शनिबार, १५ वैशाख २०८१

सम्पदाको सफाइ र प्रचारप्रसार गर्न जोड

समयपोष्ट २०७५ वैशाख २ गते ८:२७

अन्तर्राष्ट्रिय सम्पदा दिवसका अवसरमा स्थानीय हनुमानढोकादेखि भुरुङ्खेलसम्म आज सरसफाइ गरिएको छ ।
एक विश्व सम्पदास्थल हनुमानढोकादेखि अर्को विश्व सम्पदास्थल स्वयम्भूसम्मका ऐतिहासिक–सांस्कृतिक महत्वका सम्पदा क्षेत्रलाई सम्पदा मार्गका रुपमा विकास गर्ने र पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यले सप्ताहव्यापी अभियान आजदेखि सरसफाइबाट नै शुरु भएको छ ।

Advertisement

हनुमानढोका(पन्ध्रौँदेखि २०औँ शदी)देखि पौराणिक स्वयम्भूनाथसम्मको २.२ किमीभित्र मरुगणेश(बाह्रौँ शताब्दी), काष्ठमण्डप(सातौँ शताब्दी), मरुहिटी(लिच्छविकालीन), सन्तानेश्वर महादेव(विसं १७३४), मरुबही(तेह्रौँ शताब्दी), बञ्जाहिटी, नरदेवी आदि सम्पदा छन् । प्राचीन नगरको सुरक्षार्थ चारैतिर खोला, नगर प्रवेशद्वार तथा नगरको किनारमा खुला क्षेत्र छन् । प्राचीन समयमा हुने लडाइँमा सर्वसाधारणलाई बचाउन त्यस्ता क्षेत्रको उपयोग गरेको पाइन्छ ।

विश्व सम्पदा उत्सव मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधि, कलाकार, स्थानीयवासीलगायतको सहभगिता थियो । यही वैशाख ५ गते अन्तर्राष्ट्रिय सम्पदा दिवस मनाइँदैछ । स्थानीय बाजागाजा, झाँकी, सेना, प्रहरी, विद्यार्थी, खेलाडीलगायतको सहभागितामा स्वयम्भूसम्म यही वैशाख ८ गते सम्पदा पदयात्रा हँुदै छ ।

अभियानको पहिलो दिन काष्ठमण्डप तथा त्यस आसपास क्षेत्र हुँदै भुरुङ्खेलसम्म स्थानीयवासीलाई समेत सहभागी गराइएको छ । मानवनिर्मित कला शैलीको अनुपम उदाहरण लिइने ऐतिहासिक काष्ठमण्डप भूकम्पपछि भग्नावशेषमा परिणत भएको छ । त्यसको पुनःनिर्माणका लागि पटक पटक विभिन्न तहमा छलफल भए पनि काम शुरु हुनसकेको छैन ।

नगर प्रवेश गर्नेबित्तिकै तिर्खा र थकाइ मेटाउन मरुहिटी बनाइएको थियो । बौद्ध धर्मावलम्बीको बसोबास रहेको मरुबही सो क्षेत्रका १६ पवित्र स्थानमध्ये एक मानिन्छ ।

सो अवसरमा सांसद जीवनराम श्रेष्ठले त्यस क्षेत्रमा रहेका विभिन्न प्राचीन –ऐतिहासिक महत्वका सम्पदाको विशेषतालाई प्रचार गर्नुपर्नेमा जोड दिँदै स्थानीयवासीलाई आफ्नो टोल तथा क्षेत्रलाई सफा र व्यवस्थित गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमका संयोजक एवं काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले संरक्षणका अभावमा पुराना सम्पदा जीर्ण बन्दै गएकामा चिन्ता व्यक्त गर्दै त्यस क्षेत्रमा रहेका विभिन्न सम्पदाबारे जनचेतना अभिवृद्धि गर्न स्थानीयवासीको सक्रियताको अपेक्षा गर्नुभयो ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री