शुक्रबार, १६ चैत २०८०

‘एक साताभित्रै पानीजहाज सम्भाव्यताबारे अध्ययन सुरु गर्छौं’

समयपोष्ट २०७४ चैत २७ गते ११:३७

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जलमार्ग निर्माणबारे एक साताभित्रै विशेष महाशाखा बनाएर सम्भाव्यता अध्ययन सुरु गर्ने स्पष्ट पारेका छन् ।

Advertisement

उनले भने,‘प्रधानमन्त्री केपी शर्मा ओलीको पानीजहाजको सपना साकार हुन्छ, हामी एक हप्ताभित्रै जलमार्ग निर्माणबारे सम्भाव्यता अध्ययन सुरु गर्छौं, यही आउने बैशाखबाटै सम्भाव्यता अध्ययनबारे महाशाखा बनाएर काम थाल्छौं, यो नेपालीहरुको लागि ठूलो उपलब्धि हो।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री महासेठले विगतमा प्रधानमन्त्री ओलीले पानीजहाजको कुरा गर्दा सामाजिक सञ्जालमा उडाईएको स्मरण गर्दै भने,‘भारत भ्रमणको दौरानमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मिडियासामू सगरमाथाको देशमा सागरको पहुँच पुर्याउँछु भन्नुभयो, उहाँले सार्वजनिक रुपमै बोल्नुभएको छ।’

भारत भ्रमण दलका सदस्य समेत रहेका मन्त्री महासेठले प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा दुवै प्रधानमन्त्रीले अहिलेसम्म भएका सन्धि÷सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएकोले आफूहरु भारतसँग भएका सम्झौताहरु कार्यान्वयन हुन्छ भन्नेमा विश्वस्त रहेको सुनाए ।

उनले भने,‘दुवै देशका प्रधानमन्त्रीले दुई देशबीच जे÷जति सम्झौताहरु भएका छन्, तीनलाई कार्यान्वयन गर्ने र व्यवहारमा उतार्ने प्रतिबद्धता जनाउनुभएको छ, अब ती सम्झौताहरु कार्यान्वयनमा जान्छन् भन्नेमा हामी विश्वस्त छौं, अहिलेपनि विगतमाजस्तै अहिलेका सम्झौतहरु कागजमै सिमित होला कि भन्ने आशंका नेपालीहरुमा छ, तर अब त्यस्तो नहोला।’

मन्त्री महासेठले रेलमार्ग र जलमार्ग बनाउनेबारे भारतसँग भएको सहमतिलाई ठूलो उपलब्धिको संज्ञा दिए । उनले भने,‘हाम्रो प्रधानमन्त्रीले मोदीजीसँग विगतका सन्धि तथा सम्झौताहरु कार्यान्वयन नभएकोबारे ध्यानाकार्षण गराउनुभएको थियो, उहाँले हामी त्यहीँ हुँदापनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो, यो खुशीको कुरा हो।’

कृषि क्षेत्रमा पनि द्धिपक्षीय साझेदारी गर्नेबारे यो पटकको भ्रमणमा कुरा भएको उनको तर्क थियो । उनले भने,‘एक–अर्काका सिप तथा क्षमता आदान–प्रदान गर्नेबारेपनि सहमति भएको छ, हामीले भ्रमणको दौरान पन्तनगरमा रहेको कृषि विश्वविद्यालयको पनि भ्रमण गर्यौं, त्यसैले कृषिमा पनि हामी फड्को मार्ने कोशिस गरिरहेका छौं, कृषिमा आधुनिकिकरणमा हाम्रो जोड रहनेछ ।’

मन्त्री महासेठले तीन दिने भारत भ्रमण सफल र उपलब्धिमूलक भएको जिकिर गरे । ‘विगत र यसपालीको भ्रमणमा फरक व्यवस्थापन भएको छ’ महासेठले भने,‘भ्रमणप्रति सम्पूर्ण मिडिया र राजनीतिक दलहरु सकारात्मक देखिनुभयो, जबकी पहिलेका भ्रमणमा मिडिया ता पार्टीहरु नै विभाजित हुनेगर्थे, यसपटक त्यस्तो भएन्।’ उनका अनुसार भ्रमणप्रति नेपाली र भारतीयहरु दुवै सकारात्मक देखिएका थिए ।

उनले आफूहरुले भ्रमणको दौरान भारतसँग राष्ट्रिय हित, सार्वभौमसत्ता, राष्ट्रिय एकता, अखण्डता र स्वतन्त्रतालाई ध्यानमा राखेर सहमति गरेको स्पष्ट पारे । भ्रमणको अवधिमा प्रधानमन्त्री ओलीले सबै कुरा उठाएको उनले सुनाए । उनले भने,‘प्रधानमन्त्रीले भारतीय समकक्षी मोदीजीसँग भारतले नेपालसँग गरेका सन्धि तथा सम्झौताहरु अहिलेसम्म किन लागु भएन ? भनेर सोध्नुभएको थियो, भारतले किन उपेक्षा गरिरहेको छ भनेर सोध्नुभएको थियो।’
त्यस्तै उनले भ्रमणमा ‘क्रस–बोर्डर क्राईम’, पशुपति, कालापानी लगायतका विषयमा कुरा भएको जनाए । उनले भने,‘हामीले उठाएका विषयमा मोदीजीपनि सकारात्मक हुनुभयो, उहाँले हामीले कुरा उठाएकोमा धन्यवाद दिनुभयो।’ टनकपुर, कोशी हाईड्याम्प, सुनकोशी–कमला डाईभर्सन, हुलाकी राजमार्ग लगायतका विषयमा आफूहरुले कुरा उठाएको र प्रत्येक कुरामा गम्भिर रुपमा छलफल भएको उनको भनाई थियो ।

विगतमा भएका कुराहरु बिर्सिएर अब नयाँ ढंगले अघि बढ्ने समझदारी भएको पनि उनले बताए । उनले भने,‘विगतमा भएका सन्धि तथा सम्झौताहरु कार्यान्वयनबारे हामीले प्रत्येक महिना दुई पक्षबीच अनुगमन तथा कामको प्रगतिबारे छलफल गर्ने सहमति गरेका छौं, सोही अनुसार अघि बढ्छौं।’ उनले टकनपुरको सवालमा २२ वर्षसम्म पनि १.२ किलोमिटर सडक बनाउन नसक्नु बिडम्बना भएको गुनासो आफूहरुले भारतीय पक्षसँग राखेको जनाए । उनले थपे,‘भारतमा प्रत्येक दिन २६ किलोमिटर सडक निर्माण भैरहेको छ ।’

त्यस्तै दुवै देशबीच सिमामा हुने अपराधिक क्रियाकलापहरु नियन्त्रण गर्न दुवै देशका सुरक्षा निकायबीच कोर्डिनेशन गर्ने सहमति भएको पनि उनले जनाए । उनले भने,‘भारत र नेपाल दुवै तर्फबाट अपराधीहरु रातभरी यताका उता र उताका यता क्राईम गरिरहेका छन्, यसलाई नियन्त्रण गर्नुपर्छ, हामीले भ्रमणको क्रममा स–साना कुराहरुपनि गम्भिरतापूवर्क राखेका थियौं।’

उनले मुख्य कुरा जयनगर–जनकपुर, जनकपुर–बर्दिवास, बर्दिवास–बिजलपुरा, बिजलपुरा–सिमरा रेलमार्गको डिपीआर सम्पन्न भएको सुनाए । महासेठले थपे,‘सन् २०१८ भित्र जयनगर–जनकपुर–बर्दिवासमा रेलमार्ग निर्माण सम्पन्न गर्छौं, रेल आउँछ, अर्को साल बर्दिवास–बिजलपुरा, अर्को साल बिजलपुरा–सिमरा निर्माण सम्पन्न गर्छौ।’ त्यस्तै मेची–महाकाली पूर्व–पश्चिम रेलमार्गको डिपीआर सम्पन्न गर्ने चरणमा रहेको सुनाए ।

त्यस्तै पानी ट्याँकी–जलपाईगुडी, जोगबनी–विराटनगर, नेपालगन्जरोडदेखि नेपालगञ्जसम्म जोड्ने दोस्रो फेजमा डिपीआर हुने उनले जनाए । भारत भ्रमणको दौरानमा रक्सौल–काठमाडौं जोड्ने सहमति हुनु उपलब्धिमूलक भएको पनि उनले विश्वास दिलाए । उनले थपे,‘एक वर्षभित्र सर्वेक्षण गरेर डिपीआर तयार गर्छौं।’

मन्त्री महासेठले भारत भ्रमणको बारेमा पत्रकार ऋषि धमला नै जानकार भएको पनि सुनाए । उनले भने,‘भ्रमणबारे हामीलाई भन्दा ऋषि धमलालाई थाहा छ, उहाँ भ्रमणमा सँगै हुनुहुन्थ्यो, प्रायः सबै ठाउँमा उहाँ हुनुहुन्थ्यो।’

त्यस्तै उनले यातायातमा व्याप्त रहेको सिण्डीकेटले बस व्यवसायी, यात्रु र सरकार कसैलाई पनि फाईदा नभएको सुनाए । उनले भने,‘सिण्डिकेट रोक्न सरकारले पहल गरेको छ, हामीले सिण्डकेट खारेज गर्न निर्देशन दिईसकेको छ, अझ हामीले भन्दापनि सर्वोच्चको निर्णयबाट सिण्डिकेट खारेज गरेको हो।’ सिण्डिकेटका कारण बस मालिकहरु नै मार्कामा परेको उनको भनाई थियो ।

सिण्डिकेटका कारण देशमा राजश्व पनि नआएको बताउँदै महासेठले भने,‘हामी अब यातायात क्षेत्रलाई उद्योगजस्तै रुप दिन चाहन्छौं, व्यवसायीहरुलाई प्रतिफल मिलोस् भन्ने हाम्रो चाहना छ।’ उनले आफूहरुलाई व्यवसायीहरुबाट सहयोग प्राप्त भएको पनि जनाए ।

मन्त्री महासेठले सिण्डिकेट मुलुकको लागि अभिषाप भएको बताए । उनले भने,‘यसका कारण राज्यले धेरै राजश्व गुमाएको छ, सिण्डिकेट खारेजपछि हामी सबै प्रकारका सुविधाहरु दिन्छौं।’

सिण्डीकेट खारेज गर्ने निर्णयमा बस व्यवसायीहरुले अटेर गरे सरकारले के गर्छ भनेर सोधेको एक प्रश्नमा उनले भने,‘सरकारलाई एक्शन कसलाई गर्ने ? हामी अन्तिमसम्मपनि प्रयास गर्छौ, भएन भने हामी वैकल्पिक व्यवस्था गर्छौं।’

त्यस्तै उनले सरकार आँफैले ५ सय वा हजार बस ल्याउन लागेको छ भनेर हल्ला गरिएकोप्रति आपत्ति जनाए । उनले भने,‘यो गलत कुरा हो, सरकारले बस सञ्चालन गर्दैन्, हामी व्यवसायीहरुलाई डुबाउने पक्षमा छैनौं।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री