मंगलबार, ११ असोज २०७९

अमेरिकी राष्ट्रपति ट्रम्पका यौन स्क्यान्डल, यस्तो छ यौनशोषणको इतिहास

समयपोष्ट २०७४ चैत २१ गते ४:५०

सामान्य जीवनदेखि चुनावी मैदानसम्म मात्र होइन शक्ति राष्ट्र अमेरिकाको राष्ट्रपति बन्दा पनि डोनाल्ड ट्रम्प विवादको घेराबाट उम्कन सकेनन् ।

Advertisement

के अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साँच्चै यौन दुराचारी हुन् त ? यदि उनी यौन दुराचारी भएको प्रमाणित भएमा उनले पदमा बसिरहन मिल्छ या मिल्दैन ? बहस सुरु भएको छ । तर, ट्रम्पमाथि छानबिन अघि बढेको छैन ।

राष्ट्रपतिको निर्वाचनअघि यौन दुराचारका अभियोगले ट्रम्प घेरिएका थिए । उनीमाथि धेरै महिलाले यौन शोषणको आरोप लगाए । तर, यस्ता आरोपले उनलाई राष्ट्रपति बन्नबाट रोक्न सकेन । राष्ट्रपति बनेपछि ट्रम्प पुराना झमेलाबाट मुक्त हुने आँकलन गरिएको थियो । उनका समर्थकहरूको बुझाइ थियो, ट्रम्पले नयाँ ऊर्जाका साथ काम गर्नेछन् र ‘मेक अमेरिका ग्रेट अगेन’ नामक उनको चुनावी नाराले सार्थकता पाउनेछ ।
दुर्भाग्य, विश्वको महाशक्ति देशका राष्ट्रपति फेरि पुरानै समस्यामा अल्झनुपरेको छ । गत साता दुई महिलाले उनीमाथि यौनशोषणको आरोप लगाए । सिएनएन टेलिभिजनलाई दिएको अन्तर्वार्तामा केरन म्याक डोउगल तथा सिबिएस टेलिभिजनको ‘सिक्स्टी मिनेट्स’ कार्यक्रममा पोर्नस्टार स्ट्रोमी डेनियल्सले उनको चरित्रमाथि औँला ठड्याइन् । पोर्नस्टार डेनियल्स जसको वास्तविक नाम स्टेफानी क्लिफोर्ड हो, उनी सन् २००६ मा १० महिनासम्म ट्रम्पसँग निरन्तर शारीरिक सम्पर्कमा रहेको दाबी गर्छिन् । ट्रम्पले त्यसका लागि आफूलाई पैसा दिएको उनको भनाइ छ । यता, केरन म्याक डोउगलले पैसा र शक्तिको धाक देखाएर ट्रम्पले फाइदा उठाएको आरोप लगाएकी छिन् ।

यौनशोषणको इतिहास
अमेरिकी राष्ट्रपतिहरूलाई यौनशोषणको आरोप लाग्ने ‘ल’ इतिहास एक वा दुई दशक नभएर दुई सय वर्षभन्दा लामो छ । देशका राष्ट्रपति वा ठूला नेताले बन्द कोठाभित्र के–के गर्छन् भन्ने विषयमा सदियौँदेखि पत्रकार तथा सर्वसाधारण सजग रहने गरेका छन् ।

Advertisement

सन् १८०१ देखि १८०९ सम्म अमेरिकाको राष्ट्रपति रहेका थोमस जेफरसनमाथि घरमा राखिएकी कमारीमाथि यौनशोषण गरेको आरोप लागेको थियो । जेफरसन र उनको घरमा दास बसेकी सेली हेमिङ्सबीच शारीरिक सम्पर्क थियो वा थिएन भन्ने विषयमा अहिले पनि धेरैको मत विभाजित पाइन्छ । विज्ञहरू सेलीबाट जेफरसनका सन्तान जन्मिएको दाबी गर्छन् । यस विषयमा धेरै खुलासासमेत भइसकेकका छन् । तर, सत्य के हो र हल्ला के हो ? घटनाको दुई सय वर्ष बितिसक्दा पनि दूधको दूध पानीको पानी छुट्टिन सकेको छैन । अमेरिकी इतिहासमा सर्वाधिक चर्चा भएको विषयमध्ये यसलाई पनि लिइन्छ । पत्नी मारिया वायल्सको सन् १९८२ मै मृत्यु भएपछि जेफरसनले आजीवन विवाह नगर्ने घोषणा गरेका थिए ।

इतिहासविद् डेभिड इसेनवाचजसले ‘वान नेसन अन्डर सेक्स : हाउ द प्राइभेट लाइभ्स अफ प्रेसिडेन्ट, फस्ट लेडिज एन्ड देयर लभर्स चेन्जड द कोर्स अफ अमेरिकन हिस्ट्री’ नामक पुस्तक निकालेका छन् । उनका अनुसार अमेरिकी राष्ट्रपतिको निजी जीवन नियाल्नका लागि उनीहरूले कार्यालयमा गर्ने काम र व्यवहार हेरे पुग्छ । त्यहाँ उनीहरूको व्यवहार शंकास्पद देखियो भने सोच्दा हुन्छ केही छ । ‘प्राय संघर्ष गरेर आएका राष्ट्रपतिको तुलनामा समृद्ध परिवारबाट आएका धनाढ्य राष्ट्रपतिहरू धेरै दुराचारी र विलासी हुने गरेको देखिएको छ,’ उनले लेखेका छन्, ‘यस्ता राष्ट्रपतिको चरित्रबारे ह्वाइटहाउसका कर्मचारीलाई धेरै थाहा हुन्छ, किनकि उनीहरू कामप्रति जिम्मेवार हुनेभन्दा पनि यौन र अन्य विलासी कुराका पछाडि कुदेका हुन्छन् ।’

सन् १९८४ मा अमेरिकाको राष्ट्रपतीय निर्वाचन जितेका ग्रोभर क्लिभल्यान्डमाथि बलात्कार अभियोग लागेको थियो । बफेलो न्युजपेपरको सेप्टेम्बर २७, १९८४ मा प्रकाशित सम्पादकीय कार्टुनमा एउटा बालक बोकेकी आमा र नजिकैबाट हिँडिरहेका राष्ट्रपतिलाई देखाइएको थियो । कार्टुनमा, बच्चाले आमालाई सोधेका छन्, ‘मेरो बुबा खोइ ?’ बफेलो न्युजपेपरमा प्रकाशित समाचारअनुसार एक महिलासँगको अवैध सम्बन्धबाट जन्मिएका बच्चालाई क्लिभल्यान्डले अस्वीकार गरेका थिए ।

राष्ट्रपतीय चुनाव हुनुभन्दा एक महिनाअघि यो समाचार भाइरल भए पनि क्लिभल्यान्डले चुनाव जिते, उनले हतार–हतार शपथ लिए, किनकि उनलाई पद गुम्न सक्ने त्रास थियो । त्यतिवेला अमेरिकामा पार्टी पत्रकारिता हुन्थ्यो । त्यसैले विपक्षी पार्टीका व्यक्तिहरूले अर्को पार्टीका नेतालाई नंग्याउन गरिने चरित्र हत्या सामान्य थियो । त्यतिवेलाका पत्रपत्रिकालाई नै आधार मानेर कसैको चरित्रबारे निष्कर्ष निकाल्दा त्यो गलत पनि हुन सक्छ । के नियोजित थियो र के साँचो थियो भन्ने विषयमा छानबिनपछि मात्रै निष्कर्ष निकाल्न सकिन्थ्यो ।

२०औँ शताब्दीपछि पत्रकारितामा देखिएको व्यवसायिकतासँगै नेताहरूको चरित्र हत्या गर्ने किसिमका समाचार कम आउन थाले । नेताको यौन सम्बन्ध नभएर उनीहरूको कार्यशैलीप्रति प्रश्न तेर्सिन थाल्यो । तर, नेताहरू बदलिएका भने होइनन् । लुसी मर्करसँगको राष्ट्रपति फ्रयाङलिन डिलानोको प्रेम प्रसंगमा मिडिया चुप बसे । यस्तै, अवस्थाको फाइदा जोन अफ केन्नडीले पनि उठाएका थिए । त्यतिवेला अमेरिकी प्रेस देशमा निम्तिएको संकटका विषयमा चिन्तित थियो । राष्ट्रपति केन्नडी महिलाहरूसँग रासलीलामा मस्त हुन्थे । विपक्षीहरू उनलाई अमेरिकी इतिहासको अहिलेसम्मकै सर्वाधिक दुराचारी राष्ट्रपतिसमेत भन्ने गर्छन् ।

लेखक तथा पत्रकार मार्भिन काल्बले सन् १९६३ को घटना सम्झँदै भनेका छन्, ‘म त्यतिवेला सिबिएसमा थिएँ र राष्ट्रपतिको न्युयोर्क भ्रमणको समाचार कभर गर्न पुगेको थिएँ । केन्नडी बसेको होटलभित्र छिरेपछि म उनलाई भेट्न फ्लोरमा जाँदै थिएँ । सुरक्षा दिइरहेका गोप्य प्रहरी अधिकारीले मलाई रोके । मैले फ्लोरमा एक महिला देखेँ । उनी राष्ट्रपति बसेको फ्लोरमै थिइन् । त्यतिवेला मेनस्ट्रिम मिडियाको ध्यान यस्ता कुरामा नभएर क्युवाले निम्त्याएको मिसाइल संकट, आणविक हतियार तथा शीतयुद्धमा केन्द्रित थियो ।’यौन मुद्दाले अमेरिकी राष्ट्रपति वा नेताको करिअरमा कुनै असर नै पारेको छैन भन्ने होइन । केही नेताको राजनीतिक करिअर यस्तै आरोपले ध्वस्त भएको छ । सन् १९८७ मा एक मोडलसँगको अफेयर सार्वजनिक भएपछि राष्ट्रपति पदको उम्मेदवार रहेका सिनेटर ग्यारी हार्टले उम्मेदवारी नै रद्द गरे । त्यतिवेला मियामी हेराल्डका एक फोटो पत्रकारले उनको पिछा गरेका थिए । वासिंगटनस्थित आफ्नो घरनजिकै उनी एक महिलासँग डेटिङमा थिए । पत्रकारले फोटो खिच्न भ्याए ।

फोटो हेरेपछि पुष्टि भयो उनी सिनेटर ग्यारी हार्टकी श्रीमती होइनन् । डोन्ना राइस नामकी २९ वर्षीया मियामी मोडल हुन् । यस घटनापछि नैतिक बल गुमाएका हर्टले दुई दिनभित्रै आफ्नो राष्ट्रपतिको उम्मेदवारी फिर्ता लिए ।

राष्ट्रपति र यौन शोषणको कुरा गर्दा बिल क्लिन्टनको नाम छुट्दैन । यौन शोषणकै अभियोगमा उनी झन्डै पदमुक्त हुनुपरेको थियो । सन् १९९१ मा क्लिन्टनले जोन्सको यौन शोषण गरेको आरोप लागेको थियो । सुरुमा उनी चुप थिइन् । तर, जब, सन् १९९४ मा ‘द अमेरिकन स्पेक्टेटर’ नामक म्यागेजिनले यो घटना प्रकाशित गर्‍यो त्यसपछि उनले कानुनी उपचार खोजिन् । यस मुद्दालाई सुरुमा अदालतले खारेज गरिदिएको थियो । पछि क्लिन्टनविरुद्ध विपक्षीहरूले सन् १९९८ मा अविश्वासको प्रस्ताव ल्याउँदा परेका चार मुद्दामा यो पनि समावेश थियो । क्लिन्टनविरुद्ध अविश्वासको प्रस्तावसमेत अघि बढ्यो । घटना थामथुम पार्न क्लिन्टनले जोन्सलाई केही पैसा दिएको र माफी मागेको खुलासा पनि भयो ।

सन् १९९८ मै बाहिर आयो, मोनिका लेविनिस्की प्रकरण । यो २०औँ शताब्दीको सबैभन्दा ठूलो ह्वाइटहाउस सेक्स स्क्यान्डल थियो । ह्वाइटहाउसकी इन्टर्न मोनिका लेविनिस्कीले क्लिन्टनसँग अवैध शारीरिक सम्बन्ध रहेको विषयमा बोलेकी थिइन् । अडियो सार्वजनिक भएपछि क्लिन्टनमाथि आफ्नै पार्टीका (डेमोक्र्याटिक) सांसद्हरूले आधिकारिक धारणा सार्वजनिक गर्न दबाब दिए । अन्यथा, महाअभियोग प्रस्ताव संसद्मा अघि बढ्ने उनीहरूको चेतावनी थियो । पछि क्लिन्टनले पत्रकार सम्मेलन गरेर आफूसँग लेवानिस्कीको कुनै सम्बन्ध रहेको दाबी गरे ।

सन् १९९८ मै उनीमाथि अन्य दुई अभियोग लागे । जुआनिता ब्रोडड्रिकले क्लिन्टनमाथि बलात्कारको आरोप लगाइन् । सन् १९७८ मा क्लिन्टनले आफूलाई बलात्कार गरेको उनको आरोप थियो । त्यस्तै, इलिजावेथ ग्रासेनले सन् १९८२ मा क्लिन्टनसँग आफूले एक रात बिताएको दाबी गरिन् । तर, क्लिन्टनले आरोप अस्वीकार गरिरहे । अन्त्यमा विपक्षीहरूले उनलाई पदबाट हटाउन आवश्यक पर्ने भोट जुटाउन सकेनन् । क्लिन्टन पदमै कायम रहे ।

यसरी जेफरसनदेखि क्लिन्टनले व्यक्तिगत जीवनका भित्री पाटाहरू सार्वजनिक हुँदा पनि आफ्नो कार्यालय हाँके । उनीहरूको नैतिकतामाथि यस्ता प्रकरणले ठूलोे प्रश्न तेस्र्याएको थियो । तर, कहिले राम्रो कामले त कहिले शक्तिको दुरुपयोगले त्यसलाई ढाकछोप गर्दै उनीहरूले कुर्सी टिकाइराखे ।

अब के हुन्छ ?


१९औँ शताब्दी, २०औँ शताब्दीका मूल्य–मान्यता र २१औँ शताब्दीका मूल्य–मान्यतामा आकाश जमिनको फरक छ । २०औँ शताब्दीको सुरुवाती दुई दशकसम्म त महिलाहरूले अमेरिकामा भोट खसाल्ने अधिकार नै पाएका थिएनन् । सन् १९६४ मा ‘जनअधिकार विधेयक’ पारित हुनुअघिसम्म पनि थुप्रै राज्यमा महिला र अश्वेतमाथि विभेद हुन्थ्यो । अबको समाज त्यस्तो रहेन । यौनशोषण नैतिक मात्रै होइन, ठूलो कानुनी अपराध हो र यसको सजाय पनि ठूलै हुन्छ । त्यसैले अमेरिकी राष्ट्रपतिविरुद्ध लागेका आरोपहरू अब कसरी अघि बढ्छन् ? ट्रम्पमाथि यसअघि नै थुप्रै महिलाहरूले यौनशोषणको अभियोग लगाइसकेका छन् । अब यी दुई महिलाले लगाएका आरोपबारे छलफल हुन्छ । प्रश्न उठ्छन्, आफैँ सेलाउँछन् वा उठेका प्रश्नहरूमाथि आवश्यक छानबिन हुन्छ ।

‘सेक्स एन्ड द फाउन्डिङ फादर्स’ पुस्तकका लेखक तथा इतिहासविद् थोमस ए फोस्टर राष्ट्रपतिले के गर्छन् भन्नेभन्दा पनि यस्ता प्रकरणपछि उनको इज्जतको तुलना कसरी गरिन्छ वा राष्ट्रपतिको आचरण किन यस्तो हुन्छ भन्ने विषय प्रमुख रहेको बताउँछन् । उनको बुझाइमा इमानदारीको कमीभन्दा पनि हाइप्रोकेसीले व्यक्तित्वमा धेरै असर गरेको हुन्छ । ब्युटी पेजियन्टस् र रियालिटी सो सञ्चालन गर्ने ट्रम्पले आफ्नो जीवनमा तीनपटक विवाह गरिसकेका छन् । फोस्टरको बुझाइमा ट्रम्पले यस्तो परिस्थिति धेरैपटक सामना गरेको हुनुपर्छ । यस्ता अभियोगबारे छानबिन हुन्छ वा हुँदैन ? यी अभियोगमा ट्रम्प चोखो सावित होलान् या दोषी ? त्यो हेर्न बाँकी छ ।
(एजेन्सीको सहयोगमा)/नयाँ पत्रिकाबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री