बुधबार, ३२ असार २०८२

मतदाताले बालेन शाहहरुलाई चुनाव जिताउलान् ?

समयपोष्ट २०७९ वैशाख १२ गते २१:२४

Advertisement

मुलुक अहिले स्थानीय निर्वाचनमा होमिएको छ । संविधानवाद र संविधानमा भएको व्यवस्था बमोजिमको पहिलो आवधिक निर्वाचन हो । लोकतन्त्रको मेरुदण्ड भनिने निर्वाचनले जनताका प्रतिनिधीमार्फत शासन परिवर्तन गर्ने गर्छ । हाम्रो मूलुक छिटो छिटो शासन व्यवस्था परिवर्तन भै रहने मध्येको एक हो । हामीलाई कस्तो व्यवस्था, कस्तो दल, कस्ता नेता र नेतृत्वा चाहिने हो अहिलेसम्म निर्क्यौल हुन सकेको छैन । व्यवस्था नराम्रो भनेर आन्दोलन गरि गराई ल्याईएको व्यवस्था पनि राम्रो हुन सकेको छैन ।

हामी जनता नेता र नेतृत्वको आलोचना र प्रसंशा गरेर पनि थाकेका छैनौ । हाम्रा नेता र नेतृत्व शासन व्यवस्था परिवर्तन भएसँगै परिवर्तन भएका र हुन चाहेका छैनन् । पंचायत देखि गणतन्त्रसम्म आउँदा  नेतृत्व भने परिवर्तन र हस्तान्तरण हुन सकेको छैन  । यो दु:खद कुरा हो । हामीले उहाँहरुलाई हरेक व्यवस्थामा भोग्दा वाक्क भै सकेका छौ तर भन्न र परिवर्तन गराउन सकेका भने छैनौ । यो सास रहुन्जेल नेतृत्व गर्ने, बिरोध गर्नेलाई सौतेलो ब्यवहार गर्ने, दललाई आफ्नो एकलौटी वृता ठान्ने, शक्ति र सत्ता प्राप्त गर्न जे पनि गर्ने र सत्ता र शक्तिको दुरुपयोग गरी प्रभावमा पारेर आसेपासेको झुण्डमा रमाउने हाम्रा हरेक दलमा नेतृत्व विद्यमान छ । यो कुरा अहिले साठगाठ गर्न र उम्मेदवारी प्रदान गर्ने गरेका प्रमाणबाट पनि ज्ञात हुन्छ ।

स्थानीय निर्वाचन २०७९ साल बैैशाख ३० गते देश भरी एकै पटक हुदै छ । यस निर्वाचनमा राजनीतिक दलहरु कोही एक्लै त कोही गठबन्धन गरेर चुनावमा होमिएका छन । हाम्रोमा व्यवस्था सुधार गर्न भन्दा पनि नेता बन्न र बनाउनलाई मात्र चुनाव हुने गरेको छ । परिणामले त्यही देखाएको छ । हामी मतदाताहरु पनि चुनाव अगावै राम्रा र युवामा नेतृत्व हस्तान्तरण हुनु पर्छ, पुराना नेतालाई पद दिनु हुदैन भनेर वकालत गर्छौ । राजनीतिले देश कंगाल गरायो भन्दै  कुर्लन्छौ । तर चुनाब सुरु भएपछि त्यही सनातनी दलको पिछेलग्गु बनेर चुनावमा होमिन्छौ त्यसैको बलमा हामी सुधार गर्न सकेका छैनौ र त्यो स्विकार्न पनि सकिरहेका छैनौ ।

चुनावी मितीको घोषणासँगै नेपालका चर्चित र्यापर गायक बालेन शाहले काठमाण्डौ महानगरपालिकाको स्वतन्त्र उम्मेदवारी घोषणा गरे । उनले उम्मेदवारी दर्ता पनि गरि सकेका छन् । उनको चर्चाले देशका अन्य स्थानीय तहहरुमा पनि स्वतन्त्र उम्मेदवार दिने होडबाजी चलेको थियो । तर ती अन्य चर्चामा मात्रै सिमित रहे । बालेन शाह प्रसिद्ध गायक मात्र नभई पेशाले प्राविधिक (इञ्जिनियर) पनि हुन । उनी काठमाण्डौले खोजेको र युवा पिडीले रोजेको उम्मेदवार पक्कै हुन् । यसमा दुई मत छैन । उनको घोषणा पत्रमा पनि धेरै कुराहरु समेटिएका छन् । हुन त हरेक निर्वाचनमा घोषणा पत्रले लुटिनेहरुको लागि उनको घोषणा पत्र नयाँ त पक्कै पनि होईन तर पनि केही विश्वासनीयता पक्कै पनि छ जस्तो लागेको छ ।  उनले चुनाव जितेपछि स्वतन्त्र भन्ने पनि त्यस्तै रहेछ भन्ने गराउने र नगराउने उनको कामले बताउने छ ।

Advertisement

बालेन जस्ता केही स्वतन्त्र उम्मेदवारले जित्ने, घोषणा पत्र अनुसार विकास निर्माणलाई गर्ने, जनताको दु:खमा मल्हम लगाउने, भ्रष्टाचार, अनियमितता नगर्ने, सुशासन कायम गर्ने, प्रविधिको प्रयोग गर्ने, जनताको करको सदुपयोग गर्ने, सुविधा भोगी नबन्ने हो भने अर्को पटक हरेक राजनीतिक दल र नेतृत्व पक्कै पनि सुधारिने छन् । जनतालाई रैती नमानी जनता जनार्दन हुन भन्ने सोच्ने छन र हाम्रो अबस्था र व्यवस्था पक्कै पनि सुधारिने छ ।

राजनीति भन्दा माथि उठेर मात्रै विकास गर्न सकिन्छ भन्नेमा हामी सबै छौँ । तर शुरु गर्न सक्दैनौ यो हाम्रो कमजोरी हो । राजनीति आफ्नो अवस्था परिवर्तन गर्न मात्र हो व्यवस्था परिवर्तन गर्न होईन भन्ने प्रमाणित भै सकेको छ । स्थानीय तह भनेको जनतासँग प्रत्यक्ष सरोकार राख्ने र नजिकको सरकार हो । यसमा प्रतिपक्ष नहुने र सबैलाई सेवा पुर्याउने भएकोले राजनीति चुनाव जित्नसम्मलाई मात्र थाती राख्नु पर्नेमा जिते पछि विद्यमान रहन्छ । स्थानीय निकायका जनप्रतिनिधिहरु विकास प्रेमी र जनतालाई साथ र सहयोग गर्ने छानिनु पर्छ भन्ने मान्यता सर्वव्यापी छ । अन्यत्र जे सुकै भए पनि हाम्रो भने झुट्टा आश्वन दिएर चुनाब जित्ने र शक्ति र श्रोत कुम्लाउने मात्रै भएको छ । जिते पछि दलगत स्वार्थ भन्दा माथि उठन नसकेको प्रमाणित भएको छ ।

काठमाण्डौ महानगरपालिका देशकै बुझेका र शिक्षित मतदाताहरु भएको स्थानीय तहका साथै देशको राजधानी हो । शिक्षित, विकसित र नेता तथा नेतृत्वको बसाई भएको काठमाण्डौ संसारकै प्रदुषित शहर मध्येको एक पनि हो । देशकै राजधानी भएर त विकास हुन नसकेको स्थानमा एकजना स्वतन्त्र उम्मेदवारले विकास गर्छु, काठमाण्डौको सांस्कृतिक सम्पदालाई पुनर्जिवित गर्छु, सफा र सुन्दर बनाउछू भन्दा लालायित हुने जम्मै छन तर उनको समर्थन गर्ने भने कतिका रहेछन चुनावी परिणाम पछि थाहा हुने छ ।

यसरी स्थानीय तह र देशकै विकास नभएको राजनीतिक दल र तीनका नेतृत्वको कारण हो भन्न हामी कहिल्यै पछि परेका छैनौ । अर्को तिर हामी आफु समर्थक दल र नेताको भने सधै पक्षपोषण गरिरहेका हुन्छौ । हरेक निर्वाचनमा आफू समर्थक दलका जस्ता उम्मेदवार उठाए पनि जिताकै छौ भने अर्को दलबाट उठेका राम्रो मान्छेलाई पनि कहिल्यै समर्थन गर्न सकेका छैनौ । हाम्रो विकास र निकासको कारक यही नै हो । यसबाट हामी अवश्य उठनु पर्ने छ । ढिला चाडो पक्कै पनि यो अबस्था नआउला भन्न सकिन्न ।

बालेन शाह स्वतन्त्र उम्मेदवार बन्ने समचारले ठूलो चर्चा पायो । त्यसमा पूर्व उच्च ओहोदाका कर्मचारी, समाजसेवीहरु उनको समर्थनमा खुलेरै लागेका पनि छन भन्ने उहाँका अन्तर्वाताबाट थाहा हुन्छ । उहाँको चर्चासँगै देशमा अन्य सेलेब्रेटीहरुले पनि उम्मेदवार बन्ने चर्चा थियो तर मनोनयन गर्ने समयमा भने उहाँहरु मध्ये धेरै हराउनु भएको छ । यसैबाट पनि यो भन्न सकिन्छ कि हामी कहिल्यै पनि राजनीतिबाट माथि उठ्न सक्दैनौँ र सकेका छैनौ । हाम्रो देशमा विभिन्न अभियान संचालन गरेर चर्चा पाएकाहरु पनि दलमै समाहित भएर अहिले दलबाट उम्मेदवार भएका छन् । राजनीति समाज चलायमान बनाउन आवश्यक हो तर दलका नेतृत्वको दासी भएर राजनीति गर्नुबाट न समाजको विकास हुन्छ न देशकै ।  हुन्छ त गुलामी र शिर झुकाएर आफ्नो परिवारको गर्जो टार्ने मात्रै ।

अब कुरा बालेन शाहलाई चुनाव जितउँछन कि जिताउँदैनन भन्ने मुख्य विषय बनेको छ । हामी परिवर्तन हुन चाहन्नौ तर परिवर्तन भने हरदम चाहेकै हुन्छौ । हामीलाई राजनीति भन्दा माथि उठेर देश, समाज र गाँउको विकास गर्ने जनप्रतिनिधिको आवश्यकता छ । त्यो कहिलेसम्म पुरा हुने हो त्यो थाहा छैन । बालेन शाह जस्तै हरेक राजनीति भन्दा माथि केही गर्छु भन्नेहरुलाई परिवर्तन चाहने जनताहरुले सहयोग र समर्थन गर्ने हो भने हाम्रा राजनीतिक दल, नेता र नेतृत्व पक्कै पनि सुधारिने छन् । काठमाण्डौ महानगरपालिकाबाट अहिले अनुभवि र वरिष्ठ राजनीतिज्ञहरुको समेत उम्मेदवारी छ । उनीहरुसँग बालेन शाह भिड्न खोज्नु नै जित हो । त्यही जितमा त्यहाँका अधिकांश युवा र सचेत तथा राजनीति भन्दा माथि उठ्नु पर्छ भन्ने मतदाताहरुले मात्रै सोच्ने हो भने उनको जित हुनेमा कुनै शंका छैन । बालेन जस्ता केही स्वतन्त्र उम्मेदवारले जित्ने, घोषणा पत्र अनुसार विकास निर्माणलाई गर्ने, जनताको दुखमा मल्हम लगाउने, भ्रष्ट्रचार, अनियमितता नगर्ने, सुशासन कायम गर्ने, प्रविधिको प्रयोग गर्ने, जनताको करको सदुपयोग गर्ने, सुविधा भोगी नबन्ने हो भने अर्को पटक हरेक राजनीतिक दल र नेतृत्व पक्कै पनि सुधारिने छन् जनतालाई रैती नमानी जनता जनार्दन हुन भन्ने सोच्ने छन र हाम्रो अबस्था र व्यवस्था पक्कै पनि सुधारिने छ ।

यसरी हाम्रो संकुचित राजनीतिक संस्कार सुधारेर एक पटकलाई राम्रो उम्मेदवारलाई छान्ने मतदाताहरुमा हिम्मत हुने हो भने हामी विकसित हुन र देशको अबस्था सुधारिनेमा कुनै चिन्ता छैन । राजनीतिक कुसंस्कारमा जकडिएका मतदाताले त्यो हिम्मत गरेर बालेन शाह जस्ता स्वतन्त्र उम्मेदवारलाई चुनाब जिताउँलान त ? यो प्रश्न ३० गतेको निर्वाचनको परिणामले बताउने नै छ । धुर्कोट-२, गुल्मी

प्रतिक्रिया

सम्बन्धित सामाग्री