
युवा संघ नेपालका केन्द्रीय सचिव मोबिन आलमले जिल्ला प्रहरी कार्यालय बारा कलैयाभित्र प्रहरी जवानहरुमाथि बिहीबार दिउँसो हातपात गरेका छन्।
डियुटीमा रहेको प्रहरीहरुमाथि हातपात गरे पछि बारा प्रहरीले आलमलाई सात घण्टा नियन्त्रणमा लिएर छाडेको छ।
मोबिनको काकाका छोरा नातामा पर्ने परवेज आलमले श्रीमती नाजरा खातुनविरुद्ध र नाजरा खातुनले श्रीमान परवेज र ससुरा कुटपिट गरेको भनी जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा दुबै पक्षले उजुरी दिएको थियो।
भाई र भाउजु बीचको झगडा मिलाउनको लागि मोबिन आलमले युवा संघका केही स्थानीय नेताहरुलाई लिएर जिल्ला प्रहरी कार्यालय बारामा पुगेका थिए।
लिपनीका सयौ संख्यामा महिला स्थानीयहरुले श्रीमान परवेज आलम र श्रीमती नाजरा खातुनको जाहीरीको बारेमा थाहा पाउनको लागि जिल्ला प्रहरी कार्यालयको अगाडी धर्ना समेत दिएका थिए।
परिवारको सदस्यविरुद्धमा परेको जाहिरीको विषयमा छलफल गर्न जिल्ला प्रहरी कार्यालय कलैयामा आलम प्रवेश गर्न खोज्दा गेटमा रहेका प्रहरी जवानहरुले गेटको ढोका खोल्न ढिलाई गरेका थिए।
गेटको ढोका खोलिए पछि आलम र गेटमा डियुटी गरि रहेका प्रहरी जवानहरुसँग बिवाद शुरु भएको थियो। बिवाद बढदै गए पछि आलमले प्रहरीहरु माथि नै हातपात गर्न शुरु गरेका बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताएका छन्।
आलमले हातपात गरे पछि प्रहरीहरुले उनलाई नियन्त्रणमा लिएको र डियुटीमा खटेका प्रहरी जवानसँगको छलफल पछि आलमलाई छोडिएको गौतमले बताए। आजको नागरिक दैनिकमा उपेन्द्र यादवले यो समाचार लेखेका छन् ।










प्रतिक्रिया