बुधबार, १२ वैशाख २०८१

कानुनी व्यवस्थाविपरीत सात महिनामै दोस्रो राजकीय भ्रमण

समयपोष्ट २०७४ चैत २३ गते १:३२

एक वर्षमा एउटा देशमा एकपटक मात्रै राजकीय भ्रमण हुने कानुनी व्यवस्थाविपरीत नेपालका प्रधानमन्त्री सात महिनामा दोस्रोपटक भारत भ्रमणमा जाँदै छन् । राजकीय भ्रमणलाई मर्यादित बनाउन मन्त्रिपरिषद्ले पारित गरेको विशेष व्यवस्थाविपरीत हुने यस्ता भ्रमणले राष्ट्रको मर्यादालाई कमजोर बनाइरहेको छ ।

Advertisement

आजको नयाँ पत्रिकामा पर्शुराम काफ्ले र पुष्प ढुंगानाले यो खबर लेखेका छन्, नेपाल सरकारका अति विशिष्ट तथा विशिष्ट श्रेणीका पदाधिकारीले गर्ने विदेश भ्रमण, दिवा तथा रात्रिभोज एवं उपहारसम्बन्धी निर्देशिका, २०७२ को दफा १० ले स्पष्ट भनेको छ, ‘एक वर्षमा एउटा देशमा एउटा राजकीय भ्रमण हुनेछ ।’ प्रधानमन्त्रीका रूपमा शेरबहादुर देउवा गत ९ भदौमा दिल्ली गएका थिए । त्यसको सात महिना १४ दिनमा शुक्रबार प्रधानमन्त्रीका रूपमै केपी ओली दिल्ली पुग्दै छन् । त्यस्तै, यसअघि ओली नै प्रधानमन्त्रीकै रूपमा ७ फागुन ०७२ मा दिल्ली पुगेका थिए । ६ महिनापछि ३० भदौ ०७३ मा प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल प्रचण्ड भारत पुगेका थिए ।

प्रधानमन्त्रीको भ्रमणमा योबाहेक अन्य व्यवस्था पनि मिचिएको छ । मन्त्रिपरिषदबाट निर्णय भएर सक्रिय अवस्थामा रहेको उक्त निर्देशिका अनुसार राजकीय भ्रमणमा प्रधानमन्त्रीले आफ्नो श्रीमती, प्रधानमन्त्री कार्यालयका सचिव वा सहसचिव, आफ्ना परराष्ट्र मामिला सम्वन्धी सल्लाहकार एक जना, आफ्नो निजी चिकित्सक, प्रधानमन्त्रीले चोहेको एकजना सहयोगी, दुइ जना सुरक्षाकर्मी वा एडिसी र अर्को एक जना सहयोगी लान पाउँछन् ।

तर प्रधानमन्त्रीको भ्रमण दलमा मुख्य सचिव समेत सहभागी हुने भएका छन् । यस्तै प्रधानमन्त्रीको प्रेस सल्लाहकार, प्रमुख राजनीतिक सल्लाहकार लाने व्यवस्था निर्देशिकामा छैन । नेपाल सरकारका पूर्व सचिव शारदाप्रसाद त्रितालले प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदले स्वीकृत गरेको निर्देशिका कार्यान्वयन नगरि भ्रमण दल बनाएर कानुन उल्लंघनको अगुवाइ गरेको आरोप लगाएका छन् । उनले सरकारले निर्देशिका बनाउन र आवश्यकता अनुसार परिवर्तन गर्न सक्ने तर निर्देशिका यथावत राखेर त्यसको उल्लंघन गर्न नसक्ने बताए । पूर्व सचिव त्रितालले प्रधानमन्त्री ओलीले भ्रमण निर्देशिका विपरित टोली लिएर भारत गए त्यो कानुनी भ्रष्टाचार हुने टिप्पणी गरेका छन् ।

‘मन्त्रिपरिषदले स्वीकृत गरेको निर्देशिका, नियमावली पनि कानुृन हो, जतिवेलासम्म त्यो निर्देशिका खारेज गरिदैन, त्यस विरुद्ध अर्को निर्णय गर्न सक्दैन, पूर्व सचिव त्रितालले भने, मन्त्रिपरिषदले निर्देशिका परिवर्तन गर्ने अधिकार राख्छ तर भएको निर्देशिका उल्लंघन गर्ने अधिकार राख्दैन ।’

उनले काम नै नभएका मुख्य सचिवलाई समेत भ्रमणमा राखेर गलत सन्देश दिएको आरोप लगाए । ‘मुख्य सचिवको त्यहाँ कुनै काम हुँदैन । मुख्य सचिव इच्छा लागेर भ्रमणमा जाने पद पनि होइन । उनले भने, हाम्रा मुख्य सचिवले भारतमा प्रधानमन्त्रीको पछि लाग्नेमात्र हो ।’

मन्त्री र सचिव जान सक्छन्
त्रितालले प्रधानमन्त्रीबाट हुने यस्तो भ्रमणमा सम्वन्धित मन्त्रालयका मन्त्री र सचिव तथा सहसचिवहरु भने आवश्यकता अनुसार सहभागी हुन सक्ने बताए । भ्रमण निर्देशिका २०७२ ले पनि भ्रमणको अवसरमा गरिने वार्ता, सम्झौता तथा बैठकको विषयवस्तुसँग सम्वन्धित मन्त्रालयका उच्चस्तरीय सरकारी प्रतिनिधिहरु आवश्यकता अनुसार सहभागि हुने व्यवस्था गरेको छ ।

निर्देशिका अनुसार यस्तो हुनुपर्छ भ्रमण टोली
१) प्रधानमन्त्री
२) प्रधानमन्त्रीको श्रीमती
३) सचिव वा सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट एकजना ।
४) प्रधानमन्त्रीका परराष्ट्र मामिला सम्वन्धी सल्लाहकार एक जना ।
५) प्रधानमन्त्रीका निजी चिकित्सक
६) प्रधानमन्त्रीले तोकेका एकजना सहयोगी
७) सुरक्षाकर्मी वा एडिसी दुइ जना
८) सहयोगी एकजना

परराष्ट्र मन्त्रालयसँग सम्वन्धित
१) परराष्ट्र सचिव
२) क्षेत्रीय वा बहुपक्षीय महाशाखा प्रमुख, परराष्ट्र मन्त्रालय
३) राजनीतिक महाशाखा प्रमुख (सहसचिव), परराष्ट्र मन्त्रालय
४) भमण गर्ने देशको नेपाली रादूत र आवश्यकतानुसार तोकिएका दूतावासका अधिकारीहरु
५) शिष्टाचार महहापाल
६) उपसचिव वा शाखा अधिकृत
७) शिष्टाचार अधिकृत वा शिष्टाचार असिष्टेन्ट

संचारसँग सम्वन्धित
पत्रकार तीन जना, उनीहरुमध्ये दुइ जना टेलिभिजन र एक जना राष्ट्रिय समाचार समितिबाट हुने व्यवस्था छ ।

अन्य : भ्रमणको अवसरमा गरिने वार्ता, सम्झौता तथा बैठकको विषयवस्तुसँग सम्वन्धित मन्त्रालयका उच्चस्तरीय सरकारी प्रतिनिधिहरु आवश्यकता अनुसार सहभागि हुने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री