शनिबार, ८ वैशाख २०८१

एमाले–माओवादी एकता सभामा लाखौँ उतार्ने तयारी

समयपोष्ट २०७४ चैत २३ गते १:२७

एमाले–माओवादीले लाखौँ जनताबीच पार्टी एकता घोषणा गर्ने तयारी गरेका छन् । एकता संयोजन समितिको बिहीबारको बैठकले ९ वैशाखमा हुने घोषणासभामा लाखौँको उपस्थिति गराउने गरी गृहकार्यमा लाग्ने निर्णय गरेको छ ।

Advertisement

आजको नयाँ पत्रिकामा यो खबर प्रकाशित छ,एकताको माहोल व्यापक बनाउन दुवै पार्टीले कार्यकर्तास्तरसम्म सर्कुलर गर्ने भएका छन् ।
एमाले नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले लाखौँ नेता–कार्यकर्ताबीच पार्टी एकताको तयारी भइरहेको बताए । तर, एकता सभाका लागि ठाउँ र समय भने तय भइनसकेको उनले बताए ।

‘हामी कम्तीमा ५ लाख जनताको उपस्थितिमा महाधिवेशन घोषणा सभाजस्तै गरेर पार्टीको एकता सभा गर्दै छौँ,’ एमाले उपमहासचिव विष्णु पौडेलले नयाँ पत्रिकासँग भने ।

माओवादी अध्यक्ष प्रचण्डले पनि एकता घोषणा सभा बृहत जनताका बीचमा गरिने बताए । चुनाव चिह्न र सांगठनिक प्रतिनिधित्वको विषय प्रधानमन्त्री भारतबाट फर्किएलगत्तै टुंगो लाग्ने प्रचण्डको दाबी छ ।

एकता संयोजन समिति बैठक २७ चैतमा

एकता संयोजन समितिको अर्को बैठक प्रधानमन्त्री केपी ओली भारतबाट फर्किएपछि २७ चैतमा बस्ने र विवादित विषय मिलाउने एमाले नेता खनालले बताए ।

एमालेले पार्टी एकताको विषय बुधबार स्थायी कमिटीबाट अनुमोदन गरिसकेको छ । यस्तै, आगामी ६ वैशाखमा पोलिटब्युरो र ७ वैशाखमा केन्द्रीय कमिटी बैठक बोलाएर अनुमोदनको तयारी गरेको छ ।

माओवादीको १० चैतमा बसेको पूर्वहेडक्वार्टर सदस्यको बैठकले एमालेसँग एकताका लागि पार्टीको सांगठनिक र वैचारिक अवस्थाको रिपोर्ट गर्न विभिन्न नेतालाई जिम्मेवारी दिइएको थियो । छिटै बैठक बसेर पार्टीका तर्फबाट एकताको विषय अनुमोदन गर्ने माओवादी तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री