
जुम्लाको गुठिचौर गाउँपालिकाले जुस उद्योग स्थापना गर्ने भएको छ । जिल्लामा पाइने स्याउ, आरु नासपती लगायतका फलफूलबाट जुस उत्पादन गर्ने लक्ष्यका साथ गाउँपालिकाको– ३ स्थित निधार डाँडामा जुस उद्योग स्थापना हुने भएको छ । ग्रामीण क्षेत्रमा उत्पादन हुने फलफूलबाट उत्पादन हुने जुसको बजारीकरण गर्ने लक्ष्यका साथ गाउँमै जुस उद्योग निर्माण गर्न लागिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।
असार अन्तिम सातादेखि सञ्चालनमा आउने गरी उद्योगको निर्माण हुने र कोरोना कहरले रोजगारी गुमाएका स्थानीय युवाले निर्माण कार्यमा सहभागी भएर रोजीरोटी समेत जुटाउने अध्यक्ष भण्डारीले बताउनुभयो । करिब १५ लाखको लगानीमा निर्माण हुने उद्योगमा ३० प्रतिशत स्थानीय सहकारीको लगानी हुने छ भने बाँकी ७० प्रतिशत बजेट कृषि विकास कार्यालयले लगानी गर्ने गाउँपालिकाले जनाएको छ ।
उद्योगबाट उत्पादित सबै वस्तुको बजारीकरणमा स्थानीय तहबाट सहजीकरण हुने र गाउँमै सडक पुगिसकेको तथा नेपालका विभिन्न बजारमा माग अनुसार बिक्री गर्न आवश्यकता अनुसार पालिकाले समन्वय गर्ने भएको छ । कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले समूह सरकारी साझेदारी मोडेल अन्तर्गत जुस उद्योगको निर्माण भइरहेको बताउनुभयो ।
बाहिरी बजारमा जुम्ली अर्गानिक फलफूलको जुसको माग बढिरहेकोले उत्पादित बस्तुको बजारीकरणमा समस्या नहुने समेत कृषि विज्ञको भनाइ छ । कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास कार्यालय जुम्लाको चालु आर्थिक वर्षको स्वीकृत समूह सरकारी साझेदारी कार्यक्रम अन्तरगत १५ लाख लगानीमा गुठिचौरमा जुस उद्योग बन्न लागेको हो।
कर्णाली प्राविधिक शिक्षालयमा भर्चुअल कक्षा
जुम्ला सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयले कोरोना सङ्क्रमणका कारण भर्चुअल कक्षा सञ्चालन गर्ने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समिति जुम्लाको बैठकले जुम्लाका विद्यालय, कलेज, ट्युशन सेन्टर र शिक्षालय बन्द गर्ने निर्णय गरेपछि विकल्पका रुपमा भर्चुअल कक्षा सञ्चालन गर्न लागिएको हो ।
शिक्षा कार्यालयका प्रमुख टेकेन्द्र थापाले समितिको बैठकको निर्णय अनुसार विद्यार्थीलाई घर पठाइसकिएको तर घर गएपनि अधिकांश समय अध्ययनमा खर्च होस भनेनर भर्चुअल कक्षा सञ्चालन गर्न लागिएको हो भन्नुभयो । घरबिदामा गएका ४० प्रतिशत विद्यार्थी भएको ठाउँमा फोनको सुविधा नभएको तथा दश प्रतिशत विद्यार्थीसँग मोबाइल नै नभएको भन्दै थापाले जसरी भएपनि अनलाइन कक्षा चलाउनुपर्ने अवस्था आएको छ भन्नुभयो ।
कर्णालीका १० सहित देशका विभिन्न जिल्लाका करिब ७ सय ३५ विद्यार्थी कर्णाली प्राविधिक शिक्षालयमा अध्ययनरत छन् । कोरोना सङ्क्रमण नियन्त्रण नभए सम्मका लागि वैशाख १५ गतेदेखि सबै विद्यार्थीलाई घर पठाइएको शिक्षालयले जनाएको छ । शिक्षालयमा कृषि बाली विज्ञान, फार्मेसी, वन विज्ञान, सिभिल इञ्जिनियररिङ, प्रि डिप्लोमा तह कृषि जेटिए र सबै ओभरसियर कार्यक्रम सञ्चालित छ ।










प्रतिक्रिया