शुक्रबार, १४ वैशाख २०८१

जापान सरकार खानेपानी र सरसफाईको क्षेत्रमा काम गर्न इच्छुक छ : जापानी राजदूत मासासी

समयपोष्ट २०७४ चैत २६ गते १०:०५

खानेपानी मन्त्री बिना मगरसँग भेटवार्ता गर्दै नेपालका लागि जापानी राजदूत मासासी ओगावाले आपसी सहकार्यका विषयमा छलफल गरेका छन् ।

Advertisement

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा मन्त्री मगरसँग भेटवार्ता गर्दै राजदूत मासासीले खानेपानी र सरसफाईका क्षेत्रमा जापान सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सहयोग बढाउन इच्छुक रहेको बताए ।

जापान सरकारको सहयोग सकारात्मक रहेको बताउनुहुँदै मन्त्री मगरले आफ्नो कार्यकालमा जापान सरकारबाट आवश्यक साथ र सहयोग पाउने विश्वास व्यक्त गरिन् । भेटवार्तामा जाइकाका नेपाल प्रमुख जुन साकुमाको समेत उपस्थिति रहेको थियो ।

भेटवार्तामा राजदूत मासासीले मेलम्ची खानेपानी आयोजना र पोखरामा सञ्चालित खानेपानी आयोजनामा जाइकाको सहयोग रहेको जानकारी दिएका थिए । ‘नेपाल सरकारसँग समन्वय गरेर विभिन्न काम गरिरहेका छौं । अन्य क्षेत्रमा पनि काम गर्न चाहन्छौं,’ राजदूत मासासीले भने ।

भेटवार्तामा मन्त्री मगरले हरेक जनतालाई स्वच्छ खानेपानी पुर्याउने र पानीको व्यवस्थापनमा महिलाले खर्चनुपरिरहेको समय घटाउने आफ्नो योजना रहेको जानकारी दिईन् ।

‘सरसफाईका लागि राष्ट्रियस्तरमा अभियान सञ्चालन गर्न खोजिरहेका छौं,’ मन्त्री मगरले भेटवार्तामा भनिन् । प्रदेश राजधानी तोकिएका शहरमा खानेपानी र ढल व्यवस्थापनको समस्या देखिन सक्ने भएकाले मन्त्रालयले छुट्टै योजना बनाउने मन्त्री मगरले बताईन् ।

भेटवार्तामा जाइकाका नेपाल प्रमुख जुन साकुमाले खानेपानी आयोजनामा आफ्नो प्राथमिकतामा रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री