शुक्रबार, ३० जेठ २०८२

पर्यटन प्रवद्र्धनका लागि जापानमा प्रचारप्रसार

समयपोष्ट २०७५ वैशाख ३ गते ९:१८

नेपाली कला संस्कृति र सम्पदाबारे पर्याप्त जानकारी दिएर नेपालमा पर्यटन प्रवद्र्धन गर्न जापानमा सक्रिय नेपाली समुदायले टोकियो बाहिर फुकुओकामा प्रचार अभियान चलाएको छ ।

Advertisement

स्थानीय कला संस्कृति र रहनसहनसँगै विश्व सम्पदा सूचीमा सूचीकृतस्थलको प्रचारप्रसारलाई राजधानी टोकियोमा सीमित गरिँदै आएको थियो । यस पटकदेखि टोकियोबाट पश्चिमतर्फ रहेको फुकुओकामा पहिलो पटक दुई दिवसीय नेपाल भेस्टिवल आयोजना गरी यसको शुरुवात गरिएको छ ।

आयोजकका अनुसार जापानी नागरिकलाई नेपालप्रति आकर्षित गरी पर्यटन प्रवद्र्धन गर्ने उद्दश्यले राजधानी केन्द्रित प्रचारप्रसारलाई थप प्रभावकारी बनाउन फुकुओकामा भेस्टिवल आयोजना गरिएको हो । यस पटकदेखि प्रत्येक नयाँ नेपाली वर्षमा फुकुओका क्षेत्रमा नेपाल फेस्टिवल गर्ने निर्णय गरिएको छ ।

विभिन्न उद्देश्यले विश्वभर छरिएका नेपालीले आफ्नो कला संस्कृतीसँगै विश्वसम्पदा सूचीमा सूचीकृत स्थानको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा सघाएको भन्दै जापानस्थित नेपाली राजदूत प्रतिभा राणाले फुकुओकावासी नेपालीले गरेको कार्यको प्रशंसा गर्नुभयो । राणाले नेपालमा लगानी भित्र्याउन यस्ता कार्यले मद्दत पुग्ने भन्दै एकजुट भएर गर्न सकिने कामलाई सबै ठाउँबाट प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रचारप्रसारको फाइदा जापानमा भएका नेपालीलाई मात्र नभएर स्वदेशका नेपालीलाई पनि हुने भएकाले हरेक वर्ष नेपाल फेस्टिवल आयोजना गर्ने निर्णय गरिएको फेस्टिवल आयोजक समिति एवं फुकुओका नेपाल सोसाइटीका पूर्वअध्यक्ष रामकृष्ण श्रेष्ठले बताउनुभयो ।

Advertisement

शनिबार र आइतबार भएको फेस्टिवलको १५ हजारभन्दा बढी जापानी तथा नेपालीले अवलोकन गरेका थिए । त्यहाँ नेपाली खाना, पोशाक, विप्रेषणसहित सर्वोच्च शिखर सगरमाथा, विश्व शान्तिका जन्मदूत सिद्धार्थ गौतमबुद्धको जन्मस्थल लुम्बिनी, चितवनको सौराहालगायत पर्यटकीय क्षेत्रको प्रचार सामग्रीसहितका कक्ष राखिएका थिए ।

“जापानी नागरिकलाई नेपालबारे जानकारी दिन राजधानी र प्रमुख शहर केन्द्रित प्रचारप्रसार गाउँ र नगरसम्म पु¥याएका हौँ,” श्रेष्ठले भन्नुभयो । निकट भविष्यमा नागोयामा पनि नेपाल फेस्टिवल आयोजना गर्ने तयारी भइरहेको छ ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री