सोमबार, ७ जेठ २०८१

एकीकृत घुम्ती शिविर आयोजना हुने

समयपोष्ट २०७५ चैत १४ गते १३:५४


भक्तपुर चाँगुनारायण नगरपालिकाले एकै ठाउँबाट स्वास्थ्य उपचारदेखि सम्पूर्ण सरकारी सेवा उपलब्ध गराउने गरी बृहत् एकीकृत घुम्ती शिविर आयोजना गर्ने भएको छ ।

Advertisement

सरकारले घरदैलोमै सरकारी सेवा पुर्‍याउन शुरु गरेको अभियानअन्तर्गत यस नगरपालिकाले आगामी २० गते बुधबार जिल्लाका सम्पूर्ण सरकारी कार्यालयबाट जनतालाई दिने सेवा एकै पटक एउटै थलोबाट प्रवाह गरिने गरी शिविर सञ्चालन गर्ने भएको हो ।

चाँगुनारायण नगरपालिका–१ परोपकार केन्द्रसँगै निर्माणाधीन वीरअस्पताल परिसरमा आयोजना गर्ने उक्त शिविरमा जिल्लाका सेवाप्रदायक सरकारी निकायले प्रवाह गर्ने सबै सेवा शिविरमै एकै पटक प्रदान गरिने नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जीवी तिमिल्सेनाले जानकारी दिए ।

शिविरमा वीरअस्पताल, काठमाडौँ मेडिकल कलेज, नेपाल मेडिकल कलेज, शहीद धर्मभक्त अङ्ग प्रत्यारोपक केन्द्र, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, नेपाली सेनाका विशेषज्ञ सेवासहितको बृहत् निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्यका सम्पूर्ण विशेषज्ञ सेवा प्रदान गरी निःशुल्क औषधि वितरणसमेत गरिने भएको छ ।

शिविरमा स्त्रीरोग, बालरोग, हाडजोर्नी, नाक, कान, घाँटी रोग, दन्तरोग, आँखारोग, जनरल मेडिसन, छात्तीरोग, छालारोग, ग्यास्ट्रोलोजी रोग, सर्जिकल सेवा, प्राथमिक उपचारलगायत विशेषज्ञ सेवासहित रक्तदान कार्यक्रम गरिने भएको छ ।

Advertisement

त्यसैगरी जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने नागरिकता, राहदानी, नाबालक परिचयपत्र, आदिवासी जनजाति प्रमाणपत्र, अपाङ्गता परिचयपत्र, ज्येष्ठ नागरिक परिचयपत्रलगायतका सेवा प्रवाह गरिने तिमिल्सेनाले जानकारी दिए‍ ।
शिविरमा डिभिजन वन कार्यालय भक्तपुरबाट बिरुवा वितरण, जनचेतनामूलक कार्यक्रम, डिभिजन खानेपानी कार्यालयबाट खानेपानीको शुद्धता परीक्षण, जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावली सङ्कलन, घरेलु तथा साना उद्योग कार्यालयबाट उद्योग दर्ता, नेपाल टेलिकमद्वारा अपाङ्ग, एकल महिला, विद्यार्थी, भूकम्पपीडितलाई निःशुल्क सिमकार्ड वितरण, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट भूकम्पपीडितको गुनासो व्यवस्थापनलगायतका सेवा प्रदान गरिने भएको छ ।

सूर्यविनायक नगरपालिकाबाट सामाजिक सुरक्षाभत्ता वितरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्ग परिचयपत्र, घर तथा भवनको नक्सापास, भवन निर्माण सम्पन्न प्रमाणपत्र, अभिलेखीकरण, पशुको गोबर परीक्षण, नाम्लेको औषधि वितरण व्यवसाय दर्ता, कृषि बीउविजन वितरण, माटो परीक्षण, बाली उपचार, पशुको नाम्ले जुका औषधि वितरण, गोबर जाँच, पशु स्वास्थ्य शिविर एवं परामर्श सेवा प्राविधिक सल्लाहलगायतका सेवा प्रदान गरिने भएको छ ।

शिविरमा नगरपालिकाभित्रका नौवटै वडाका बासिन्दालाई एकै पटक एकै थलोबाट सेवा प्रवाह गरिने भएको छ । शिविरमा नेपाली सेनाको वीर दल गण सूर्यविनायकले बृहत् सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

शिविरमा सबै कार्यालयको सार्वजनिक सुनुवाइ कार्यक्रम, विभिन्न सहकारी एवं स्थानीय उत्पादन सामग्रीको प्रदर्शनी, बृहत् सिकाइ शिविरलगायतको सेवा प्रदान गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री