शुक्रबार, १६ चैत २०८०

बलात्कार वृत्तान्त सुनेपछि सीडीओले भने, ‘लज्जाबोध भयो’

समयपोष्ट २०७४ चैत २१ गते १:३४

पछिल्ला वर्षमा बलात्कारका घटनामा अस्वाभाविक वृद्धि भएको प्रहरी तथ्यांकले उजागर गरेको छ। बलात्कार पीडितमध्ये अधिकांश अविवाहित युवती छन्। महानगरीय प्रहरी परिसर टेकुले मंगलबार गरेको एक कार्यक्रममा परिसरका मुद्दा शाखाका डीएसपी मोहन थापाले घटना विवरण सुनाउँदा काठमाडौं प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा छक्क परे। थापाले बलात्कारमा १६ वर्षभन्दा कम उमेरका किशोरीहरू बढी पीडित रहँदै आएको तथ्य सुनाएका थिए।

Advertisement

थापाका अनुसार २०७१ मा ९२ वटा बलात्कारका घटना भएकोमा २०७२ मा ९९, २०७३ मा १ सय १२ र २०७४ चैत अन्तिमसम्म ८९ वटा घटना भएका छन्। उनका अनुसार बलात्कारमा संलग्न (पीडक) मध्ये विवाहित बढी छन्। उनले भने, ‘काठमाडौंमा जबर्जस्तीकरणीको मुद्दा वृद्धिदर ९.९७ प्रतिशत रहेको देखिन्छ। देशभरका घटना विश्लेषण गर्दा औसत ८.६० प्रतिशतको दरले करणी बढेको देखिन्छ।’ प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार करणीका मुद्दा हरेक वर्ष बढ्दै गएको छ। २०७१ मा ९ सय ८१ रहेको मुद्दा संख्या २०७२ मा एक हजार ८९ पुगेको थियो। त्यसैगरी २०७३ मा एक हजार एक सय ३० वटा उजुरी प्रहरीमा दर्ता भएका थिए।

प्रमुख जिल्ला अधिकारी शर्माले करणीका तथ्यांक सुनेपछि आफूलाई लज्जाबोध भएको बताए। उनले भने, ‘अधिकांश घटनामा विवाहित पुरुषले अविवाहित चेलीलाई बलात्कार गरेको सुन्दा एक विवाहित पुरुषको हैसियतमा मलाई लज्जाबोध भएको छ।’ उनले करणीका घटना नियन्त्रणमा प्रहरी संवेदनशील भएर लागे पनि पीडक र पीडित आफैं सचेत हुनुपर्ने बताए।

गैरसरकारी संस्था सिविनमा कार्यरत सागर भण्डारीले काठमाडौंमा बलात्कारको घटना डरलाग्दो अवस्थामा पुगेको र धेरैजसो बेइज्जत हुने डरले बाहिर नआउने गरेको बताए। उनले बौद्धको एउटा घटना सुनाउँदै भने, ‘बौद्धमा बाबुले छोरीलाई लगातार तीन वर्षसम्म बलात्कार गरेपछि त्यो घटना सिविनमा आयो र मुद्दा दर्ता गर्न खोज्दा प्रहरीले अस्वीकार ग¥यो।’ यस्ता घटनामा प्रहरी नेतृत्व गम्भीर हुनुपर्ने भनाइ भण्डारीको थियो। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता सूर्यराज दाहालले पीडितले न्याय पाउने कुरामा आफूहरू संवेदनशील रहेको बताए।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश रमेशराज पोखरेलले पीडित ‘होस्टाइल’ भएपछि करिब १० प्रतिशत अदालती प्रयास असफल हुने गरेको बताए। उनले भने, ‘कानुन कडा भए पनि कार्यान्वयनको पक्ष फितलो देखिएको छ। पीडित र पीडकलाई भिडियो कन्फरेन्स कलबाट पनि बयान लिने भनिए पनि अझै कार्यान्वयनमा आएको छैन।’ काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले प्रहरीले कार्ययोजना बनाएरै करणीका घटना नियन्त्रण गर्ने बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री