आइतबार, ६ जेठ २०८१

गोरु गाडामा बिरामी बोक्नुपर्ने बाध्यता अन्त्य

समयपोष्ट २०७५ चैत १२ गते १३:२६


राजेन्द्रप्रसाद पनेरु
कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेको शङ्करपुर स्वास्थ्य चौकीले एम्बुलेन्स सेवा सञ्चालन गरेपछि गोरु गाडामा बिरामी बोक्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

Advertisement

सडकको बिग्रँदो अवस्थाका कारण यातायातका साधन सञ्चालन नहुँदा बिरामी र गर्भवती महिलालाई गोरु गाडामा राखेर शङ्करपुरका बासिन्दाले स्वास्थ्य चौकी पुर्‍याउने कार्य गर्दै आएका थिए ।

सडकको स्तरोन्नतिसँगै एम्बुलेन्स सेवा सञ्चालन भएपछि बिरामीलाई स्वास्थ्यचौकी पु¥याउन र अवस्था गम्भीर भएका बिरामीलाई सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि पठाउन निकै सहज भएको स्वास्थ्य चौकीका प्रमुख श्यामनारायण गुप्ताले बताए ।

एम्बुलेन्स सेवा सञ्चालन भएको पाँच महीनाको अवधिमा ६० बढीले एम्बुलेन्सको सेवा लिएको स्वास्थ्य चौकीका प्रमुख गुप्ताको भनाइ छ । “विगतमा एम्बुलेन्स नहुँदा बाध्यतावश गोरु गाडामा बिरामी र सुत्केरी हुने महिलालाई स्वास्थ्यचौकी पुर्‍याउनुपर्ने बाध्यता थियो”, गाउँपालिका–३ का वडाध्यक्ष शिवनारायण चौधरीले भने, “सडकनै भरपर्दो नभएपछि यातायातका साधन सञ्चालन हुँदैनथे । सडकको स्तरोन्नति हुन थालेपछि एम्बुलेन्स सेवा सञ्चालन गर्न सहज भएको छ ।”

गाउँपालिका नजिकका बासिन्दाले अझै बिरामी बोक्न गोरु गाडा प्रयोग गरेका भए पनि टाढाका बासिन्दाले एम्बुलेन्सको प्रयोग गर्न थालेका छन् । गाउँपालिकासम्म पुग्ने सडकको स्तरोन्नतिको कार्यलाई द्रुतगतिमा अगाडि बढाइएको गाउँपालिका अध्यक्ष मदनसेन वडायकले बताए ।

Advertisement

“कर्जा काढेरै भए पनि यसवर्ष सडक स्तरोन्नतिको कार्य गरेर छाडने योजना छ”, उनले भने, “स्थानीय बासिन्दालाई सहजरूपमा स्वास्थ्यसेवा प्रदान गर्न आतुर छौँ, सडककै कारण बिरामी परेका बासिन्दाको ज्यान नजाओस् भन्ने हो । त्यसै कुरालाई मध्यजनर गरी एम्बुलेस ल्याएका हौंँ । सडकको अवस्थामा पनि सुधार हुन्छ ।”

नदीमा पुल नहुँदाको सास्ती

दोदा नदीमा पक्की पुल नहुँदा बिरामीलाई उपचारका लागि स्वास्थ्यचौकी पुग्न निकै अप्ठेरो भएको छ । तीन वटा पक्की पुल निर्माण कार्य थालिए पनि ठेकेदारले ढिलासुस्ती गर्दा निर्माण कार्य अन्योलमा परेको छ ।

अस्थायी काठे पुलमा शुल्क तिरेर स्थानीय बासिन्दाले स्वास्थ्यचौकी पुग्नुपर्ने बाध्यता छ । काठेपुलमा पैदलयात्रु, साइकल र मोटरसाइकल मात्रै गुड्न सक्दछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री