मंगलबार, १८ वैशाख २०८१

सहजपुर–बिपीनगर–बोगटान सडक सरकारलाई हस्तान्तरण गरिँदै

समयपोष्ट २०८१ वैशाख ३ गते १३:१७

Advertisement

सहजपुर–बिपीनगर–बोगटान सडक चालु आर्थिक वर्षभित्रै नेपाल सरकारलाई हस्तान्तरण गरिने भएको छ । सो सडक कालोपत्र गर्ने काम सम्पन्न भएसँगै असारमसान्तभित्रै हस्तान्तरणको तयारी गरिएको हो ।

निर्माणाधीन सहजपुर–बिपीनगर–बोगटान सडकको ५० किलोमिटरमध्ये चुरे गाउँपालिका–१ शिवनगरमा तीन सय ५० मिटर विवादका कारण कालोपत्र हुन नसकेको पिएलआर–कुमार जेभीका आवासीय इञ्जिनियर पुष्पराज भट्टले बताउनुभयो ।

उहाँले चालु आर्थिक वर्षको असार मसान्तभित्रै उक्त सडक नेपाल सरकारलाई हस्तान्तरणका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको बताउनुभयो । कैलालीको सहजपुरदेखि डोटीको गाडेबाँजसम्म ५० किलोमिटरमध्ये तीन सय ५० मिटरबाहेक अरु सबै सडक कालोपत्र गर्ने काम पूरा भइसकेको इञ्जिनियर भट्टले जानकारी दिनुभयो ।

आयोजना कार्यालयले दिएको जानकारीअनुसार उक्त सडकखण्डमा सडक बोर्ड मार्किङ दुई महिनाभित्रै सम्पन्न गरिनेछ । उक्त सडकखण्डमा क्षेत्राधिकारको विवाद, रुख कटान अनुमतिमा ढिलाइ, चट्टान, कोरोना महामारीलगायत विभिन्न बाधा व्यवधानका कारणले सडक निर्माण अवधि लम्बिएको इञ्जिनियर भट्टको भनाइ छ ।

विसं २०७५ फागुनमा कैलालीको सहजपुरबाट डोटीको बढीकेदारसम्म ५० किलोमिटर सडक कालोपत्रका लागि ३६ महिनामा सडक निर्माणको काम पूरा गर्न ठेक्का सम्झौता भएको थियो । तर सम्झौताको पाँच वर्षपछि सडक निर्माणले पूर्णता पाएको कम्पनीले जनाएको छ । कैलालीको सहजपुरबाट डोटीको बडीकेदार गाडेबाँजसम्म ५० किमी सडक कालोपत्रका लागि २०१८ डिसेम्बर ५ म पिएलआर–कुमार जेभीसँग सम्झौता गरिएको थियो ।

सम्झौतानुसार सन् २०२१ जुन १७ मा सात मिटर चौडा कालोपत्र र कालोपत्रको दायाँबायाँ एक–एक मिटर सोल्जर (ग्राभेल) सडक निर्माण गरिसक्नुपर्ने हो । तर निर्माण कम्पनीले विभिन्न समस्या देखाउँदै निर्माण लम्बिँदै गएको जनाएको छ । एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा निर्माण भएको सो सडक आयोजनाको सम्झौता रकम रु एक करोड ९६ लाख ९३ हजार तीन सय १२ अमेरिकी डलर रहेको जनाइएको छ ।

विसं २०४३ देखि सहजपुर–बिपीनगर–बोगटान सडकको ट्रयाक खोल्ने काम सुरु गरिएको थियो । कैलालीको सहजपुरबाट सुरु भएको सडक डोटीको बिपीनगर, अत्तरकाँडा, सिमचौर, लाना, चवराचौतारा, गगुडा, तिखात्तर, रानागाउँ हुँदै राजपुर दिपायल जोडिनेछ ।

आयोजना कार्यालयले सहजपुर–बिपीनगर–बोगटान दीपायलसम्म सर्बे गर्ने क्रममा १०८ किलोमिटर सडकको लम्बाइ रहेको जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री