शुक्रबार, २१ वैशाख २०८१

लोककथा सङ्कलन गर्दै सुदूरपश्चिम विश्वविद्यालय

समयपोष्ट २०७९ चैत २८ गते ७:२५

Advertisement

सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथा सङ्कलन गरेर प्रकाशन गर्ने तयारी थालेको छ ।

विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले अन्य शैक्षिक र प्राज्ञिक गतिविधिमा यस क्षेत्रका भाषा, संस्कृति र साहित्यको संरक्षण गरी अघि बढाउने क्रममा यहाँका लोककथा सङ्कलन गरेर प्रकाशन गर्न लागेको बताउनुभयो । “यहाँको संस्कृति र भाषाका अन्य विधामा अनुसन्धान कार्य अघि बढाउने योजना छ”, उहाँले भन्नुभयो, “लोककथा सङ्कलनसँगै विश्वविद्यालयले यस क्षेत्रको उन्नयनका लागि अनुसन्धानलाई अगाडि बढाएको छ ।”

सुदूरपश्चिम विश्वविद्यालयको भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रका निर्देशक डा हरिशचन्द्र भट्टले प्रदेशका नौवटै जिल्लाका लोककथा प्रकाशन गर्न लागेको बताउनुभयो । “सौका, भोटे, राउटे, मगर र रानाथारूका लोककथा सङ्कलन गरेर प्रकाशनको चरणमा छन्”, उहाँले भन्नुभयो, “कथा स्थानीय र नेपाली भाषामा प्रकाशन गरिरहेका छौँ ।”

दार्चुला, बझाङ, बैतडी, बाजुरालगायत नौ जिल्लाकै लोककथा स्थानीय र नेपाली दुवै भाषामा प्रकाशन हुनेछन् । धर्म, संस्कृति रीतिरिवाज हिजो कस्तो थियो भनेर कथाका माध्यमबाट सन्देश दिन खोजेको डा भट्टको भनाइ छ । विश्वविद्यालयले सुदूरपश्चिमको पुरातत्वको समेत अध्ययन गर्न लागेको उहाँले जानकारी दिनुभयो ।

Advertisement

साहित्यकार हेमबाबु लेखकले विश्वविद्यालयले गर्न लागेको लोककथा सङ्कलन कार्य अत्यन्तै सकारात्मक रहेको बताउनुभयो । “लोकथामा लोकजीवनका हरेक पाटा भेटिने, स्थानीय रहनसहन लवाइखवाई चाडपर्व रीतिरिवाजका बारेमा यथार्थतासहितका जनश्रुति नीहित हुन्छन्”, उहाँले भन्नुभयो, “यसले लोकजीवनलाई बुझ्न सहज हुन्छ ।” सुदूरपश्चिम विश्वविद्यालयले भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रको स्थापना गरी यहाँको भाषा र संस्कृतिको अध्ययन अनुसन्धानलाई तीव्रता दिएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री