बुधबार, १९ वैशाख २०८१

लुम्बिनी प्रदेश सरकारमा दोस्रो पटक मन्त्रिमण्डल विस्तार

समयपोष्ट २०८१ वैशाख ६ गते २०:०६

Advertisement

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मुख्यमन्त्री महराले सात जना विनाविभागीय मन्त्री थप गर्नुभएको हो । अब प्रदेशमा मुख्यमन्त्रीसहित ११ सदस्यीय मन्त्रिमण्डल बनेको छ ।

मुख्यमन्त्री महराले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम आज दुई चरणमा मन्त्रिपरिषद्मा सात जना थपेर ११ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरुमा नेकपा (एमाले)बाट भूमिश्वर ढकाल, अर्जुनकुमार केसी, दिनेश पन्थी र रत्नबहादुर खत्री विनाविभागीय मन्त्री हुनुहुन्छ । यस्तै नागरिक उन्मुक्ति पार्टीबाट धर्मबहादुर चौधरी, नेकपा (एकीकृत समाजवादी)का भगवती अधिकारी र प्रदेशसभामा स्वतन्त्र सदस्य खड्क बस्नेत पनि आजनै विना विभागीय मन्त्री नियुक्त हुनुभएको छ ।

नवनियुक्त मन्त्रीहरुलाई आज प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १७२ बमोजिम पद तथा गोपनीयताको सपथ गराउनुभयो ।

यसअघि मुख्यमन्त्री नियुक्तिसँगै चैत २५ गते नियुक्त भएका एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य, माओवादी केन्द्रका दीपेन्द्र पुन र जनता समाजवादी पार्टीका भण्डारीलाल अहिरलाई आज नै विभागीय जिम्मेवारी तोक्नुभएको छ । मुख्यमन्त्री सचिवालयका अनुसार आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, पुनलाई स्वास्थ्य र अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी तोक्नुभएको छ ।

Advertisement

आज बिहान ६ जना विनाविभागीय मन्त्री नियुक्त गरेको केही समयपछि मन्त्रालय थपेर मुख्यमन्त्री महराले प्रदेशसभामा एक जना मात्र सदस्य रहेको एकीकृत समाजवादीलाई आज नै दोस्रो पटक मन्त्री नियुक्त गर्नुभएको थियो । पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र गरी ४८ प्रदेशसभा सदस्यको समर्थनमा गत चैत २३ गते माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्री बन्नुभएको हो ।

सपथग्रहण कार्यक्रममा मुख्यमन्त्री महरा, मन्त्रीहरु, प्रदेशसभाका सभामुख तुलबहादुर घर्ती, पूर्वमख्यमन्त्री तथा एमाले संसदीय दलका नेता लिला गिरी, मन्त्री, विभिन्न दलका नेताहरु र उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री