बिहीबार, १३ वैशाख २०८१

भारत सरकारको आर्थिक सहयोगमा पाल्पामा तीन बिद्यालय पुर्ननिमार्ण

समयपोष्ट २०७८ वैशाख १० गते २०:२२

Advertisement

भारत सरकारको आर्थिक सहयोगमा पाल्पा जिल्लामा तीन बिद्यालयको पुर्ननिमार्ण सम्पन्न भएको छ ।

जिल्लाको रम्भा उच्च माध्यमिक विद्यालय, लक्ष्मी उच्च माध्यमिक विद्यालय र नव आदर्श बहुमुखी क्याम्पस भारत सरकारको ९ करोड ८३ लाख आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको हो ।

नवनिर्मित भवनहरुको २०७८ साल वैशाख ९ र १० गते भारतीय दूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रथम सचिव करुण वंशल, जिल्ला समन्वय समिति, पाल्पा, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिहरुले भर्चुअल माध्यमद्वारा उद्घाटन गरिएको छ ।

जिल्लाको ताहुँ गाउँ विकास समितिमा सन् १९५२ मा माध्यमिक विद्यालयको रुपमा स्थापना भएको रम्भादेवी उच्च माध्यमिक विद्यालय सन् २००२ मा उच्च माध्यमिक तहमा स्तरोन्नत भएको थियो । हाल विद्यालयमा ६७५ विद्यार्थीहरु अध्ययनरत छन् जसमा ५५ प्रतिशत छात्राहरु रहेका छन् । ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको नेरु. ३ करोड २१ लाख अनुदानमा निर्मित यस तीन तल्ले विद्यालय भवनमा १७ वटा कक्षाकोठा, गोष्ठि, कम्प्युटर, प्रधानाध्यापक, लेखा, कर्मचारी, प्रयोगशाला र अनुसन्धानका लागि एक–एकवटा कक्ष, कम्पाउन्ड वाल, फर्निचर तथा छात्र छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा रहनेछन् । जिल्ला समन्वय समिति, पाल्पाले विद्यालय भवनको निर्माण कार्यको अनुगमन गरेको थियो ।

तानसेन–५, बन्दीपोखरामा सन् १९६३ मा प्राथमिक विद्यालयको रुपमा स्थापना भएको लक्ष्मी उच्च माध्यमिक विद्यालय सन् २००८ मा उच्च माध्यमिक विद्यालयमा स्तरोन्नत भएको थियो । हाल यस विद्यालयमा ३५० विद्यार्थीहरु अध्ययनरत छन् जसमा ५५ प्रतिशत छात्राहरु रहेका छन् । ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको नेरु. ४ करोड १३ लाख अनुदानमा निर्मित यस दुईतल्ले विद्यालय भवनमा ८ वटा कक्षाकोठा, २ वटा कार्यालय कक्ष, २ वटा प्राध्यापक कक्ष, कमन रुम सहितको २२ शै्याको होस्टल भवन, चर्पी, पानी ट्याङ्की, फर्निचर तथा छात्र छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा रहनेछन् । जिल्ला समन्वय समिति, पाल्पाले विद्यालय भवनको निर्माण कार्यको अनुगमन गरेको थियो ।

त्रिभुवन विश्वविद्यालय, काठमाडौंबाट सम्बन्धन प्राप्त नव आर्दश बहुमुखी क्याम्पस पाल्पा जिल्लाको देउरालीमा सन् २००६ मा स्थापना भएको हो । क्याम्पसले कृषिको प्राविधिक कोर्ष र व्यवस्थापन तथा शिक्षा विषयमा डिप्लोमा तहका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । हाल क्याम्पसमा ३० विद्यार्थीहरु अध्ययनरत छन् जसमा ९० प्रतिशत छात्राहरु रहेका छन् । ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको नेरु. २ करोड ४८ लाख अनुदानमा निर्मित यस दुई तल्ले क्याम्पस भवनमा १३ वटा कक्षाकोठा, पुस्तकालय, प्रयोगशाला, कम्प्युटर, क्याम्पस प्रमुख, लेखा र प्राध्यापक, फर्निचर तथा कार्यालय उपकरण तथा छात्र छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा रहनेछन् । जिल्ला समन्वय समिति, पाल्पाले विद्यालय भवनको निर्माण कार्यको अनुगमन गरेको थियो ।

भारतले नेपालमा ४४८ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु सम्पन्न गरिसकेको छ जसमध्ये पाल्पा जिल्लाका ७ वटा सहित प्रदेश नं ५ मा ४१ वटा परियोजनाहरु रहेका छन् । पाल्पा जिल्लाको एउटा परियोजना सहित प्रदेश नं ५ मा भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित नौवटा परियोजनाहरु निर्माण र कार्यान्वयनका विभिन्न चरणहरुमा रहेका छन् । यी बाहेक पाल्पा जिल्लाका विभिन्न स्वास्थ्य चौकी, गैरसरकारी संस्था तथा शैक्षिक संस्थालाई भारतीय राजदूतावासले १२ वटा एम्बुलेन्स र २ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री