम्बुलेन्स र २ वटा स्कुल बस दार्चुला जिल्लालाई उपलब्ध गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री